१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

धानको भाउ बढ्दा किसान खुसी

भवानी भट्ट

(कञ्चनपुर) — भीमदत्त नगरपालिका २, उल्टाखाममा विश्वेश्वरप्रसाद भट्टले झन्डै दशकपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साबिकको खाद्य संस्थान) मा धान बिक्री गरे । यसअघि ढिलो गरि काँटा लाग्ने र बजारको भन्दा कम मूल्य पाइने गर्दा उनले बजारमै बिक्री गर्दै आएका थिए । यसपटक बजारको भन्दा राम्रो मूल्य पाएपछि उनले लिमिटेडमै धान बिक्री गरेका हुन् ।

धानको भाउ बढ्दा किसान खुसी

‘यसपालि धानको भाउ राम्रो तोकिएको छ, विगतको भन्दा चांडो काँटा लागेको थियो,’ धान बिक्रीका लागि आएका भट्टले भने, ‘तर धेरै कृषकले भने सस्तोमै व्यापारीलाई नै धान बेचे ।’ उनले १२ क्विन्टल धान बिक्री गरेका हुन् । उनका अनुसार गत वर्ष मंसिर मध्यतिर मात्रै धान खरिद सुरु भएको थियो ।


भीमदत्त नगरपालिका १९, बाग्फाँटाका वीरबहादुर पालले पनि ७/८ वर्षपछि व्यापारीलाई बेच्दै आएको धान यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा बिक्री गरे । व्यापारीको भन्दा प्रतिक्विन्टल २/३ सय बढी पाएपछि उनले यहांँ बिक्री गरेका हुन् । ‘सुरुमै बेच्नेले क्विन्टलको १८ सय २ हजार मात्रै पाए,’ पालले भने, ‘यहाँ (लिमिटेडमा) काँटा लागेपछि व्यापारीले पनि भाउ बढाएका हुन् ।’ उनका अनुसार अहिले पनि व्यापारीले प्रतिक्विन्टल २२/२३ सयमा खरिद गरिरहेका छन् । लिमिटेडले प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँमा खरिद गरिरहेको छ ।


लिमिटेडले यस वर्ष महेन्द्रनगरमा मंसिर १ देखि धान खरिद सुरु गरेको हो । महेन्द्रनगरमा मात्रै खरिद केन्द्र राखिएकाले आसपासका किसान मात्रै धान बिक्री गर्न आएका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्बास क्षेत्रका कृषकले भने व्यापारीलाई नै सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ । केही वर्षअघि सम्म धान खरिदका लागि लिमिटेडले जिल्लाका विभिन्न ठाउँमा खरिद केन्द्र स्थापना गर्दै आएको थियो । जसका कारण किसानहरूले सहजै बिक्री गर्न पाउँथे ।


यस वर्ष ७ हजार क्विन्टल धान खरिदको कोटा पाएकामा हालसम्म ५ हजार २ सय क्विन्टल धान खरिद भइसकेको लिमिटेका महेन्द्रनगर शाखा प्रमुख जयराज जोशीले बताए । उनका अनुसार धान आउने क्रम जारी रहेकाले मंसिरभित्रै कोटाअनुसारको धान खरिद भइसक्ने देखिन्छ ।


प्रकाशित : मंसिर २६, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?