कालापानी विषय सुरुमा नै अन्तर्राष्ट्रियकरण गरिएमा समस्या जटिल बन्छ : दाहाल

रासस

धनगढी — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोसिस गर्नुपर्ने बताएका छन् । प्रेस संगठन नेपालद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पाइँदैन, आवश्यक छैन भन्ने भाषामा आफूले नभनेको बताउँदै सुरुमा नै अन्तर्राष्ट्रियकरण गरिएमा समस्या झन् जटिल बन्ने बताए । 

सर्वपक्षीय सर्वदलीय बैठकको सुझव अनुसार नै सरकारले सो विषयमा भारतलाई पत्र पठाएको बताउँदै त्यसको जवाफ भने आइनसकेको बताए । पत्रकारको प्रश्नमा दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सर्वपक्षीय सर्वदलीय बैठक गरेर सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको बताउँदै भने, ‘लिम्पियाधुरा नै महाकाली नदीको मुहान हो, महाकाली सीमा नदी हो, यसमा कहीँ कतै अन्योल छैन ।’


उनले प्रधानमन्त्री अस्पतालमा उपचाररत रहेको अवस्थामा अर्का अध्यक्षले अध्ययन भ्रमणमा जाने कुरा स्वाभाविक नदेखिँदा हाललाई चीन भ्रमण स्थगन गरिएको स्पष्ट पारे । पूर्वप्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र निर्वाचनका चरणपछि अब अलि बढी ध्यान राज्यद्वारा विगतमा पछि पारिएका क्षेत्रका जनताको विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ भन्ने पार्टीको नीति रहेको स्पष्ट पारे । मन्त्रिपरिषद् पुनःगठनपछि सरकारको काममा गति आउने अपेक्षा र विश्वास जनता, सरकार र पार्टीले गरेको पनि उनले बताए ।

प्रकाशित : मंसिर १९, २०७६ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्

नेपाललाई कीर्तिमान ३२ स्वर्ण, संख्याको आधार सर्वाधिक सफल संस्करण

राजु घिसिङ

काठमाडौँ — साइक्लिङको क्रस कन्ट्री स्पर्धामा पुरुषतर्फ बुद्धि बहादुर तामाङले स्वर्ण जितेसँगै नेपालको लागि पदक संख्याको हिसाबले सबभन्दा सफल दक्षिण एसियाली खेलकुद (साग) बनेको छ १३ औं संस्करण । बुद्धिले नेपालाई यो सागमा १३ औं स्वर्ण दिलाएका हुन् । काठमाडौंमै २० वर्षअघि आयोजित आठौं साग (तत्कालीन साफ गेम्स) मा जितेको ३१ स्वर्णको कीर्तिमानलाई यसपाली उछिनेको हो ।

१३ औं सागको पाँचौं दिन बिहीबार नेपाललाई उसुको थाउलुमा निमा घर्तीमगर, साइक्लिङको क्रसकन्ट्रीमा पुरुषतर्फ बुद्धि बहादुर र महिलामा लक्ष्मी मगरले स्वर्ण दिलाएका हुन् । नेपालले तेक्वन्दोमा ६ स्पर्धा बाँकी छँदै सबभन्दा बढी १२ स्वर्ण हात पारेको छ भने बुधबार सकिएको करातेबाट ९ स्वर्ण भित्र्याएको छ । त्यस्तै, उसु र साइक्लिङमा ४–४ स्वर्ण जितेको छ । ट्रायथलनमा २ र एथलेटिक्समा १ स्वर्ण जितेको छ ।

सन् १९८४ मा काठमाडौंबाट सुरु भएको दक्षिण एसियाली खेलकुदको सबभन्दा प्रतिष्ठित् बृहत् प्रतियोगिताको पहिलो संस्करणमा नेपालले ४ स्वर्ण जितेको थियो । त्यसपछिका ६ संस्करणबाट जम्मा ११ स्वर्ण भित्र्याएको नेपालले सन् १९९९ मा काठमाडौंमा भएको आठौं साफ गेम्समा ३१ स्वर्णसहित पदक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो, जुन हालसम्मकै सबभन्दा राम्रो हो ।

पहिलो साफ गेम्समा ५ खेलमात्र समावेश थियो भने आठौंमा १२ खेल । यसपाली २६ खेल । त्यसैले बढ्दो खेल र स्पर्धाबीच स्वर्णकै संख्याको आधारमा १३ औं संस्करणलाई ३५ वर्षको इतिहासमा नेपालको लागि सर्वाधिक सफल संस्करण मान्ने आधार भने छैन ।

कराते र तेक्वन्दोले सागमा प्रवेश गरेसँगै नेपालको स्वर्ण संख्या बढेको हो । पहिलोपल्ट तेक्वान्दो र करातेलाई सागमा समावेश गरिँदा १९९९ मा नेपालले ती दुई खेलबाट १४–१४ स्वर्ण हात पारेको थियो । त्यसपछि उस्तै सफलता नेपालले पाएन । तीन वर्षअघि गुवहाटी–सिलोङमा भएको १२ औं संस्करणमा ३ स्वर्णमै सीमित भएको थियो । तेस्रोपल्ट साग आयोजना गर्दा नेपालले कीर्तिमान ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

प्रकाशित : मंसिर १९, २०७६ १६:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×