कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दुर्गन्धित बन्दै नदी र बजार क्षेत्र

मेनुका ढुंगाना

(अछाम) — फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा यहाँका बजार क्षेत्र र नदी–खोलाहरू दुर्गन्धित बन्दै गएका छन् । सदरमुकाम मंगलसेन, मुख्य व्यापारिक केन्द्रहरू साँफेबगर, कमलबजार, विनायकमा फोहोर व्यवस्थापन स्थल (डम्पिङ साइट) छैनन् ।

सदरमुकाम मंगलसेनबाट झन्डै ७ किमि टाढा रहेको सिराडीमा निर्माण गरिएको डम्पिङ साइटमा फालिएको फोहोरले दुर्गन्ध फैलिएर समस्या भएको स्थानीयको गुनासो छ । मंगलसेन नगरपालिका बनेको ५ वर्ष बिते पनि हालसम्म फोहोर फाल्ने ठाउँको व्यवस्थापन हुन सकेको छैन । पटक–पटक फोहोर व्यवस्थापन हुनुपर्ने भन्दै स्थानीयले आलोचना गर्दै आए पनि मानव बस्तीबाट निस्कने फोहार व्यवस्थापन भने जटिल बन्दै गएको छ ।

डम्पिङ साइटको तलपट्टि पानीको मुहान भएकाले बर्खामा खोलाको पानीमा फोहोर मिसिने समस्यासमेत उत्तिकै रहेको स्थानीय खगेन्द्र भण्डारी बताउँछन् । ‘गाउँको छेउमै फोहोर हुँदा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ,’ उनले भने, ‘त्योभन्दा तल गाईगोरुलाई पानी खुवाउने, नुहाउने, कपडा धुने भएकाले झन् समस्या भएको छ ।’


५ वर्षअघि स्थानीयले जग्गा दान गरी निर्माण गरिएको डम्पिङ साइटमा खुला रूपमा फोहोर फाल्ने गरे पनि व्यवस्थित भने अझै हुन सकेको छैन । फोहोरका कारण नजिकै रहेको धार्मिक क्षेत्र र आसपासका गाउँ प्रभावित भएका छन् । सदरमुकाममा जम्मा भएको फोहोर फाल्ने डम्पिङ साइट गाउँको बीचमा र सडक छेउमा रहेको भन्दै अर्को स्थानमा सार्नुपर्ने स्थानीयको माग पहिल्यैदेखिको हो । गाउँ जाने सडक पनि डम्पिङ साइटको छेउमै छ । त्यसबाट ओहोर–दोहोर गर्ने बेला पनि दुर्गन्ध सहनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । साँफेबगरछेउको बूढीगंगा नदी र आसपासका खोला पनि दूषित बन्दै गएका छन् । प्रभाली, छिपेखोला र बुढीगंगा फोहोर फाल्ने ठाउँ बनेका छन् ।


‘पहिले यहाँका खोला नदीमा माछा मार्नेको भीड हुन्थ्यो । नुहाउने ठाउँ पनि यिनै खोला र नदी थिए । अब भने खोलाभरि मदिराका बोतल र प्लास्टिकबाहेक केही देखिँदैन,’ साँफेबगर नगरपालिका ३ का रुपबहादुर कुवँरले भने, ‘खुला दिसामुक्त जिल्ला घोषणा भए पनि खोलाहरूमा दिसा–पिसाब देखिन छाडे पनि अहिले बजारबाट निस्किएको फोहोर र मदिराका बोतलको थुप्रो देखिन्छ ।’ बजारको फोहोर फाल्ने ठाउँ नभएकाले समस्या भएको उनले बताए । उनका अनुसार कतिपय ठाउँमा त बीच बजारमा फोहोरको थुप्रो लागेको देखिन्छ ।


खोलामै फोहोर विसर्जन

स्थानीयका अनुसार खोलाहरूमा पानी कम तथा सिसा र प्लास्टिक बढी देखिन थालेको छ । कृषकहरू गाईवस्तुहरूलाई पानी खुवाउन खोला र नदीमै जाने गर्छन् ।


प्रकाशित : मंसिर १८, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?