धमाधम स्तरीय सडक

कान्तिपुर संवाददाता

कञ्चनपुर — दुई लेनका फराकिला सडक । दुवैतर्फ फुटपाथ र नाली पनि । दुवैतर्फ सडक बत्ती र वृक्षरोपणले झनै आकर्षक । अबको दुई वर्षभित्र महेन्द्रनगरको मुख्य बजार क्षेत्रका सडकहरू यस्तै हुनेछन् । जसले बजारको स्वरुप नै फेरिने छ । 

ZenTravel

एसियाली विकास बैंकको एकिकृत क्षेत्रिय सहरी विकास आयोजना अन्तर्गत भीमदत्त नगरपालिकामा अबको २ वर्षमा साढे ३६ किमि कालोपत्रे सडक निर्माण हुनेछ । जुन माथि उल्लेख गरिएकै मापदण्डको हुनेछ । पहिलो चरणमा अहिले झन्डै १४ किमि सडक निर्माणका लागि ठेक्का भइसकेको छ । जुन महेन्द्रनगरको मुख्य बजार क्षेत्रमा हुनेछ । बांँकी २२ किमि सडकका योजना छनोटको काम पनि अन्तिम चरणमा रहेको भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय ऐरले बताए ।

Meroghar


‘सडकसँगै एकिकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि पनि स्थान छनौटको काम अन्तिम चरणमा पुगेको छ,’ इन्जिनियर ऐरले भने, ‘उक्त योजना पनि २ वर्षभित्रै सम्पन्न हुनेछ ।’ उनका अनुसार सडक पूर्वाधारमा १ अर्ब ७६ करोड, एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्रमा ५८ करोड र अन्य रकम सवारी साधन खरिद, कर्मचारी परिचालन र विभिन्न प्राविधिक क्षेत्रमा खर्च गरिनेछ । २०१७ देखि सुरु भएको उक्त आयोजनाको समयावधि ५ वर्ष हो ।

महेन्द्रनगरमा ३ वर्षदेखि सहरी विकास तथा भवन निर्माण विभाग संघीय योजना कार्यान्वयन एकाइ धनगढीको सघन सहरी विकास कार्यक्रमअन्तर्गत धमाधम सडक पूर्वाधार निर्माण भइरहेको छ । उक्त सडक पनि दुवैतर्फ ड्रेनसहितको छ । उक्त कार्यक्रमअन्तर्गत महेन्द्रनगर बजार तथा आसपासका क्षेत्रमा करिब ५५ किमि कालोपत्रे सडक निर्माण भइरहेको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत ३ प्याकेजमा काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गतको ४६ किमि सडक कालोपत्रेको काम अन्तिम चरणमा छ । दोस्रो प्याकेजअन्तर्गत पनि ८ किमि सडक कालोपत्रेको काम चलिरहेको छ । यसैगरि तेस्रो प्याकेजअन्तर्गत १ किमि सडक कालोपत्रे भइरहेको छ । तीन वटै योजनाका लागि ५७ करोडमा ठेक्का भएको हो । ‘यो आवभित्रै सबै काम सकिनेछ,’ एकाइका इन्जिनियर मोहनराज अवस्थीले भने ।

‘सडक निर्माणमा त धमाधम काम भइरहेको छ, अहिले चालु योजना सकिएपछि सडक पूर्वाधारमा भीमदत्त अब्बल ठहरिनेछ’ इन्जिनियर ऐरले भने, ‘सडक निर्माणले मात्रै हुँदैन त्यसपछि मर्मतमा विशेष जोड दिनुपर्नेछ, त्यसका लागि पनि ठूलो स्रोत अवश्यक पर्छ ।’ उसो त भीमदत्त नगरपालिकाले पनि आफ्नै साधन स्रोतमा धेरै सडकहरू निर्माण गरिसकेको छ । नगरपालिकाले आफ्नै लगानीमा हालसम्म १ सय ६० किमि सडक कालोपत्रे गरिसकेको छ ।

प्रकाशित : मंसिर २७, २०७६ १०:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

उपचार पाउँदैनन् दुर्गमका महिला

‘रोग लाग्नेबित्तिकै उपचार गराए ठीक हुने भए पनि अन्तिम अवस्थामा आउने भएकाले ठूलै शल्यक्रिया गर्नुपर्ने अवस्था छ’
कान्तिपुर संवाददाता

(बैतडी) — पाटन नगरपालिका ९ की कलावती महराको तल्लो पेट दुख्न थालेको झन्डै ५ वर्ष नाघ्न थाल्यो । रोगले च्याप्दै गए पनि उपचार गराउन कतै गइनन् । पेट दुखेको ठीक भइहाल्छ भनेर घरेलु उपचार गर्नबाहेक उनले अरू उपचार गराइनन् । पेट दुख्ने क्रम बढ्दै गए पनि उनले कसैलाई सुनाइनन् ।

तल्लो पेट दुख्ने रोगको उपचार गर्न लाज मानेकै कारण उनले कसैलाई नभनेको बताइन् । चेकजाँच गराउन स्वास्थ्यचौकी जान पनि उनलाई अफ्ठ्यारो लागेको उनले बताइन् । उनले भनिन्, ‘नजिकै स्वास्थ्य संस्था पनि छैनन् । जान पनि अफ्ठ्यारो लाग्यो । कसरी भन्ने हो भनेर कहीं नगएको ।’ आफुहरू घरभन्दा बाहिर खासै नजाने भएकोले पनि उपचार गराउन नपाएको उनको भनाइ थियो । गाउँमा केहि समयअघि स्वास्थ्य शिविर पुगेपछि पहिलोपटक गाउँमा छिमेकी महिलाहरूसँग उपचारका लागि पाटनको सिद्धेश्वर स्वास्थ्यचौकीमा पुगेको उनले सुनाइन् ।

यस्तै पाटन नगरपालिका ९, कलावतीकै गाउँकी सीता भाटलाई पनि उनका जस्तै समस्या थियो । उनले पनि यस्तो पीडा झेल्दै आएको ६ वर्ष नाघिसक्यो । तल्लो पेट दुख्यो भन्दा नराम्रो ठान्ने हुन् कि भनेर कसैलाई नभनेर बसेको उनले सुनाइन् । घरपरिवारका कसैलाई पनि उनले आफ्नो दु:खाइबारे भनिनन् । बरु पीडा सहेरै बसिन् । लाज लाग्ने भएकाले कसैसँग तल्लोपेट दु:खेको कुरा नसुनाएको उनले बताइन् । उनले भनिन्, ‘मलाइ त लाज लायो घरमा भन्न पनि अनि उपचार गराउन मन लागेन । नजीकैको स्वास्थ्यसँस्थामा शिविर बस्दा सबैले जाऊ भनेकाले मात्र पहिलोपटक जचाउन आएकी हुँ ।’

कलावती र सीता जस्तै यहाँका महिला वर्षौंबाट रोग पालेर बसिरहेका छन् । उनीहरूले पाल्ने रोगमा तल्लो पेट दुख्ने, सेतापानी बग्ने, महिनावारीमा गडबडी, पाठेघरसम्बन्धी समस्या छन् । गाउँमा यस्ता रोग लागे लाज मानेर आफ्नै पतिसँग पनि भन्न सक्दैनन् ।

श्रीमान् र परिवारका सदस्यहरूले नराम्रो नजरले हेर्ने हुन् कि भनेर महिलाहरू भन्न नसक्ने भएको शिवनाथ गाउँपालिका ४, चौपाताकी महिला सञ्जाल अध्यक्ष राजु साउँदले बताइन् । दुर्गमका कतिपयलाई यस्ता रोगको पनि उपचार हुन्छ भन्ने थाहासमेत नभएको उनको भनाइ छ । ‘नजिकै उपचार सेवा नपाउने भएकाले पनि उनीहरूलाई गाह्रो हुने गरेको छ । आर्थिक अवस्थाले नधान्ने भएकाले उपचार गराउनुको साटो रोग पालेरै दिनहरू काट्ने गर्छन्,’ उनले भनिन्, ‘अर्को कुरा लाज मान्छन् । श्रीमान्हरू पनि वास्तै गर्दैनन् ।’ पुरुषलाई केही समस्या देखिँदा तुरुन्त उपचारका लागि जाने भए पनि महिलाहरू कामको चापले आजभोलि भन्दाभन्दै वर्षौं बित्ने गरेको उनले बताइन् । १० स्थानीय तह रहेको बैतडीमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली गरी ३ ठाउँमा मात्र डाक्टरको दरबन्दी छ ।

केशरपुरमा डाक्टर नभएको १ वर्ष पुग्न लागेको छ । स्थापना भएको १६ वर्षपछि पहिलोपटक डाक्टर आएकामा उनी पनि गत फागुनमा सरुवा भएपछि अहिले त्यहाँ डाक्टरविहीन छ । तल्लोस्वराड क्षेत्रको रेफरल सेन्टरका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा उपचारका लागि कि पाटन प्राथमिक स्वास्थ्य केन्द्र वा जिल्ला पुग्नुपर्ने अवस्था छ । धेरै टाढा जान आर्थिक स्थिति कमजोर भएकाहरू नसक्ने हुदा रोग पालेरै बस्न बाध्य छन् ।

गाउँमा विशेषज्ञ सेवासहितको नि:शुल्क शिविर बस्दा भने महिलाहरू चेकजाँचका लागि पुग्ने गर्छन् । वर्षौंबाट पालेका रोगहरू ल्याएर उनीहरू दुर्गममा सञ्चालन हुने शिविरमा आउने गरेको जिल्ला अस्पतालका डा. वसन्तराज जोशीले बताए । उनका अनुसार अधिकांश महिला प्रजनन् समस्या लिएर शिविरमा पुग्ने गरेका छन् । पाठेघर खसेका, यौन रोगको संक्रमण भएका र असुरक्षित गर्भपतनको असर खेपिरहेका महिला ग्रामीण क्षेत्रमा आयोजना हुने शिविरमा उपचारका क्रममा भेटिने गरेका डा. जोशीले बताए । । धेरैजसो शिविरमा उपचारका लागि आउने महिलाहरूको समस्या यस्तै हुने गरेको उनले सुनाए । जिल्ला अस्पतालमा पनि यस्ता प्रकारका शारिरिक समस्या भएका महिलाहरू आइरहने गरेका उनको भनाइ थियो ।

यी रोगहरूको सुरुमै उपचार खोज्ने प्रवृत्ति नभएको बताउँदै उनले भने, ‘जटिल अवस्थामा मात्र उपचारका लागि आउँछन् । पतिले पनि महिलाहरूको उपचारमा चासो दिएको देखिँदैन । आफैं पनि उनीहरू खुल्न लाज मान्नुले झन गाह्रो छ ।’ रोगले संक्रमण गरेको बेला सुरुमै उपचार गराए ठीक हुने भए पनि अन्तिम अवस्थामा उपचारका लागि आउने भएकाले ठूलै अप्रेसन गर्नुपर्ने अवस्थासम्म पुगेका बिरामी देख्दै आएको उनले सुनाए ।

प्रकाशित : मंसिर २७, २०७६ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×