कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तुइनकै भर

मनोज बडू

(दार्चुला) — व्यास गाउँपालिकाको धौलाकोटभन्दा माथिको क्षेत्रबाट सदरमुकाम पुग्न महाकाली नदी तर्नुपर्ने हुन्छ । नेपाल–भारत सीमा नदी महाकाली वारपार गर्नु परे स्थानीय बासिन्दालाई जोखिम मोलेर तुइन तुर्नको विकल्प छैन । गर्भवतीलेसमेत तुइनबाटै वारपार गर्नुपर्ने भएकाले उनीहरूले झन् धेरै जोखिम मोल्नुपर्ने बाध्यता छ ।

झोलुंगे पुल निर्माण गरी तुइन विस्थापित गर्ने सरकारी घोषणा भए पनि दार्चुलाका बासिन्दाले तुइनकै भरमा खोला र नदी तर्नुपर्ने अवस्था हटेको छैन । ०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री भएका बेला केपी ओलीले २ वर्षभित्र देशभरका तुइन विस्थापित गर्ने निर्णय सुनाएका थिए । तर उक्त निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । व्यास गाउँपालिकाका आधा दर्जन बढी ठाउँबाट स्थानीयले तुइनकै सहायताले महाकाली तर्दै आएका छन् । विगतदेखि नै भारतीय बाटो प्रयोग गरी सदरमुकाम आउजाउ गर्ने व्यवसायीले सकसपूर्ण तुइन यात्रा गर्नुपर्ने बाध्यता कायमै छ ।


‘आफ्नै देशको बाटोबाट सदरमुकाम पुग्न २ दिन लाग्छ । तुइनको सहायताले महाकाली तरेर भारतीय सडक मार्गबाट एक दिनमै सदरमुकाम पुगेर फर्किन सकिन्छ,’ व्यास गाउँपालिका २ दुम्लिङका दिपेन बुढाथोकीले भने, ‘भारतबाट गए एक दिनमै सदरमुकामको काम सकाएर घर पुगिने हुँदा जोखिम मोलेर तुइन प्रयोग गर्नुपरेको हो ।’ सरकारी कामकाज गर्न सदरमुकाम आउदा होस् वा व्यास गाउँपालिकाको केन्द्र सुन्सेरासम्म जान पनि तुइन प्रयोग गर्दा छोटो समयमै आफ्नो काम सकिन्छ । चाँडो गन्तव्यमा पुग्न सकिने हुँदा तुइन तरेर जोखिम मोल्नुपरेको उनले बताए ।


व्यास क्षेत्रका नेपालीहरूले भारतका विभिन्न ठाउँमा जान र जिल्ला सदरमुकाम पुग्न भारतको बाटो प्रयोग गरी आउन तुइनहरू बनाइएका हुन् । व्यास गाउँपालिका ५, तिगरमा नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण भए पनि त्यसभन्दा माथिल्लो क्षेत्रमा अझै तुइनबाटै आउजाउ भइरहेको छ । तिग्रममा झोलुंगे पुल बनेपछि बडूगाउँ, बसेडी, तिग्रमनजिक महाकाली नदीमाथि लाग्ने तुइन विस्थापन भएका छन् । यो पुलबाट व्यास गाउँपालिका ५ र ६ वडाका बासिन्दालाई आउजाउमा सहज हुन्छ । यहाँ पुल नबन्दासम्म माथिल्लो क्षेत्रमा जस्तै यहाँका स्थानीय जोखिमपूर्ण तुइन प्रयोग गर्दै आएको व्यास गाउँपालिका ६ बसेडीका रमेशराज भट्टले बताए । तिग्रममा पुल बनेपछि वारिपारि गर्न सहज भएको छ । त्यसअघि तुइनबाट खसेर धेरैले अकालमै ज्यान गुमाएको उनले बताए ।


यस्तै हिउँदमा महाकाली

नदीमा पानीको सतह कम हुँदा धेरै समस्या नहुने भएपनि वर्षातको समयमा निकै समस्या हुने गर्छ । व्यासका स्थानीयहरूले खाद्यान्न सामग्रीदेखि दैनिक उपभोग्य सबै समानहरू तुइनबाटै ढुवानी गर्ने गरेका छन् । सबै सामग्रीहका लागि उनीहरू भारतकै भर पर्नुपर्ने बाध्यतामा छन् । यहाँका बासिन्दा किनमेल गर्ने बजार क्षेत्रसमेत भारतनजिक पर्ने भएकाले त्यहाँबाटै सामग्रीहरू खरिद गरी तुइनबाट तार्ने गरेको स्थानीयले बताएका छन् ।


व्यास गाउँपालिका ४, महगाउँस्थित महाकाली नदीमाथि २ वटा तुइन लगाइएका छन् । सुन्सेरा, मडगाउँ, डोकटलगायत गाउँका स्थानीयले दैनिक नेपाल–भारत आउजाउ गर्छन् । त्यस्तै वडा ४ का बासिन्दा डोकट र बत्तीघाटमा तुइन लगाएर महाकाली वारिपारि गर्दै आएका छन् । व्यास गाउँपालिकाका सबै वडामा २/३ स्थानमा तुइन लगाइएका छन् । वडा १, २, ३, ४ र ५ का विभिन्न ठाउँमा तुइन लगाइएको छ । पहिले दुहु गाउँपालिकाका स्थानीय पनि तुइन तरेर आउजाउ गरे पनि अहिले सडक सञ्जाल जोडिएपछि तुइनको दु:ख हटेको छ ।


भारत निर्भरताले तुइन बाध्यता

मसिनो २/३ पाला (पाल्ता) को ग्याबिन जाली बुन्ने डोरीजस्तै तारमा बाँदरले जस्तै उल्टो गरी हिँड्नुपर्छ । वारिपारि काठको खामोमा तारलाई अड्याएर स्थानीय बासिन्दा नदीमाथि तुइन लगाउँछन् । कतिबेला तार चुड्छि भन्ने मन मनै डर पलाएकै हुन्छ । तुइन तरेर पारि पुगेपछि ठूलो युद्ध जिते जस्तो लाग्ने गरेको व्यास गाउँपालिका ५ नाजीकी जानकी धामी बताउँछिन् ।


नजिकमा बजार नभएकाले दैनिक उपभोग्य सामानदेखि अन्य आवश्यक लुगा खरिद गर्न सदरमुकामै जानै पर्ने अवस्था छ । यहाँबाट सदरमुकाम पुग्न अरुलाई जस्तो सहज छैन । बादरले जस्तै उल्टोगरि महाकाली माथि तुइन तरेर मात्रै सदरमुकाम पुगिन्छ । व्यासका बासिन्दाले उहिल्यैदेखि खेप्दै आएको समस्या हो यो ।


‘सदरमुकाम जाने दिन नजिकै जाँदा अघिल्लो दिनदेखि नै तुइन कसरी तर्ने भन्ने पीर हुन्छ,’ धामीले भनिन्, ‘महिला भएर होला तुइन तर्न धेरै असहज हुन्छ । तर तुइन नतरे बालबच्चा भोकै राख्नुपर्छ ।’ घरमा लोग्ने मान्छे नहुँने महिलाहरूले सदरमुकाम आउजाउ गर्ने बाध्यता रहेको उनले सुनाइन् । स्थानीयस्तरमा भरपर्दो बजार नहुँदा यहाँका बासिन्दा दैनिक उपभोग्य सामानदेखि अन्य सरसमान किन्न नजिकको सीमावर्ती भारतीय बजार र सदरमुकामै पुग्नुपर्छ । भारतीय बजार जानेहरू पांगला, गस्कु, तवाघाट, जिउती, धारचुलालगायत बजार धाउने गरेको बताउँछन् ।


व्यासको अधिकांश भूभाग

हिमाली क्षेत्र र केही उच्च पहाडी क्षेत्रमा पर्ने हुँदा खेतीपातीबाट उब्जानी न्यून छ । यहाँका बासिन्दा भारतीय बजारमा निर्भर छन् । व्यासका १३ हजार बढी जनसंख्यालाई १२ महिना खान पुग्ने गरी खेतीपाती नभएको र यीमध्ये ५ प्रतिशत परिवारलाई स्थानीय उत्पादनले वर्ष भरिलाई खान पुग्दैन । बाँकी जनसंख्याले सबैले भारतीय बजारको दैनिक उपभोग्य सामान खरिद गरी गुजारा चलाउँदै आएका छन् ।


‘कम उब्जानी हुने खेत भएकाले आफ्नो पुर्ख्योली खेतबाट राम्रो बाली पाएको वर्ष जेनतेन २/साढे २ महिनालाई पुग्छ,’ व्यास गाउँपालिका ४ सुन्सेराका नवराज भट्टले भने, ‘मध्यम खेत भएको परिवारले बढीमा ३ महिना खान पुग्छ । बाँकी सबै परिवारले भारतीय खाद्यान्नमा भर पर्नुपर्ने बाध्यता छ ।’


दैनिक ज्यालादारीमा मजदुरी गर्न भारत

व्यासका अधिकांश परिवारले दैनिक ज्यालादारीमा मजदुरी गरेर घरधन्दा चलाउने गरेका छन् । स्वदेशमा ज्यालादारीमा मजदुरीसमेत कम पाइने भएकाले यहाँका अधिकांश घरपरिवारबाट मजदुरी गर्न सीमावर्ती बजारहरूमा जाने गरेका व्यास गाउँपालिका २ मालका स्थानीय हरकसिंह कार्की बताउँछन् । उनले भने, यहाँका स्थानीयले १/२ महिनाजति यार्सालगायत जडीबुटी संकलन गर्ने र बाँकी समयमा भारतमै मजदुरी गरी कमाइ गर्छन् ।


युवाजति भारततिर

बडुवाल टोलका कालु सुनार २८ वर्ष पुगे । उनी १५ वर्षकै उमेरदेखि रोजगारीका लागि भारततिर जान थालेका हुन् । गुजरातको होटेलमा काम गर्ने उनी वर्षमा एकपटक महिनादिनको बिदामा आउँछन् । पारिवारिक अवस्था कमजोर भएकाले उनी ५ कक्षामै पढाइ छाडेर छिमेकीसँगै काम खोज्दै गुजरात पुगेका हुन् । मासिक ५ हजार भारुबाट काम सुरु गरेको उनले अहिले २०/२२ हजारसम्म कमाइरहेका छन् ।


बडुवाल टोलका अधिकांश युवा रोजगारीका लागि भारततिरै पसेका छन् । उनका अनुसार हरेक घरबाट एक/दुई जना कम्तीमा पनि भारत जाने गरेका छन् । उनीहरूको पहिलो रोजाइ गुजरात नै हुने गर्छ । त्यसपछि कतिपय मुम्बई पनि जाने गरेका छन् । ‘मुम्बईमा पनि दोधारा–चाँदनीका धेरै युवा काम गर्छन्,’ बडुवाल टोलका लक्ष्मण पोखरेलले भने, ‘यहाँबाट गएकामध्ये धेरैले हीराको कारिगर र होटेल लाइनको काम सिकेका छन् ।’


घाँस दाउरा पनि भारतबाटै

६५ वर्षीय मीना क्षत्री बिहान सबैरै उठेर गाउँलेसँगै नजिकै रहेको भारतको जंगलमा जान्छिन् । वनबाट घाँस दाउरा ल्याएर दिउँसो मात्रै फर्किन्छिन् । त्यसपछि खानपिनदेखि घरको अरू काम गर्छिन् । खेतीपातीको समयबाहेक उनको दैनिकी यसरी नै चल्ने गरेको छ ।



प्रकाशित : मंसिर २१, २०७६ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?