३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

यौन समस्या लुकाउँछन् महिला

‘२१ वर्षमा ३ सन्तान जन्मिए, ४ पटक गर्भ खेर गयो, अहिले त एक गाग्री पानी पनि उचाल्न सक्दिनँ’ 

(बझाङ) र (अछाम) — अछामको ढकारी गाउँपालिका ४ कि ३२ वर्षीया नौमती (नाम परिवर्तन) लाई तल्लो पेट दुख्ने, पिठ्यूँ खसेजस्तै हुने, योनिबाट गन्ध आउने र पहेंलो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने समस्या छ । यो समस्या उनले न घर परिवारलाई भन्न सकेकी छन्, न त स्वास्थ्यकर्मीलाई नै ।

यौन समस्या लुकाउँछन् महिला

घरपरिवारले सोधपुछ गर्दा जहिल्यै टाउको दुखेको भन्दै झुटो बोल्छिन् । अरुले थाहा पाए लाज हुन्छ भन्ने सोचले ३ वर्षदेखि समस्या लुकाएरै बसेकी छन् । ‘गाउँको स्वास्थ्यचौकीमा चिनजानकै मान्छे हुन्छन् । उनीहरूलाई भन्न पनि लाज लाग्छ,’ उनले भनिन्, ‘श्रीमान् ३ वर्षदेखि घर आउनुभएको छैन । अरूलाई भन्नै सकिँदैन । भित्रभित्रै कमजोर भइसकें ।’


यौनसम्बन्धी समस्यामा खुलेर कुरा गर्न लजाउँदा नौमती मात्र होइनन्, सुदूर पहाडका बहुसंख्यक महिलाहरू जटिल खालका रोगको सिकार हुने क्रम बढ्दो छ । सामान्यत: महिलाको विवाह गर्ने उमेर २० वर्ष कटेपछि मात्रै हो तर यहाँ २० वर्षमा ३/४ सन्तान जन्माइसकेका हुन्छन् । २५ देखि ३० वर्षमा अधिकांशमा केही न केही यौनजन्य समस्याबाट संक्रमित भइसकेका हुन्छन् ।


यसको अर्को उदाहरण हुन् अछाम मंगलसैन १३ कि २५ वर्षीया मनकला विक । उनलाई यही उमेरमा पाठेघरसमेत फाल्नुपर्ने बाध्यता आइलागेको छ । १४ वर्षको उमेरमै विवाह भएकी मनकलाले ३ सन्तान जन्माइसकेकी छिन् । ४ पटक त उनको गर्भै खेर गयो । उनले सबै सन्तान घरमै जन्माइन् । पहिलो सन्तान जन्मनेबित्तिकै पाठेघर केही तल खसेको उनले महसुस गरेकी थिइन् ।


तर यो समस्याबारे उनले कसैलाई भनिनन् । दोस्रो र तेस्रो सन्तान जन्माउँदासम्म उनको पाठेघर पूरै बाहिर आइसकेको थियो । विस्तारै हिँडडुल गर्नै नसक्ने भइन् । समस्या बढ्दै गएपछि २ वर्षअघि जिल्ला अस्पतालमा जचाउँदा चिकित्सकले उनलाई शल्यक्रिया गर्न सुझाए । पति आएपछि मात्रै उपचार गर्ने डाक्टरलाई बताउँदै उनी उपचार नगराएर घर फर्किइन् । अहिलेसम्म उनको शल्यक्रिया भएको छैन । उनका पति भारतमै छन् । ‘२१ वर्षमा ३ सन्तान जन्मिए । ४ पटक गर्भ खेर गयो,’ उनले भनिन्, ‘अहिले त एक गाग्री पानी पनि उचाल्न सक्दिनँ ।’


मंगलसैनकै ६३ वर्षीया नामसरा खनालले पाठेघर खसेको २८ वर्षपछि मात्र डाक्टरलाई देखाइन् । लगातार ११ सन्तान जन्माएकी उनले स्वास्थ्य समस्या खुलेर बताएकी थिइनन् । ‘बरु मर्न सजिलो जस्तो लाग्थ्यो । लाजले भन्नै सकेको थिइन । अहिले छोरीले शंका गरेपछि यो समस्या खुलाउन बाध्य भएँ ।’


बझाङमा पनि पाठेघर खस्ने र अन्य यौनजन्य समस्याका बिरामी बढ्दै गएका छन् । उनीहरू लाजकै कारण समयमै उपचार नगराउँदा जटिल खालका समस्यामा पर्ने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । ‘महिलाहरू यौन समस्याबारे खुल्नै मान्दैनन्,’ जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दीप ओखेडा भन्छन्, ‘अस्पताल पुगेरै पनि धेरैजसो महिलाहरूले यौनांगको जाँच गर्नै मान्दैनन्,’ उनले दैनिक १५ जनाको हाराहारीमा यौन समस्या भएका महिला जिल्ला अस्पताल पुग्ने गरेकोमा आधाभन्दा बढी लाजकै कारण जाँच नगरी फर्कने गरेको बताए । ‘धेरै जसो त लक्षणसमेत भन्न लजाउँछन् । जाँच गर्नुपर्‍यो भने बहाना बनाएर भाग्ने गर्छन्,’ उनले भने ।


डाक्टरहरूका अनुसार यौन समस्याको समयमै उपचार नगर्दा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढ्छ । पाठेघर खस्ने समस्या बढीजसो ४० वर्ष उमेर कटेका महिलाहरूमा हुने भए पनि ग्रामीण भेकमा कलिलैमा पनि यस्ता समस्या देखिने गरेका छन् । ‘३ वर्षअघि शिविर चलाउँदा २० वर्ष मुनिका ५ किशोरीको पाठेघर खसेको भेटियो । नयाँ र पुराना पुस्ता दुवैले यो समस्या लुकाउँदै आएका छन् ।’ स्वास्थ्य कार्यालय अछामका परिवार नियोजन सुपरभाइजर भवानसिंह कुँवरले भने ।


कतिपय गाउँमा देउता रिसाएका कारण पाठेघर खसेको भन्ने गलत मान्यतासमेत छ । ‘कम उमेरमै पाठेघर खसे पनि समस्या लुकाएर बस्दा ढिलो मात्र थाहा हुन्छ,’ उनले भने, ‘पछिल्लो समय समाजमा यसबारे चेतना बढ्दै गएपछि महिला पनि खुल्न त थालेका छन् । तर अझै पनि धेरै अरूले थाहा पाउने डरले कसैलाई भन्दैनन् ।’


खासगरी धेरै बच्चा जन्माउँदा, कम उमेरमै गर्भवती हुँदा, जन्मान्तर कम राख्दा, गर्भवती अवस्थामा पोषिलो खानेकुरा र आराम नहुँदा प्राय:लाई पाठेघर खस्ने समस्या धेरै देखिने गरेको छ । अविवाहितहरूमा पनि विभिन्न कारणले यौनसम्बन्धी रोग हुने गरे पनि लाजले समस्या लुकाउने प्रवृत्ति रहेकाले खुलेर आउन निकै मुस्किल छ ।

प्रकाशित : मंसिर २५, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?