१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गाउँमा पानीकै दु:ख

डडेलधुरा — देवलका नारायण अवस्थी हरेक वर्ष खानेपानी योजनामा श्रमदान गर्छन् । नभ्याए श्रमदान बराबरको रकम तिर्छन् । कहिले उनीसहित गाउँलेले योजनाबाट बचाएर श्रमदानको रकम मिलाउने गर्छन् । यो सिलसिला चलेको एक दशक भइसक्यो । गाउँमा खानेपानी योजना आउँछ । योजना निर्माण पनि हुन्छ । तर योजना निर्माण भएको केही समयमै खानेपानी आउन छाड्छ । स्थानीयले पुन: परम्परागत नाउली र खोलाबाट भागबण्डा गरेर पानीको गुजारा गर्नुपर्छ ।

साविक देवल गाविसका हरेक गाउँमा खानेपानीका योजना छन् । टंकी बनेका छन्, घरघरमा धारा पनि बनेका छन् तर नारायण जस्तै सबैले खानेपानीका लागि सधैं सास्ती भोग्नु पर्छ । हरेक गाउँमा सञ्चालनमा रहेका खानेपानी योजनामा पानी आउने मुहान रहेको गुवाडी लेक क्षेत्रमा जताततैं डोजरको प्रयोग गरेर सडक निर्माण हुन थालेपछि साविकको देवल गाविसमा पानीको हाहाकार सुरु भएको हो । दशक अघिसम्म गुवाडी लेकमा रहेका पानीका मुहानबाट केही गाउँमा पानी आउथ्यो ।


पछिल्लो समय लेकमा रहेका अधिकांश पानीका मुहान सुकेपछि पुरै पीलकोट क्षेत्रमा पानीको हाहाकार भएको छ । अजयमेरुको वडा नम्बर ५ बाट मात्र खानेपानीका कारण सयौं परिवारले बसाइसराइसमेत गरिसकेका छन् । दशक अघिसम्म खानेपानी योजना नभएपनि ग्रामिण क्षेत्रमा खानेपानीका मुहान थिए । तत्कालीन स्थानीय निकाय र खानेपानी कार्यालयले खानेपानीका पाइप वितरण गर्थ्यो । तिनै पाइपवाट मुहानदेखि पानी ल्याएर खानेपानी समस्याको समाधान हुने गर्थ्यो । एक दशकमै पानीका अधिकांश मुहान सुकेपछि खानेपानीको हाहाकार सुरु भएको हो ।


‘महाभारत क्षेत्रका जंगल नासिनु, जथाभावि जताततै डोजर चलाएर सडक निर्माण हुनु, पर्यावरणीय प्रभाव मुल्यांकनविना विकास निर्माणका योजना बनाइनु खानेपानीका मुहान सुक्नुका मुख्य कारण हुन्,’ ग्रामिण जलश्रोत ब्यबस्थापन परियोजनाका जलश्रोत अधिकृत देवराज भण्डारीले भने, ‘५ वर्षयता जथाभावी निर्माण गरिएका ग्रामिण सडकका कारण अधिकांश मूलले जमिनमूनीबाटै बाटो फेर्दा खानेपानीको हाहाकार भएको हो ।’ महाभारत जंगलको उपल्लो क्षेत्रमा निरन्तर भएको अतिक्रमण र वन फडानीले परम्परागत पानीका मूहान हराएको उनले बताए । ‘खानेपानीका लागि महाभारत जंगल क्षेत्रमा आश्रित अधिकांश मानवबस्ती खानेपानीविहीन हुन थालेका छन्’ उनले भने ।


साविक देवल गाविस जस्तै कोटेली, बेलापुर, भागेश्वर, कैलपालमाण्डौं, नवदुर्गा, असिग्राम र गणेशपुरमा पनि सर्वसाधारणले खानेपानीको चरम संकट भोगिरहेका छन् । स्थानीय तहको विकास बजेटमध्ये सडकपछि दोस्रोमा खानेपानीका क्षेत्रमा खर्च भइरहेको छ । तर पनि पानी संकट टर्न सकेको छैन । ‘एकातिर खानेपानीमा लगानी भइरहेको छ । अर्कोतिर जथाभावी हेभी इक्युपमेन्ट प्रयोग गरेर सडक निर्माणमा लगानी गरेर पानी संकट निम्त्याइरहेका छन्,’ खानेपानीका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था बहुउद्देश्यीय विकास समाजका प्रमुख प्रेम महरले भने, ‘स्थानीय तहको दोहरो मापदण्डका कारण डडेलधुरा मात्र नभई मध्य पहाडी क्षेत्रका अधिकांश मानवबस्ती पानी संकट भोग्न बाध्य भएका छन् ।’गाउँ माथिबाट सडक निर्माण भइरहेको छ । गाउँमूनी खानेपानीका ठूलाठूला योजना सञ्चालनमा रहेको महरले बताए ।


प्रकाशित : मंसिर २१, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?