कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कर्मचारी सापट मागेर काम चलाउँदै

तृप्ति शाही

(बैतडी) — कर्मचारी अभावले यहाँका स्थानीय तहको सेवा प्रभावित भइरहेको छ । वैतडीमा चार नगरपालिकासहित १० वटा स्थानीय तह छन् । सबै स्थानीय तहमा पर्याप्त संख्यामा कर्मचारी छैनन् । केही अघिसम्म जसोतसो कर्मचारीको व्यवस्थापन गरिरहेका स्थानीय तहहरू कर्मचारी समायोजनपछि अप्ठ्यारोमा परेका छन् । 

सिगास गाउँपालिकाले कर्मचारी सापटी मागेर काम चलाइरहेको छ । कार्यकारी अधिकृत रघुनाथ अवस्थी र सहायक चौथौ राजबहादुर धामी बाहेक अन्य कर्मचारी छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट लेखापाल बोलाएर काम गर्ने गरिएको पालिकाले जनाएको छ । सदरमुकामबाट महिनाको एक/दुई पटक पालिकामा आएर कोलेनिकाका लेखापालले सहयोग गर्ने गरेका प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए । इन्जिनियर र ओभरसियरको जोहो पनि यसैगरि चलाइएको उनले बताए ।


नौवटा वडा रहेको सिगासमा एकजना पनि सचिव छैनन् । तत्कालीन गाविस हुँदा काम गर्ने प्राविधिक सहायकले वडाहरू धानिरहेका बताउँदै उनले भने, ‘उहाँहरू पनि ६ जना मात्र हुनुहुन्छ । ९ वटै वडा हेर्नु भएको छ ।’

कर्मचारी नहुँदा पालिकाका धेरैजसो कामहरू लथालिंग भएका जनप्रतिनिधिहरू बताउँछन् । विकटमा पर्ने यस्तै पञ्चेश्वर गाउँपालिका पनि कर्मचारीविहीन जस्तै अवस्थामा छ । निमित्त कार्यकारी र एक जना लेखापालको भरमा पालिका चलेको छ । भएका केही कर्मचारी पनि समायोजन भएर गएपछि अहिले पालिकामा अधिकांश कामहरू हुन सकेका छैनन् । २ जना वडा सचिव भएकोमा उनीहरू पनि समायोजन भएर गएका गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले बताए । उनले भने, ‘पालिकाका कामहरू हुनै सकेका छैनन् । हामीहरू त अनुगमनको काम गर्दैछौं । गाउँघरमा जान्छौ, जनतालाई भेट्छौ र फर्कन्छौ । कर्मचारी नभएर जनताका कामै रोकिएका छन् । कर्मचारीहरू नहुँदा पीडा भएको छ ।’


केहि करारका कर्मचारी भर्ना गरेर र ३ जना प्राविधिक सहायकबाट काम चलाइरहेको पालिकाका निमित्त कार्यकारी अधिकृत कमलापती भट्टले बताए । ‘लोकसेवालाई माग गरेका छौं,’ उनले भने, ‘नयाँ कर्मचारी आएपछि समस्या घट्ला भन्ने आश छ ।’


अन्य पालिकाहरूमा पनि कर्मचारी अभाले समस्या छ । कुनै पनि पालिकामा आवश्यक संख्यामा कर्मचारीहरू छैनन् । ३/४ जनाको भरमा सबै काम धान्नु परेको उनीहरूले बताए । पालिका भर एक जना वडा सचिव मात्र रहेको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्णसिंह नायकले बताए । ‘कर्मचारी नभएर हैरान छ । ९ वडा भएको पालिकामा एक जना मात्र सचिव छन्,’ उनले भने, ‘उहाँलाई पनि नगरपालिकाको कार्यालयमा काम रोकिने भएकोले बोलाउँने गरेका छौ ।’ केहि करारका कर्मचारीद्धारा काम गराइरहेका छौं । केहि प्राविधिक सहयकले धानेको उनले बताए । कर्मचारी नहुँदा पालिकाका सबै क्रियाकपलापमा असर परिरहेको गुनासो उनले गरे ।


पुरचौर्डी नगरपालिकाका स्थानीय अनिरुद्र जोशीको गुनासो पनि उस्तै छ । वडा र नगरपालिकामा हुने काम, त्यहाँबाट पाउनु पर्ने सेवा सुविधाको लागि कर्मचारीहरूको खोजीमा भौतारिनु पर्ने अवस्था रहेको उनको दुखेसो छ । जोशीले भने, ‘सचिव खोज्न वडादेखि पालिकाको कार्यालयसम्म घण्टौं लाएर पुग्छौं, त्यैपनि काम नभएर फर्किनु पर्ने अवस्था छ । ससानो कामको लागि हप्तौ बित्छ । स्थानीय सरकार आयो भनेर भन्नु मात्र हो ।’

प्रकाशित : मंसिर २२, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?