महिलालाई गाउँमै रोजगारी

डडेलधुरा — गन्यापधुरा २ कि देवकी दैनिक ५ सय ८० रुपैयाँ कमाउँछिन् । पति रोजगारीका लागि भारतमा छन् । सासू–ससुरा र २ छोराछोरीको जिम्मा उनकै काँधमा छ । ३ वर्ष अघिसम्म गुजारा गर्न कठिन हुन्थ्यो । पतिले भारतबाट पठाएको रकमले छाक टर्थ्यो । हुन त मजदुरी मिले पनि दैनिक २ सय बढी पारिश्रमिक पाइन्नथ्यो ।

छोरा–छोरीको पढाइ खर्च नहुँदा जेठो छोराले ८ कक्षामै छाड्नुपरेको थियो । ३ वर्षयता भने देवकी आत्मनिर्भर भएकी छिन् । ‘महिनामा १८/२० दिन मजदुरी पाइन्छ,’ देवकीले भनिन्, ‘पहिलाको भन्दा तेब्बर दिन मजदुरी गर्न पाइएको छ । श्रीमानले खर्च नपठाए पनि आफ्नै कमाइले घर धान्न पुगेको छ ।’


कोटेलीकी जयमती लुहारले मजदुरीबाटै आफ्नो ऋण तिरिन् । लामो समय बिरामी भएर मृत्यु भएका उनका पतिको उपचारमा लागेको २ लाख रुपैयाँ मजदुरीबाटै कमाएको ज्यालाबाटै तिरेकी हुन् । गाउँमा आउने हरेक योजनामा उनी मजदुरी पाउँछिन् । ३ छोराछोरीलाई उनले नजिकैको विद्यालयमा भर्ना गरेकी छिन् । ‘सानो छोरा बोर्डिङमा भर्ना गरेकी छु,’ जयाले भनिन् ‘अहिलेको जस्तो मजदुरी पाइने भए श्रीमानको उपचारका लागि ऋण काढ्नुपर्ने थिएन ।’


पछिल्लो समय ग्रामीण क्षेत्रमा ठूलो विकास बजेट खर्च हुन थालेपछि महिलाहरूले सहजै रोजगारी पाउन थालेका हुन् । ग्रामिण क्षेत्रमा निर्माण भइरहेका सडक, खानेपानी, मठमन्दिर मर्मत तथा निर्माण, सिँचाई, गोरेटो बाटो, पोखरी निर्माणदेखि गाउँमा हुने विभिन्न पूर्वाधार निर्माणका काममा मजदुरी पाउन थालेसँगै महिलाहरू आत्मनिर्भर बनेका हुन् ।


अधिकांश युवा रोजगारीका लागि तेस्रो मुलुक पुगेका छन् । केही भारतका विभिन्न सहर पुगेका छन् । गाउँमा पुरुष नभएपछि महिलाहरूले नै विकास निर्माणका योजनामा मजदुरी पाउन थालेका हुन् । ‘आर्थिक रुपमा पुरुषको भर पर्ने अवस्थावाट विस्तारै महिलाहरू मुक्त हुन थालेका छन्,’ सामाजिक कार्यकर्ता शान्ति जोशीले भनिन्, ‘निरक्षर महिलाहरूले पनि बैंकमा खाता खोल्ने, आफ्नो बचत जमा गर्ने र विभिन्न विकास निर्माणमा उपभोक्ता समितिमा नेतृत्वमा आउन होडबाजी गर्न थालेका छन् ।’


पछिल्ला ३ वर्षमा ग्रामीण क्षेत्रका महिलाहरूको आर्थिक रुपमा परनिर्भरता धेरै घटेको जोशीले बताइन् । उनले भनिन्, ‘जोखिम हुने विकास निर्माणका योजनाबाहेक अधिकांशमा महिला मजदुरको बाहुल्यता रहेको देख्न सकिन्छ ।’ सडक, खानेपानी, ग्रामिण सडक सिँचाइलगायत योजनामा महिलाले गरेको काम पुरुषले गरेभन्दा राम्रो हुने गरेको निर्माण व्यबसायी नरेन्द्र जोरा बताउँछन् । उनले भने, ‘जिम्मेवारीअनुरुप समयमा गुणस्तरीय काम गर्नमा महिला निकै अगाडि छन् ।’


गाउँपालिकामा गत आवमा उत्कृष्ट काम गरेको भन्दै अजयमेरु २ कि वसन्ती ऐर अध्यक्ष रहेको उपभोक्ता समिति पुरस्कृत भयो । २ सय बढी योजनामध्ये महिलाले नेतृत्व गरेको उपभोक्ता समिति उत्कृष्ट भएको यो पहिलोपटक भने होइन । अजयमेरुमा मात्र होइन जिल्लाका अन्य स्थानीय तहमा पनि यसअघि महिला अध्यक्ष रहेका उपभोक्ता समिति उत्कृष्ट भएका छन् ।


आर्थिक पारदर्शिता, गुणस्तरीय काम र गाउँपालिकाको अनुगमनमा उत्कृष्ट मानिएको अजयमेरु २, चमडाको सडक योजना नमूना योजनाका रुपमा छ । ‘चमडाको योजना मात्र होइन । गाउँपालिकामा महिला नेतृत्वका ४/५ वटै योजना उत्कृष्ट भएका छन्,’ अजयमेरु गाउँपालिका उपप्रमुख कलावती भाँणले भनिन्, ‘महिला मजदुर बाहुल्य रहेका अधिकांश योजनामा पुरुषभन्दा उत्कृष्ट काम भएको भेटिन्छ ।’


स्थानीय तहमा भइरहेका विकास निर्माणको गति देखेर धेरै सन्तुष्ट हुने ठाउँ नभए पनि महिलाहरूको रोजगारीमा भने निकै वृद्धि भएको यस क्षेत्रमा क्रियाशीलहरू बताउँछन् । ‘अनुगमनमा जता गए पनि महिला मजदुरको बाहुल्यता देखेर खुसी लाग्छ,’ खानेपानीका क्षेत्रमा कार्यरत सब–इन्जिनियर हरि भण्डारीले भने, ‘आर्थिक रुपमा महिलाहरू आत्मनिर्भर हुन थालेपछि सामाजिक विसंगति र कुरीति पनि घट्दै जान थालेका छन् ।’


आर्थिक रुपमा आत्मनिर्भरताले महिलाप्रति हुने घरेलु हिंसामा पनि निकै कमि आएको महशुस गर्न सकिन्छ । इन्जिनियर भण्डारीले भने, ‘निर्माण ब्यवसायीहरू पनि बाहिरबाट मजदुर ल्याएर काम गराउन भन्दा महिला मजदुरबाट काम गराउनमा खुसी देखिन्छन् ।’


प्रकाशित : मंसिर २३, २०७६ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?