उपचार पाउँदैनन् दुर्गमका महिला

‘रोग लाग्नेबित्तिकै उपचार गराए ठीक हुने भए पनि अन्तिम अवस्थामा आउने भएकाले ठूलै शल्यक्रिया गर्नुपर्ने अवस्था छ’

(बैतडी) — पाटन नगरपालिका ९ की कलावती महराको तल्लो पेट दुख्न थालेको झन्डै ५ वर्ष नाघ्न थाल्यो । रोगले च्याप्दै गए पनि उपचार गराउन कतै गइनन् । पेट दुखेको ठीक भइहाल्छ भनेर घरेलु उपचार गर्नबाहेक उनले अरू उपचार गराइनन् । पेट दुख्ने क्रम बढ्दै गए पनि उनले कसैलाई सुनाइनन् ।

उपचार पाउँदैनन् दुर्गमका महिला

तल्लो पेट दुख्ने रोगको उपचार गर्न लाज मानेकै कारण उनले कसैलाई नभनेको बताइन् । चेकजाँच गराउन स्वास्थ्यचौकी जान पनि उनलाई अफ्ठ्यारो लागेको उनले बताइन् । उनले भनिन्, ‘नजिकै स्वास्थ्य संस्था पनि छैनन् । जान पनि अफ्ठ्यारो लाग्यो । कसरी भन्ने हो भनेर कहीं नगएको ।’ आफुहरू घरभन्दा बाहिर खासै नजाने भएकोले पनि उपचार गराउन नपाएको उनको भनाइ थियो । गाउँमा केहि समयअघि स्वास्थ्य शिविर पुगेपछि पहिलोपटक गाउँमा छिमेकी महिलाहरूसँग उपचारका लागि पाटनको सिद्धेश्वर स्वास्थ्यचौकीमा पुगेको उनले सुनाइन् ।


यस्तै पाटन नगरपालिका ९, कलावतीकै गाउँकी सीता भाटलाई पनि उनका जस्तै समस्या थियो । उनले पनि यस्तो पीडा झेल्दै आएको ६ वर्ष नाघिसक्यो । तल्लो पेट दुख्यो भन्दा नराम्रो ठान्ने हुन् कि भनेर कसैलाई नभनेर बसेको उनले सुनाइन् । घरपरिवारका कसैलाई पनि उनले आफ्नो दु:खाइबारे भनिनन् । बरु पीडा सहेरै बसिन् । लाज लाग्ने भएकाले कसैसँग तल्लोपेट दु:खेको कुरा नसुनाएको उनले बताइन् । उनले भनिन्, ‘मलाइ त लाज लायो घरमा भन्न पनि अनि उपचार गराउन मन लागेन । नजीकैको स्वास्थ्यसँस्थामा शिविर बस्दा सबैले जाऊ भनेकाले मात्र पहिलोपटक जचाउन आएकी हुँ ।’


कलावती र सीता जस्तै यहाँका महिला वर्षौंबाट रोग पालेर बसिरहेका छन् । उनीहरूले पाल्ने रोगमा तल्लो पेट दुख्ने, सेतापानी बग्ने, महिनावारीमा गडबडी, पाठेघरसम्बन्धी समस्या छन् । गाउँमा यस्ता रोग लागे लाज मानेर आफ्नै पतिसँग पनि भन्न सक्दैनन् ।


श्रीमान् र परिवारका सदस्यहरूले नराम्रो नजरले हेर्ने हुन् कि भनेर महिलाहरू भन्न नसक्ने भएको शिवनाथ गाउँपालिका ४, चौपाताकी महिला सञ्जाल अध्यक्ष राजु साउँदले बताइन् । दुर्गमका कतिपयलाई यस्ता रोगको पनि उपचार हुन्छ भन्ने थाहासमेत नभएको उनको भनाइ छ । ‘नजिकै उपचार सेवा नपाउने भएकाले पनि उनीहरूलाई गाह्रो हुने गरेको छ । आर्थिक अवस्थाले नधान्ने भएकाले उपचार गराउनुको साटो रोग पालेरै दिनहरू काट्ने गर्छन्,’ उनले भनिन्, ‘अर्को कुरा लाज मान्छन् । श्रीमान्हरू पनि वास्तै गर्दैनन् ।’ पुरुषलाई केही समस्या देखिँदा तुरुन्त उपचारका लागि जाने भए पनि महिलाहरू कामको चापले आजभोलि भन्दाभन्दै वर्षौं बित्ने गरेको उनले बताइन् । १० स्थानीय तह रहेको बैतडीमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली गरी ३ ठाउँमा मात्र डाक्टरको दरबन्दी छ ।


केशरपुरमा डाक्टर नभएको १ वर्ष पुग्न लागेको छ । स्थापना भएको १६ वर्षपछि पहिलोपटक डाक्टर आएकामा उनी पनि गत फागुनमा सरुवा भएपछि अहिले त्यहाँ डाक्टरविहीन छ । तल्लोस्वराड क्षेत्रको रेफरल सेन्टरका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा उपचारका लागि कि पाटन प्राथमिक स्वास्थ्य केन्द्र वा जिल्ला पुग्नुपर्ने अवस्था छ । धेरै टाढा जान आर्थिक स्थिति कमजोर भएकाहरू नसक्ने हुदा रोग पालेरै बस्न बाध्य छन् ।


गाउँमा विशेषज्ञ सेवासहितको नि:शुल्क शिविर बस्दा भने महिलाहरू चेकजाँचका लागि पुग्ने गर्छन् । वर्षौंबाट पालेका रोगहरू ल्याएर उनीहरू दुर्गममा सञ्चालन हुने शिविरमा आउने गरेको जिल्ला अस्पतालका डा. वसन्तराज जोशीले बताए । उनका अनुसार अधिकांश महिला प्रजनन् समस्या लिएर शिविरमा पुग्ने गरेका छन् । पाठेघर खसेका, यौन रोगको संक्रमण भएका र असुरक्षित गर्भपतनको असर खेपिरहेका महिला ग्रामीण क्षेत्रमा आयोजना हुने शिविरमा उपचारका क्रममा भेटिने गरेका डा. जोशीले बताए । । धेरैजसो शिविरमा उपचारका लागि आउने महिलाहरूको समस्या यस्तै हुने गरेको उनले सुनाए । जिल्ला अस्पतालमा पनि यस्ता प्रकारका शारिरिक समस्या भएका महिलाहरू आइरहने गरेका उनको भनाइ थियो ।


यी रोगहरूको सुरुमै उपचार खोज्ने प्रवृत्ति नभएको बताउँदै उनले भने, ‘जटिल अवस्थामा मात्र उपचारका लागि आउँछन् । पतिले पनि महिलाहरूको उपचारमा चासो दिएको देखिँदैन । आफैं पनि उनीहरू खुल्न लाज मान्नुले झन गाह्रो छ ।’ रोगले संक्रमण गरेको बेला सुरुमै उपचार गराए ठीक हुने भए पनि अन्तिम अवस्थामा उपचारका लागि आउने भएकाले ठूलै अप्रेसन गर्नुपर्ने अवस्थासम्म पुगेका बिरामी देख्दै आएको उनले सुनाए ।

प्रकाशित : मंसिर २७, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?