विद्यालयमा  छैन सुविधा

टीकापुर — भजनी नगरपालिका ९ भुरुवाको राजी बस्ती । सोनपाल प्राथमिक विद्यालय यही बस्तीमा छ । उक्त विद्यालयमा लोपोन्मुख राजी समुदायका बालबालिका मात्र अध्यनरत छन् । लोपोन्मुख समुदायको विद्यालय पनि लोपोन्मुख जस्तै छ ।

‘विद्यालयको न भौतिक संरचना राम्रो छ । न खानेपानी सुविधा छ । अहिलेको समयमा नभई नहुने कम्प्युटर पनि छैन,’ प्रधानाध्यापक धनीराम राजीले भने, ‘कम्प्युटर नहुँदा विद्यालयको सामाजिक परीक्षण, एसआइपी, एमआइएसलगायतका कागजपत्र तयार पार्न पनि कठिन हुने गरेको छ ।’ गत वर्ष नगरपालिकाले १ लाख २० हजार निजी शिक्षकलाई तलबका लागि अनुदान दिएको थियो । त्यही रकमबाट बाँडीचुँडी पारिश्रमिक लिएको उनले सुनाए । उनले भने, ‘यसपाली दिने हो कि होइन थाहा छैन ।’


‘आफ्ना समुदायका बालबालिकाले शिक्षा पाउन् भनेर आधा पेटै खाएर पनि सेवा गरिरहेका छौं,’ राजीले भने, ‘विद्यालयको छाना पनि हावाहुरीले उडाइरहन्छ ।’ शिक्षाबिना समुदायअघि बढन नसक्ने भएकाले ०६४ सालमा राजीहरू आफैले यो विद्यालय खोलेका हुन् । देउताका नाममा विद्यालयको नाम राखिएको राजीले बताए ।


यो विद्यालयमा गरिबीका कारण सबै राजी समुदायका विद्यार्थी पढने र उनीहरू निजी विद्यालयमा जानसक्ने अवस्था नरहेको धनीरामले बताए । उनले भने, ‘अहिलेसम्म समुदायकै बलबुतामा चलिरहेको छ । कतिसम्म चलाउन सकिने हो थाहा छैन,’ प्रअ राजीले भने, ‘हामी राजी पनि लोपोन्मुख, विद्यालय पनि लोपोन्मुख अवस्थामै पुग्यो ।’


विद्यालयमा एक सय ५१ विद्यार्थी अध्ययनरत छन् । ती मध्ये २ दलित र ३ जना थारू समुदायको रहेको विद्यालयले जनाएको छ । विद्यालयमा एक राहत, एक बालविकास र ३ निजी शिक्षक छन् । उनका अनुसार राहत र वालविकास कोटाका शिक्षक गैरराजी समुदायका छन् । सबै विद्यार्थी राजी भए पनि पढाइ भने नेपाली भाषामा हुने गरेको छ । प्रअ राजीले भने, ‘राजी बालबालिका भएकाले उनीहरूलाई बुझाउन कुनै कुनै बेला राजी भाषामै सिकाउने गरेका छौं ।’ राजी भाषाको कुनै लिखित किताब अहिलेसम्म आफुले नदेखेको उनले बताए ।


प्रकाशित : मंसिर २७, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?