दूषित बन्दै महाकाली

‘नदी किनारका बजारको सबै फोहोर र दाहसंस्कार स्थलमा मृतकका कपडा तथा अन्य सामग्री फाल्दा नदी दूषित’
भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीलाई पवित्र तीर्थस्थल मानिन्छ । ऋषि पञ्चमी र माघे संक्रान्तिलगायत विभिन्न पर्वका बेला नदीका विभिन्न ठाउँमा मेला लाग्छ । महाकाली नदी धार्मिक रुपमा जति महत्वपूर्ण छ, सिँचाई र पिउने पानीका लागि पनि ठुलो महत्व छ । तर पछिल्ला वर्ष जथाभावी फोहोर गर्दा महाकाली दूषित बन्दै गएको छ ।

दूषित बन्दै महाकाली

दशक अघिसम्म महाकालीको पानी सोझै पिउन लायक थियो । तर अहिले प्रदुषणकै कारण नदीको पानी पिउन सकिने अवस्था नरहेको स्थानीय बताउँछन् । ‘किनारका बस्तीको सबै फोहोर नदीमै जान्छ,’ भीमदत्त नगरपालिका ९ मटेनाका वीरसिंह भाटले भने, ‘बगरमा जताततै फोहोर मात्रै भरिएको छ ।’


बजार क्षेत्रको फोहोर महाकालीमै बिसर्जन गरिन्छ । किनारका बस्तीको ढल निकास पनि नदीमै छाडिएको छ । अझ कतिपय ठाउँमा मलमूत्रसमेत नदीमै मिसाइएको सहजै देखिन्छ । यसले महाकाली नदी दिन प्रतिदिन दूषित बन्दै गएको हो । भीमदत्त नगरपालिकाअन्तर्गत


ब्रह्मदेव, भुजेला, ऐरी र झोलुंगे पुल क्षेत्रमा नदी किनारका बासिन्दाले जथाभावी फोहोर फाल्ने गरेको कारण नदी दुर्गन्धित बनेको छ । दाहसंस्कार स्थलमा मृतकका लुगाकपडा तथा अन्य सामग्री फाल्दा झनै दूषित बनेको छ । व्यवस्थित ढंगले दाहसंस्कार गरी प्रयोग गरिएका सामग्रीहरू पनि निश्चित स्थानमा मात्रै फाल्दा फोहोर घटाउन सकिने भए पनि त्यसो हुन सकेको छैन ।


‘दार्चुलादेखि कञ्चनपुरसम्मै फोहोर मैला र ढल निकासका कारण नदी दुषित बन्दै गएको छ,’ लामो समयदेखि महाकाली नदीको स्वच्छता र जलीय जैविक विविधता संरक्षणका क्षेत्रमा काम गरिरहेका पानी विज्ञ जगदीश भट्टले भने, ‘यसले जलचर प्राणीलाई पनि असर पुर्‍याएको छ ।’ उनका अनुसार मानवबस्ती भएका क्षेत्रमा नदी अझ बढी दूषित भएको छ । बढदो सहरीकरण र बस्ती विकासका कारण भारततर्फ पनि महाकालीमा प्रदुषण निकै बढेको स्थानीय बताउँछन् ।


गत वर्ष गरिएको एक परीक्षणअनुसार महाकालीको पानीमा कोलिफार्म पनि देखिएको छ । नदी किनारका बासिन्दाले शौचालयको पाइप सोझै नदीमा मिसाउँदा प्रदूषण बढेको महाकाली नदीको सफाइमा लागेका भीमदत्त नगरपालिका ११ भुजेलाका किसन खड्काले बताए । यसबाहेक क्षारीयपन, एमोनियम र नाइट्रेडको मात्रा पनि बढ्दो छ ।


तराईमा कृषिका लागि रासायनिक मल तथा विभिन्न विषादीको प्रयोग निरन्तर बढ्दो छ । उक्त मलमा भएका विभिन्न पदार्थ खोलानाला र ढलका माध्यमबाट महाकालीमै मिसिन्छन् । यसले पनि प्रदुषण बढाएको छ । नदीमा बढ्दो प्रदुषणले जलचरहरूलाई ठुलो असर परेको जानकारहरू बताउँछन् । यसबाहेक नदी किनारमा पिउने पानी र वातावरणीय रुपमासमेत ठुलो समस्या हुने सरोकारवालाहरूको भनाई छ ।


गत साता अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा झोलुंगे पुल किनारका बासिन्दाले उक्त क्षेत्रमा सफाइ गरे । झोलुंगे पुल क्षेत्र पर्यटकीयस्थल भएका कारण अझ बढी फोहोर थुप्रिएको छ । उक्त क्षेत्रमा भएको होटल तथा अन्य पसलको फोहोर पनि नदीमै फाल्ने गर्दा बढी समस्या देखिएको छ ।

प्रकाशित : मंसिर २४, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?