६ करोडका ३२ योजना

कान्तिपुर संवाददाता

दार्चुला — स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत दार्चुलालाई प्राप्त बजेटको बाँडफाँड गरिएको छ । प्रतिनिधि सभाको एउटा मात्रै निर्वाचन रहेको जिल्लामा ६ करोडका ३२ योजना तथा कार्यक्रम छनोट गरिएको हो ।

जिल्लामा प्राप्त स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ३२ योजना छनोट गरिएको जिसस दार्चुलाका समन्वय अधिकारी मोहनसिंह धामीले जानकारी दिए । जसमध्ये महाकाली नगरपालिकामा ७, दुहू गाउँपालिकामा ६, नौगाड गाउँपालिकामा दुई, लेकम गाउँपालिकामा ३ योजना छनोट गरिएको छ । त्यस्तै मालिकार्जुन गाउँपालिकामा ३, व्यास गाउँपालिकामा ६ योजना छनोट गरिएको छ । महाकाली नगरपालिकास्थित उद्योग वाणिज्य संघको भवन निर्माणको योजना छनोट गरिएको छ । शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाले एक/एक योजना छनोट गरिएको छ । यी ३ वटै स्थानीय तहमा ५०/५० लाख मात्रै बजेट विनियोजन गरिएको छ । विकासे बजेट छरेर थोरै बजेट विनियोजन गर्दा जनताले अनुभूति गर्न सक्ने गरी विकास नहुने भन्दै एउटै योजना छनोट गरिएको उनीहरूको भनाइ छ ।


सरकारले एक निर्वाचन क्षेत्रलाई यो वर्ष ६ करोड बजेट दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त कार्यक्रमअन्तर्गत बजेटको सीमाभित्र रहेर योजना छनोट गरी कात्तिक मसान्तसम्म मन्त्रालयमा पठाउन जिससको कार्यालयलाई पत्राचारसमेत गरेको थियो । सांसद कोषको रकम प्राय:जसो घोडेटो बाटो निर्माणदेखि स्वास्थ्यचौकी भवन, लघु जलविद्युत्, विद्यालय भवन निर्माण तथा सुधारका योजनाहरूमा बाँडफाँड गरिएको हो ।

प्रकाशित : मंसिर १८, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्

लैंगिक हिंसाविरुद्ध एकजुट

वसन्तप्रताप सिंह

(बझाङ) — छिमेकीका घरमा पतिले पत्नी कुटपिट गरिरहँदा पनि अर्काको झगडामा बोल्न हुँदैन भनेर चुप लागेर बस्ने ग्रामीण भेकका महिलाहरू हिंसाविरुद्ध एकजुट हुन थालेका छन् । अधिकारबारे सचेत हुन थालेपछि आफू पनि हिंसा नसहने र अरु माथि भएको हिंसाविरुद्ध पनि आवाज उठाउन थालेका छन् ।

तल्कोट गाउँपालिका १, सुनिकोट गाउँका महिलाहरू हिंसाविरुद्ध अरु भन्दा अगाडी देखिएका छन् । महिलाहरू एकजुट हुन थालेपछि गाउँमा लैंगिक हिंसाका घटनाहरू पनि कम हुँदै गएको यहाँका महिलाको अनुभव छ । ‘कसैले महिलामाथि हिंसा गरेको थाहा पाउनेबित्तिकै हामी सबै पुगेर सम्झाउने गरेका छौं,’ स्थानिय सुन्दरी कुँवरले भनिन्, ‘महिला एकजुट भएकाले होला । हत्तपत्त कसैले पनि यस्तो गर्ने आँट गर्दैनन् ।’ उनले कसैले हिंसा गर्न लागेको थाहा पाए गाउँका महिला गएर सम्झाउने र चोटपटक लाग्ने गरी कुटपिट गरेको रहेछ भने पहिलो पटकलाई पीडितसँग माफी मगाउने, पटक–पटक त्यस्तै हर्कत दोहोर्‍याउनेलाई कारबाहीका लागि प्रहरी प्रशासनसम्म पुग्ने गरेको बताइन् ।

उसो त महिनावारी भएका महिलालाई घरभित्रै राख्ने र खानामा विभेद नगर्ने गाउँको रुपमा पनि सुनिकोटले जिल्ला भरी आफ्नो परिचय बनाएको छ । महिनावारी हुँदा गाउँभन्दा ५/६ सय मिटर टाढा बनाइएका साँघुरो गोठमा बस्दै आएका उनीहरू छाउ भएको समयमा घरभित्रै बस्न थालेको २ वर्ष भन्दा बढी भैसकेको छ ।

विभिन्न संघ संस्था, गाउँपालिका र वडा पालिकाको निरन्तरको प्रयास पछि यहाँका महिलाहरू सदियौंदेखिको अन्धविश्वास तोड्न सफल भएका हुन् । स्थानीय प्यारीदेवी बम्मले पहिला महिनावारी हुँदा घरको आँगन भन्दा ३ सय मिटर टाढा बस्नु पर्ने, पानीका धारा छुन नदिनेलगायत धेरै समस्या झेले पनि अहिले आफ्नी बुहारी र छोरीलाई घरभित्रै बसाल्ने गरेको बताइन् । उनले जीवनका ३५ वर्षसम्म हरेक महिनाको ७ दिन छाउगोठमै बसेर यातना पाएको बताउँदै छोरी–बुहारीलाई त्यसबाट बचाउन सकेकोमा खुसी व्यक्त गरिन् । ‘गाई–भैंसीको दूध खान त परै जाओस् छुन पनि पाइदैनथ्यो,’ उनले भनिन, ‘अहिले यहाँका सबै महिला महिनावारी भएका बेला गोरस खान्छन्, घर
भित्रै बस्छन् ।’

झन्डै ५ वर्ष अघिदेखि साबिक सुनिकोट गाविस, हाल वडापालिका र अन्य संघ–संस्थाको सहयोगमा विभिन्न खालका चेतनामूलक कार्यक्रम गरेपछि नतिजा देखिन थालेको सुनिकोटका वडाध्यक्ष गोपाल धामीले बताए । ‘हामीलाई छाउपडी मुक्त, हिंसा मुक्त वडाका बासिन्दा हौ भनेरभन्दा अहिले पनि धेरैले पत्याउँदैनन्,’ उनले भने, ‘जब यहाँ आएर आफ्नै आँखाले देख्छन् । सबैले धन्यवाद दिएर जाने गरेका छन् ।’ उनले यहाँका महिला मात्र नभएर पुरुष पनि सचेत र सहयोगी भएका कारणले लैंगिक विभेद हटाउन सकिएको बताए ।

प्रकाशित : मंसिर १८, २०७६ १०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×