२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सामुदायिक विद्यालय सुधार्ने तयारी

टीकापुर — विद्यार्थी घट्दै गएपछि सामुदायिक विद्यालय बचाउन तयारी थालिएको छ । सरकारी विद्यालयमा बर्सेनि विद्यार्थी घट्दै जाने, पढाइ राम्रो नहुने, शिक्षक आए पनि नपढाउनेलगायत गुनासो आएपछि सुधारका लागि स्थानीयसित छलफल सुरु गरिएको हो । 

टीकापुर ७ का वडाध्यक्ष रामलाल डगौराले भने, ‘सरकारी विद्यालयप्रति स्थानीयको चासो पनि कम हुँदै गएकाले अभिभावकको चासोबिना शैक्षिक गुणस्तर सुधार हुन नसक्ने ठानेर छलफल चलाइरहेका छौं । छलफलबाट आएको निष्कर्षका आधारमा शैक्षिक गुणस्तर बढाउन योजना बनाउँछौं ।’


टीकापुर नगरपालिका ७, सुनाहाफाँटामा रहेको जनता राष्ट्रिय माविको प्राथमिक तहमा विद्यार्थीको संख्या बर्सेनी घट्दै गएको छ । प्रावि तहमा सय विद्यार्थी मात्र अध्ययनरत छन् । ‘केही वर्षअघि एउटै कक्षामा सय विद्यार्थीसम्म हुन्थे । सबै निजी स्कुलतिर लागे,’ शिक्षक भीम विकले भने ।


शंकरपुरमा रहेको पशुपतिनाथ प्राविमा ७६ विद्यार्थी मात्र छन् । गत वर्ष ८६ जना थिए । यहाँ पढ्ने विद्यार्थी पनि निजी विद्यालयमा भर्ना भएका छन् । अभिभावकसित गरिएको छलफलमा शिक्षकले नै आफ्ना बालबच्चा निजीमा पढाउने भएकाले अरु अभिभावकले पनि निजी छानेको प्रतिक्रिया दिएका छन् ।


टीकापुर ७ का पशुपति अधिकारीले भने, ‘आफुले पढाउने विद्यालयको पढाइप्रति विश्वास नभएर शिक्षकले नै आफना बच्चा निजी स्कुलमा पठाउँछन् । अनि कसरी अभिभावकले सरकारी विद्यालयको विश्वास गर्नु ।’


सरकारी विद्यालयमा अधिकांश आर्थिक अवस्था कमजोर भएका विद्यार्थी पढ्ने भनिए पनि पढाइ राम्रो हुन्न भन्ने मानसिकताले यहाँका अभिभावक अरु खर्च कटाएरै निजीतिर आकर्षित बनेका हुन् ।

प्रकाशित : मंसिर २३, २०७६ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?