भटमास बेचेर चामल- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भटमास बेचेर चामल

‘उत्पादन भएको दाल घरमा खान र बीउ राखेर बाँकी सबै बेच्छौं अनि चामल किन्छौं’
मनोज बडू

दार्चुला — यहाँका बासिन्दा भटमास, गहत, मास र मुसुरो बेचेर चामल किन्छन् । उच्च पहाडी भेकमा धान गहुँ कम उब्जनी हुन्छ । भटमास र अन्य दालहरूको उत्पादन भने राम्रो हुन्छ । 

‘व्यास गाउँपालिकाको सुन्सेरा, धौलाकोट र हुतीको माथिल्लो क्षेत्रमा भटमासलगायत बालीको राम्रो उत्पादन हुन्छ,’ सुन्सेराकी जैमती लोहारले भनिन्, ‘खेत कमै भएकाले अन्य बालीभन्दा दाल बढी लगाउँछौं । यही दाल बेचेर चामल किनेर भात खान्छौं ।’


उत्पादित दाल घरमा खान र बिउका लागि राखेर बाँकी सबै बेच्ने गरेको बताइन् । यस वर्ष झन्डै ४० किलो भटमास भारतीय बजारमा बिक्री गरी एक क्विन्टल जति चामल किनेको जैमतीले बताइन् । यहाँका बासिन्दा मकै बिक्री गरी पीठो र भटमास बिक्री गरी चामल किन्छन् । जैमतीले मात्रै हैन । गाउँका अधिकांश परिवारले यो सिजनमा दाल बिक्री गरी चामल किन्छन् ।


दुहु गाउँपालिका ५ का जनक बडालले १५ वर्षदेखि खेतमा उत्पादन गरेको भटमास बिक्री गरेर चामल खरिद गर्दै आएको बताए । व्यास, दुहु, नौगाड, अपीहिमाल र मार्मा गाउँपालिकाका उच्च पहाडी भागमा विभिन्न प्रकारका दालको उत्पादन राम्रो हुन्छ ।


त्यसैले पछिल्लो समयमा दलहन बालीकै खेती गर्नमा जोड दिन थालिएको नौगाड गाउँपालिका १, इयरकोटका धनसिंह ठगुन्नाले बताए । ‘भात खाने बानी परेकाले चामल किन्नुपर्ने बाध्यता छ,’ जैमतीले भनिन् ।

प्रकाशित : मंसिर २०, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्

रारा विमानस्थल : ४० वर्षमा पनि अधुरै

‘धावनमार्ग कालोपत्रे भएको ६ वर्ष पुग्यो तर घेरबार गरिएको छैन, भित्र पसेका पशुचौपाया धपाएर जहाज अवतरण गराइरहेका छौं’ 
राजबहादुर शाही

मुगु — निर्माण सुरु भएको चार दशकसम्म पनि ताल्चा (रारा) विमानस्थल पूरा भएको छैन । टर्मिनल टावर नबन्दा काठको टहरोमा उपकरण जडान गरी जहाज अवतरण गराइन्छ । हावा लाग्दा टर्मिनल टावर हल्लिन्छ । घेराबार नहुँदा विमानस्थलमा पसेका पशुचौपाया धपाएर जहाज अवतरण गराउने गरिएको छ ।

२०३६ सालबाट विमानस्थल निर्माणको काम थालिएको थियो । छायानाथरारा नगरपालिकास्थित ताल्चाका ५४ वर्षीय बाँचे महतरा विमानस्थल निर्माण सुरु हुँदा १६ वर्षका थिए । ‘रारा आउने पर्यटकलाई लक्षित गरी बनाइएको विमानस्थलको अवस्था झन् नाजुक बन्दै छ,’ उनले भने, ‘४० वर्ष भयो अझै एयरपोर्ट पूरा भएन ।’ २०४९ सालमा १५ रुपैयाँ ज्याला लिएर विमानस्थल निर्माणमा मजदुरी गरेको उनले सुनाए ।

०६० सालमा परीक्षण गरिएको विमानस्थलमा २०६३ देखि नेपाल एयरलाइन्सले उडान भर्न सुरु गरेको थियो । धावनमार्गनजिकै काठको टहरो बनाइ टर्मिनल टावर सञ्चालन गरिएको छ । २०७२ मा ५ सय ७० मिटर लामो र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गरिएको थियो । धावनमार्ग कालोपत्रे भए पनि टर्मिनल टावर, यात्रु चेकजाँच कक्ष र सुरक्षा पोस्ट स्थापना नहुँदा यात्रुले वर्षौंदेखि सास्ती भोगिरहेका छन् ।

राराताल हेर्न आउने अधिकांश पर्यटक यही विमानस्थल भएर आउँछन् । निजी एयरलाइन्सले अहिले प्रदेश राजधानी सुर्खेत र नेपालगन्जबाट दैनिक ४ उडान भर्दै आएका छन् । केही समययता मानसरोवर यात्रामा जाने भारतीय पर्यटकको चाप बढे पनि विमानस्थलको अवस्था सुधार नहुँदा समस्या भइरहेको छ । विमानस्थल प्रमुख मोहन गिरीले पूर्वाधार अभावले लामो समयदेखि कर्मचारी, सुरक्षाकर्मी र यात्रुले दुःख भोग्दै आएको बताए । विमानस्थलमा विश्राम कक्ष नहुँदा यात्रु घण्टौं चौरमा बसेर जहाज कुर्न बाध्य छन् । एकैपल्ट दुई जहाज आए यात्रु जाँचमा पनि समस्या हुने गरेको उनी बताउँछन् ।

‘धावनमार्ग कालोपत्रे भएको ६ वर्ष पुग्यो, तर घेरबार गरिएको छैन,’ उनले भने, ‘धावनमार्गमा पसेका पशुचौपाया धपाएर जहाज अवतरण गराइरहेका छौं ।’ घेरबार नहुँदा सुरक्षा दिन कठिनाइ भएको विमानस्थल सुरक्षा गार्डका इञ्चार्ज शोभाराम चौधरीको गुनासो छ । विमानस्थलको सुरक्षाका लागि १५ प्रहरी खटिएको उनले जानकारी दिए । ताल्चा गाउँका स्थानीय गमगढी जान धावनमार्गबाटै हिँड्छन् । रारा घुम्न आएका पर्यटकले धावनमार्गमै पार्किङ गर्दा कालोपत्रे उप्किने जोखिम छ । सरकारी भवन नहुँदा धावनमार्गदेखि १५ मिनेट पैदल दूरीमा निजी घर भाडामा लिएर सुरक्षा पोस्ट राखिएको चौधरीले गुनासो गरे ।

बर्खामा बर्सेनि पहिरो खस्न थालेपछि विमानस्थल जोखिममा परेको गिरी बताउँछन् । ‘असार/साउनमा सधैं माथिबाट पहिरो खस्छ,’ उनले भने, ‘पहिरो र भेल पन्छाएर जहाज बसाउनुपर्ने बाध्यता छ ।’ उनले पहिरोका कारण पार्किङ क्षेत्र साँघुरिँदै गएको जानकारी दिए । पहिरो रोकथामका लागि सरकारी निकायले चासो नदिएको उनको आरोप छ ।

गोमा एयरका स्टेसन इन्चार्ज महेन्द्र भामले दुई जहाज अट्ने गरी बनाइएको पार्किङस्थल साँघुरिदै गएको जनाए । उनका अनुसार अहिले २ जहाज एकैपटक पार्किङ गर्न समस्या छ । विमानस्थल व्यवस्थित गर्न पटकपटक विभिन्न निकायको ध्यानाकर्षण गराए पनि बेवास्ता भइरहेको उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा बताउँछन् ।

विमानस्थल निर्माणमा करिब २७ करोड रुपैयाँ खर्च भइसकेको छ । यस वर्ष टर्मिनल टावर र पहिरो रोकथामका लागि केही संरचना निर्माण गरिने विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले बताए । चालु आवमा विमानस्थलका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन भएको उनको भनाइ छ । आयोजनाका अनुसार टर्मिनल भवन निर्माणका लागि ओम बुद्ध कन्ट्रक्सन र पहिरो रोकथामका लागि हिम–सगरमाथा कन्स्ट्रक्सनसँग सम्झौता भइसकेको छ ।

विमानस्थल सुधारका लागि बर्सेनि विभिन्न काम भए पनि गुणस्तरीय बन्न नसकेको प्रतिनिधिसभा सदस्य गोपाल बमले बताए । पूर्वाधार अभावले दुर्घटनाको जोखिम बढिरहेको उनको भनाइ छ । विमानस्थल कार्यालयका अनुसार धावनमार्गमा चिप्लिएर यसअघि ३ जहाज दुर्घटनामा परिसकेका छन् । धावनमार्गअघि ठूलो पहाड भएकाले जहाज अवतरण र उडानमा निकै सचेतता अपनाउनुपर्ने विमानस्थल कर्मचारीको भनाइ छ ।

हुम्लाको सर्केगार्ड, अदानचुली र जुम्लाको कनकासुन्दरी गाउँपालिकाका बासिन्दाले समेत रारा विमानस्थलबाटै यात्रा गर्दा चाप बढिरहेको विमानस्थल कार्यालयले जनाएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्मा–गमगढी सडक कालोपत्रे नहुँदा यात्रुको चाप बढ्दै गएको हो ।

विमानस्थलमा पूर्वाधार अभाव हुँदा सोचेजति विदेशी पर्यटक रारामा भित्र्याउन नसकेको नेपाल भ्रमण वर्ष २०२० का कर्णाली प्रदेश संयोजक राजु कार्की बताउँछन् । ‘विमानस्थल व्यवस्थित बनाउन सके मात्र नेपाल आउने करिब ४० प्रतिशत विदेशीलाई रारा ल्याउन सकिन्थ्यो,’ उनले भने, ‘मानसरोवर तीर्थयात्रामा आउने अधिकांश भारतीय पर्यटकले रारा हेर्न खोजे पनि विमानस्थलकै समस्याले उनीहरूलाई भित्र्याउन सकिएको छैन ।’

उनका अनुसार विमानस्थलमा शौचालय र खानेपानीको अभाव छ । शौचालय नहुँदा विमानस्थल आसपासको क्षेत्र खुला शौचले दुर्गन्धित बनेको उनले जनाए । स्थानीयका अनुसार निजी एयरलाइन्सका कार्यालय विमानस्थलनजिक नहुँदा यात्रुले थप सास्ती भोग्दै आएका छन् ।

प्रकाशित : मंसिर २०, २०७६ १०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×