कृषिमा उत्पादन उत्साहजनक

डडेलधुरा — यो वर्ष वर्षेबालीको उत्पादन ६ प्रतिशले बढेको छ । ६ सय ५३ हेक्टरमा लगाइएको गरिमा जातको धानमा बाला नलागेर २८ सय ९५ टन उत्पादन कम हुँदा–हुँदै पनि उत्पादन बढेको हो । अर्को प्रमुख खाद्य बाली मकैको उत्पादन पनि विगतको तुलनामा बढेको क्षेत्रीय कृषि निर्देशनालयको तथ्यांकले देखाएको छ ।

बर्खामा हुने दालजन्य गेडागुडीसहित कोदो, फापर जस्ता लोप हुँदै जान थालेका अन्नबालीमा पनि यस वर्ष उत्पादन बढेको छ । योसँगै तरकारीको बीउ उत्पादनमा त झन्डै १४ प्रतिशत बढेको तथ्यांकले देखाएको छ ।


उत्पादन बढेसँगै भटमास खरिद गर्न गाउँगाउँमा व्यवसायीबीच प्रतिस्पर्धा चलेको छ । २ वर्ष अघिसम्म भटमास व्यवसायमा केही व्यापारीको एकलौटी कब्जा थियो । यातायात सुविधाले बजार पाउन सहज भएको छ । भटमास खरिद गर्न हरेक गाउँमा सदरमुकामका व्यवसायीले काँटा लगाएका छन् । भटमास मात्र होइन तरकारी, परम्परागत उत्पादन कोदो, फापर, दालजन्य उत्पादन मास, गहत, राजमासहित पहाडी उत्पादन गाउँबाटै बिक्री भइरहेको छ ।


बँदेल र बाँदरलगायत वन्यजन्तुले बर्सेनि हजारौं हेक्टरमा लगाएको बाली नष्ट गर्छन् । बाढी पहिरो र अन्य प्राकृतिक प्रकोपले बालीमा हुने क्षति बेग्लै छ । समयमा मल र कृषिजन्य औजारको जहिल्यै अभाव हुन्छ । मध्य पहाडबाट निरन्तर बसाइसराइ गर्नेको प्रतिशतले दोहरो अंक छोएको छ । तराईमा खण्डीकरण तथा पहाडमा उब्जाउ जमिन झाडी जंगलमा परिणत हुनेक्रम पनि हरेक वर्ष बढेको छ । युवाहरूको पलायनले गाउँमा श्रम गर्ने वृद्ध र महिला मात्र छन् । ‘सरकारी गैरसरकारी तथ्यांकमा मात्र होइन ५ वर्षयता सुदूरपश्चिमले उत्पादनमा निकै ठूलो फड्को मारेको देखिन्छ,’ इसिमोडका वरिष्ठ कृषि प्राविधिक भवानीदत्त पन्तले भने, ‘व्यावसायिक उत्पादनमा भइरहेको लगानीका कारण पछिल्ला वर्षमा उत्पादन बढेको छ ।’ एक लाखको तरकारी बिक्री बेच्ने किसानले अहिले ५ लाखसम्मको बिक्री गर्न थालेका छन् । चामलसँग भटमास साटेर गुजारा गर्ने कृषक बर्सेनि २/३ लाखको भटमास बिक्री गर्छन् ।


पन्तले भने, ‘व्यावसायिक लगानी, आधुनिक प्रविधिसँग कृषक जोडिनु, कृषि प्रविधिमा परिवर्तन हुनु, उन्नत जातको बीउ–बिजनको प्रयोग बढ्नु, शिक्षित युवा समुह कृषिमा आकर्षित हुनुलगायत कारणले उत्पादन बढेको देखिन्छ ।’ तीनै तहका सरकारले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर गरिरहेको लगानी र शिक्षित बेरोजगार युवाहरू उत्पादनका क्षेत्रमा क्रियाशील हुन थालेपछि यस क्षेत्रमा उत्पादनमा बृद्धि भएको पन्तको दाबी छ ।


अझै परम्परागत रुपमा खेती भइरहेका धेरैजस्तो उब्जाउ जमिन बाँझो देखिन्छन् । क्षेत्रीय कृषि निर्देशनालयका बरिष्ठ कृषि प्राविधिक टेकबहादुर विष्ट थोरै कृषकले पनि व्यावसायिक उत्पादनमा लागेपछिको परिणामका रुपमा यसलाई बुझ्नुपर्ने बताउँछन् ।


औसतमा हरेक अन्नबाली ७ वर्षयता झन्डै १५ प्रतिशतले बढेको क्षेत्रीय कृषि निर्देशनालयको तथ्यांकमा देखिन्छ । विष्टका अनुसार खेतीयोग्य क्षेत्रफल मात्र बढेको होइन, वर्षमा २ पटक हुने अधिकांश खेती ३ पटक हुन थालेको छ ।’ उदाहरणका लागि मकैको वर्षमा ३ पटक खेती हुन थालेको छ । धान खेती पनि धेरै ठाउँमा २ पटक हुन थालेको छ ।


उत्पादनका क्षेत्रमा तरकारी र बीउ–बिजनले पनि ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रमा कार्यरतहरू प्राविधिकहरू बताउँछन् । वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले भने, ‘आधुनिक कृषि प्रणालीसँग जोडिएका कृषकले सुरु गरेका व्यावसायिक खेतीका कारण उत्पादन बढेको हो ।’

प्रकाशित : मंसिर २५, २०७६ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?