उच्च लेकाली क्षेत्रमा हिमपात- सुदूरपश्चिम - कान्तिपुर समाचार

उच्च लेकाली क्षेत्रमा हिमपात

रासस

डोटी — बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।

हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । डोटीको खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासी जोगीसिंह विष्टले बताए । उनले भने, 'गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाले वस्तुभाउ गोठबाहिर निकाल्नसमेत समस्या भएको छ ।'


हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले हिउँ परेका कारण स्थानीय किसान भने हिउँ पर्दा हिउँदेबाली सप्रिने आशमा खुशी भएका छन् ।


यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको अर्का स्थानीयवासी ध्वजबहादुर विष्टले जानकारी दिए । हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् ।


यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका ठाउँहरुमा सिमसिम पानी परिरहेको छ । पानी र हिमपातका कारण यहाँको तापक्रम घटेको छ । चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न उच्च सर्तकता अपनाउनुपर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले सुझाएका छन् ।

प्रकाशित : मंसिर २७, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्

उपचार पर्खिंदै मलद्वार नभएका बालक

कान्तिपुर संवाददाता

पर्सा — आर्थिक अभावका कारण अभिभावकले उपचार गराउन नसक्दा यहाँको जन्मजात मलद्वार नभएको ८ महिने बालकले कष्टकर जीवन विताउनु परेको छ । प्रसौनी गाउँपालिका १ का ओजिर अंसारीका छोरा साहेव अन्सारीले पीडा भोगिरहेका हुन् । बालकको पेटको देब्रे भागमा चिकित्सकले शल्यक्रिया गरी ठूलो आन्द्रा निकालेका छन् । उनले त्यही ठूलो आन्द्राबाट मलत्याग गर्ने गरेका छन् । 

खुल्ला रहेको आन्द्राको मुखका कारण बालकलाई पीडा हुने र उनी रोइरहने गरेको आमा जैनव खातुन बताउँछिन् । जैनवका ४ सन्तानमध्ये साहेव कान्छा हुन् । वीरगन्जको नारायणी अस्पतालमा जन्मिएका साहेवको जन्मदै मलद्वार नभएको यकिन भए लगत्तै अस्पतालका चिकित्सकले तत्कालै शल्यक्रियाबाट उनको पेटको देब्रे भागमा ठूलो आन्द्राको मुख काटेर पेट बाहिर निकालेका हुन् । अब मलद्वारको शल्यक्रिया गरी सामान्य बनाउन कोलोस्टोमी शल्यक्रिया आवश्यक हुन्छ ।

वीरगन्जकै नेशनल मेडिकल कलेजमा यो शल्यक्रिया गर्न ३ लाख रुपैयाँ माग गरिएको र त्यति रकम आफूहरूँंग नरहेकाले छोराको उपचार गर्न असमर्थ रहेको जैनव बताउछिन् । ‘पति घर बनाउने मजदुरको काम गर्नु हुन्छ, म चार वटा ससाना नानी स्याहारेर बसेकी छु,’ उनले भनिन्, ‘यति ठूलो रकम हामीले कहाँबाट ल्याउने ?’

साहेव जन्मिदा पनि उनको शल्यक्रियामा त्यतिबेला खर्च भएको करीब ४० हजार रुपैयाँ चन्दाबाट संकलन गरी अस्पतालमा बुझाएको जैनवले बताइन् । आफ्नो घरसमेत नभएको यो परिवार छिमेकीले दिएको आश्रयस्थलमा कष्टकर रुपमा बस्दै आएकाछन् । शारीरिक पीडाको कारण बालकले राम्रोसँग खानासमेत नखाने भएकाले उनी कुपोषित जस्ता देखिन्छन् । टाउको ठूलो र शरीर पातलो रहेको बालकलाई हाल अभिभावकले न्यानो कपडासमेत लगाई दिन सकेका छैनन् ।

सामाजिक अभियन्ता प्रकाश थारु गरिबीको कारण पिडामा रहेका अभिभावकले बालकको उपचार गराउन सक्ने अवस्था नरहेको बताए । ‘बालकको अवस्था नाजुक छ,’ उनले भने, ‘बालबालिकाको हकहितको क्षेत्रमा कार्यरत संघसंस्थाले सहयोगी हात अघि बढाउन जरुरी छ ।’

प्रकाशित : मंसिर २७, २०७६ १०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×