चुरेमा खनिएका सडकले विनाश

डाँडाका बस्तीमा मोटर पुग्यो, घण्टौं हिँडेर उकालीओराली गर्नेलाई सुविधा भयो, तर चुरे खोस्रेर बनेका सडक संरचनाले पहिरो ल्यायो, कुलो भत्क्यो, मूल सुके 
मोहन बुढाऐर

(कैलाली) — मोहन्याल गाउँपालिका–४ को वडा कार्यालय माथिबाट पहिरो खसेको छ । खानेपानीका मुहान सुके । सिँचाइ कुलो सुक्यो । कुलो सुकेपछि ७ नम्बरको धनाडीमा पानीघट्ट बन्द भएको छ । 

यो गाउँ चुरे क्षेत्रमा पर्छ । तराई झर्न र त्यहाँबाट बस्तीसम्म उक्लन निकै समस्या थियो । स्थानीय तह निर्वाचनपछि गाउँलेको पहिलो माग सडक पूर्वाधार थियो । जनप्रतिनिधिले त्यसैमा जोड दिए । योजना पारित भयो । डोजर ल्याइयो । डाँडा खन्दै कच्ची भए पनि सडक बनाइएपछि गाउँमा मोटर आउजाउ सुरु भयो । सुविधाले खुसी भएका गाउँले गएको वर्षामा सडक खनेकै क्षेत्रमा पहिरो जाँदा झस्किए । पानीका मुहान सुके । सिंचाइ कुलो सुक्यो । अहिले आएर वाततावरणीय संवेदनशीलतामा ध्यान नपुर्‍याई अघि बढाइएको पूर्वाधारका योजनामाथि गाउँलेबीच ठीक/बेठीकको बहस छ ।


‘हाम्रो हाम्रा खेतबारीमा सडक खन्नुअघि कुलो लाग्थ्यो, मूलको माथिबाट सडक खोलेपछि सुक्यो,’ धनाडीका दिनेश घर्तीमगर भन्छन्, ‘सडक खुलेर गाउँमा मोटर त आयो तर, खेतबारी बाँझै भएपछि अर्को आपत् भयो ।’ सडक खोल्दा वातावरणीय प्रभाव मूल्यांकनको कति महत्त्व रहेछ भन्ने कुरा अहिले बल्ल सबैले बुझेको उनी बताउँछन् ।


मोहन्यालकै सिमका कमल बमले सडकले पहिरो बढ्न थालेपछि विरोध गरेको बताए । ‘डोजर जथाभावी हाल्न थाले,’ उनले भने, ‘घरको माथिबाट लगेको भए, पानीको मूल पनि सुक्ने, गाईगोरुको गजाल (चरन क्षेत्र) पनि जाने र पहिरोको जोखिम पनि बढ्ने थियो ।’ अहिले उनको घरको तल्तिरबाट सडक गएको छ । ‘गाउँमा पहिले पानीको मूल थुप्रै थिए, कति त पहिरोले पुरिएको छ । पानीको समस्या भइगयो,’ उनले भने, ‘डोजरले सडक खनेको ठाउँमा पहिरो बढी गएको छ ।’


स्थानीय शिक्षक मीनबहादुर चन्द सडक सबैको आवश्यकता भए पनि वातावरणीय अवस्थालाई ध्यान नपुर्‍याउँदा मोहन्याल मात्रै नभई चुरेको यो भेगलाई नै अप्ठ्यारो परेको बताउँछन् । ‘चुरेमा सडकले यति धेरै पहिरो गएको छ कि पहिले यस्तो होला भन्ने कसैले सोचेको थिएन,’ उनी भन्छन् ‘विकास नाममा हुने क्षतिको कसैले गम्भीरतापूर्वक विचार नै गरेको देखिएन ।’


सडक बनाउन भनेर माथि उक्लिएका डोजरको काम देखेर उत्साहित भएकाहरूले सार्वजनिक भवन र खेल मैदानका लागि पनि पहाड खोस्रन लगाए । टेवा पर्खाल नलगाई जथभावी खोस्रनुको परिणाम गाउँलेले बिस्तारै बुझ्दै छन् । मोहन्याल गाउँपालिका–४ को वडा कार्यालय राख्न चुरेको एउटा डाँडा खोस्रेर सम्याइएको छ । ‘सरकारी, सामुदायिक भवन, बजारका लागि चाक्लो ठाउँ खोज्नु नै परेको छैन,’ बजारीका देवबहादुर बोहराले भने, ‘डाँडामा डोजर लगायो चाहिने जति ठाउँ फराकिलो बनायो ।’ सरकारी वनजंगल मासेर सार्वजनिक भवन र बजार बनाउन पनि कसैले विरोध नगर्ने उनी बताउँछन् ।


गाउँपालिकाले वातावरण मूल्यांकनै नगरी चलाएका डोजर चलाउँदा निम्तिएको समस्यामा जनप्रतिनिधि मात्रै नभई गाउँका अगुवा पनि जिम्मेवार छन् । त्यसैले पानीका प्राकृतिक पँधेरा र मुहान सुक्दा पनि विरोधमा बोल्नेको स्वर मसिनो छ । जनप्रतिनिधिको तर्क छ, ‘सडक सञ्जाल पहिलो प्राथमिकता हो ।’ मोहन्याल गाउँपालिकाले चालु आर्थिक वर्ष आफैं दुईवटा डोजर खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि एक करोड छुट्याएको छ ।


‘दुर्गमलाई सुगममा बदल्न सडक चाहियो,’ गाउँपालिका अध्यक्ष नवलसिंह रावलले भन्छन्, ‘चुरेका बस्ती–बस्तीलाई सडक सञ्जालले जोड्नैपर्‍यो । अलिअलि केही कुरामा दु:ख हुन्छ भन्दैमा हामी पूर्वाधारका योजना छाड्न सक्दैनौं ।’ गाउँपालिकाले छुट्याएको वार्षिक विकास बजेटमा आधा रकम सडकका योजनाका लागि भएको उनले बताए ।


चुरेको बस्तीबस्तीलाई जोड्न एक दर्जन सडकका लागि प्रत्येकलाई ७ देखि १० लाख विनियोजन गरिएको छ । खमडी–सिमली, फल्ले बिसौना र चिसापानी–सोल्टा र राजकाँडादेखि कुशेगडा मुख्य पाँच सडक योजनामा थप ५ करोड विनियोजन गरेको छ । गाउँपालिकाको आफ्नै डोजर किन ? अध्यक्ष रावलले पहिले निर्माण भएका ट्र्याकमा पहिरो गएकाले त्यसलाई पुनर्निर्माण गर्न आफ्नै डोजर आवश्यक परेको तर्क गरे । उनले भने, ‘बस्ती जोड्ने सडक योजना बनाउन वडास्तरका जनप्रतिनिधि र उपभोक्ता समितिले गाउँपालिकाको निर्णय मानिरहेका छैनन् । हामीले डोजर प्रयोग नगर्ने पक्षमा छौं ।’ वातावरणीय प्रभाव मूल्यांकन नगरी डोजरको प्रयोग गर्दा पहिरो, भू–क्षय र वनको विनाश भएको उनी आफैं पनि बताउँछन् । ‘हालसम्म जे भए पनि अबदेखि पालिकाको इन्जिनयिर र ओभरसियरबाट सर्भे भएका सडक योजनामा बजेट विनियोजन गर्ने सोच छ,’ उनी भन्छन् । तर गाउँपालिकाले चिसापानी सोल्टा सुगरखाल फल्लेबिसौना, खिमडीसम्मको करिब ३० किलोमिटर सडक योजना र बालुवागाडा कटौंजे तराईलाई जोडने पुरानो चलनचल्तीको बाटो भएकाले ईआईए प्रतिवेदन नआउँदै काम सुरु गरेको छ ।


‘उपभोक्ता समिति होस् वा ठेक्कापट्टामा बन्दै गरेको सडक, सबै योजनामा डोजर चलाइएको छ,’ स्थानीय निर्मल भट्ट भने, ‘अहिले चुरेमा दर्जनौं डोजर चुरे फोर्न लागेको दृश्य देख्न सक्नुहुन्छ ।’ चुरे गाउँपालिकाको विकास बजेट १२ करोडमध्ये साढे ३ करोड सडक निर्माणमा विनियोजित भएको कार्यकारी अधिकृत वसन्त बोहराले बताए । उनका अनुसार उक्त रकमले सजपुर अलाड, देउराली मौरी चौमला र फल्टुडे धनेरी गजारको ट्र्याक खोल्ने काम सुरु भएको छ ।


चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोका मगरले सजपुर अलाड, देउराली मौरी चौमला र फल्टुडे धनेरी गजार मुख्य सडक योजनाको वातावरणीय प्रभाव मूल्यांकन गरिएको बताए । प्रतिवेदन नआउँदै काम सुरु भइसकेको छ । ‘तर बस्ती–बस्ती जोड्ने सडक योजनाको साधारण बजेटको इस्टिमेट गरिन्छ,’ उनले भने, ‘उपभोक्ता समितिमार्फत काम गराइने भएकाले कुनै ठाउँमा सडक जथाभावी खनिएको पनि होला ।’


यतिसम्म कि उपभोक्ताले खन्ने सडकमा प्राविधिकसँग सल्लाह नै हुँदैन । गाउँपालिकामा एक जना मात्र सव–इन्जिनियर रहेकाले उपभोक्ता समितिद्वारा गरिने सडक निर्माणको काम प्राविधिक सहयोग पुर्‍याउन नसकेको उनले बताए । सडकको निर्माण सम्पन्न भएपछि मात्र भुक्तानी दिन प्राविधिक जाँच गरिन्छ । जबकि मनपरि ढंगले सडक पहिल्यै खनिइसकेको हुन्छ । अध्यक्ष रोकामगरले आवश्यकता र मागअनुसार पालिकाले सडक योजना छनोट गरी काम थालेको बताए । ‘चुरेको बस्तीमा सडक पुर्‍याउनु छ,’ उनले भने, ‘चुरे नफोरेर सडक पुग्ने हो । केही नोक्सानी त हुन्छ नै ।’


दुई गाउँपालिकाले मात्र नभई चुरे फेदसँगै जोडिएका गोदावरी, गौरीगंगा, बर्दगोरिया, लम्की चुहा नगरपालिकाले पनि जताततैबाट उक्लिने सडकका योजनामा रकम विनियोजन गरेका छन् ।


गोदावरी नगरपालिकाले मूलपानी र समना हुँदै चुरेको फूलबस्तीसम्मको सडक योजनामा १० लाख विनियोजन गरेको मेयर हीरासिंह साउदले बताए । गौरीगंगा नगरपालिकाले कमेलीदेखि मोहन्याल सडक योजनामा रकम छुट्याएको छ । तल्लापानी लुखाबाट बजारी पन्डौन सडक निर्माणमा २० लाखभन्दा बढी रकम चालु वर्षमा विनियोजन गरेको छ । घोडाघोडी, बर्दगोरिया र लम्की चुहा नगरपालिकाले पनि चुरेमाथि उक्लिने एक दर्जन योजनामा बजेट विनियोजन गरेका छन् । ‘चुरे माथिका बस्ती जोड्ने सडक निर्माण गर्न आवश्यक नै हो,’ स्थानीय राजनीतिज्ञ वीरेन्द्र बमले भने, ‘तर जथाभावी जताततैबाट स्थानीय तहले मनमरी ढंगबाट चुरेमाथि सडक पुर्‍याउन लागेको देखिन्छ ।’ यसबाट चुरेमा भू–क्षय, पहिरो, वन विनाश भएको र पानीका मूल सुकेको उनले बताए ।


प्रकाशित : मंसिर २५, २०७६ १२:०८

प्रतिक्रिया
पठाउनुहोस्

चिसो बढेपछि स्कुल छुट्टी, पोहोरभन्दा यो वर्ष छिटो

आश गुरुङ

(लमजुङ) — चिसो बढ्न थालेपछि मनाङको मनाङ–ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् । शिक्षकका अनुसार यो वर्ष चिसो चाँडै बढ्न थालेपछि अभिभावकले छिटो बन्द गर्न आग्रह गरेका थिए ।

त्यसैले एक साताअघि नै वार्षिक परीक्षा सिध्याएर हतार–हतार परीक्षाफल प्रकाशित गरी शिक्षक–विद्यार्थी स्कुल बन्द गरेर हिँडेका हुन् । मनाङ ङिस्याङका नौ र नार्पाभूमिका दुई विद्यालय तीन महिनाका लागि बन्द गरिएका छन् । अब चैत १ बाट मात्रै खुल्ने उनीहरूले बताएका छन् ।

मनाङ ङिस्याङ–६ मनाङ गाउँको अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्दराज घिमिरेका अनुसार माथिल्लो मनाङका सबै विद्यालय बन्द भएका छन् । माथिल्लो मनाङ क्षेत्रमा सबैभन्दा ढिला बन्द हुनेमा अन्नपूर्ण मावि छ । ‘हामीले मंसिर ११ गतेबाट परीक्षा सुरु गर्‍यौं । १९ गते सकेर परीक्षाफल प्रकाशित गरेपछि गएको शनिवारदेखि विद्यालय बन्द गरेर हिँड्यौं,’ उनले भने । अन्नपूर्ण मावि गत वर्ष मंसिर २६ देखि तीन महिनाका लागि बन्द भएको थियो ।
अन्नपूर्णबाहेक सबै निमावि र प्राथमिक विद्यालय हुन् । अन्नपूर्ण बन्द हुनुभन्दा एक साताअगावै अन्य केही विद्यालय बन्द गरिएका थिए । ‘धेरै वर्ष पहिलेदेखि मंसिर १५/१६ बाट फाइनल परीक्षा सुरु हुने र २०/२२ मा नतिजा प्रकाशन गरी विद्यालय बन्द गरिन्थ्यो,’ उनले भने, ‘योपटक अलि छिटै भयो । प्राकृतिक कठिनाइ हो । तापक्रम माइनसमा छ, पानी जमेको छ ।’

मनाङ ङिस्याङ गाउँपालिका शिक्षा शाखा संयोजक रुद्रनाथ पौडेलका अनुसार गापामा एउटा मावि, १–७ पढाइ हुने आधारभूत तीन र १ देखि ५ कक्षासम्म पढाइने पाँच विद्यालय छन । सबै बन्द भएका छन् । ‘पढाइ सुरु भएपछि शुक्रबार पनि अन्य दिन सरह पठनपाठन गरिन्छ । कसैगरि कोर्ष सक्ने व्यवस्था मिलाएका छौं,’ उनले भने । नार्पाभूमिअन्तर्गत नारमा रहेका दुई आधारभूत विद्यालय पनि बन्द भएका छन् । मनाङ ङिस्याङ गाउँपालिकाले गत वर्ष फागुन १६ बाट पठनपाठन सुरु गर्न विद्यालयहरूलाई पत्राचार गरेको थियो । विद्यालय भने चैत १ बाटमात्रै संचालनमा आएका थिए । यसपटक पनि फागुन १६ गतेबाट स्कुल संचालन गर्न पत्राचार गरिने गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए । ‘पुस नलाग्दै विद्यालय बन्द भएको छ । फागुनको आधा महिना त पढाउनु पर्‍यो नि । हामी छलफल गर्छौं,’ उनले भने ।

चामे गाउँपालिका र तल्लो मनाङको नासों गाउँपालिकाका विद्यालय बन्द गर्ने तरखरमा शिक्षक छन् ।

प्रकाशित : मंसिर २५, २०७६ १२:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×