कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

चुरेमा मापदण्डविपरीत खोटो संकलन : मासिँदै सल्लेरी वन 

मोहन बुढाऐर

(मोहन्याल, कैलाली) — कैलालीको चुरे क्षेत्रमा मापदण्डविपरीत भइरहेको खोटो संकलनले सल्लाको वन मासिँदो क्रममा छ । समूहको आम्दानी गर्ने नाममा चुरेका २० भन्दा बढी सामुदायिक वनले खोटो संकलनको ठेक्का दिँदै आएका छन् । खोटो संकलन कार्यविधि २०६४ विपरीत भइरहेको दोहनले सल्लेरी वन नासिँदै गएकामा संरक्षणकर्ताहरूले चिन्ता जनाएका छन् ।

चुरेमा मापदण्डविपरीत खोटो संकलन : मासिँदै सल्लेरी वन 

मोहन्याल गाउँपालिकाका संरक्षणकर्ता लोकबहादुर घर्तीले जथाभावी भइरहेको खोटो संकलन तुरुन्त बन्द गर्नुपर्ने बताए । ‘१५/२० वर्षको भर्खरको सल्लाको रूखबाटसमेत खोटो निकाल्ने काम भएको छ,’ उनले भने, ‘एउटै रूखबाट मापदण्डविपरीत लगातार १० वर्षदेखि खोटोको दोहन भएको छ ।’ उनले खोटो बढी झिक्ने उद्देश्यले मापदण्डविपरीत सल्लाको गडलिंग गर्ने गरेको पनि देखिएको बताए । उनका अनुसार चारैतिरबाट बोक्रा निकालेर खोटो निकाल्ने तरिकालाई प्राविधिक शब्दमा गडलिंग भनिन्छ । गडलिंग भएका रुखहरू सुकेका छन् । खोटो संकलन कार्यविधिमा ३ फिट गोलाइ भएको सल्लाको रुखबाट पहिलोपटक ३ किलोभन्दा बढी निकाल्न पाइँदैन । तर यहाँ ३ फिट भन्दा कम गोलाइ भएका रुखबाट खोटो निकालेको सल्लेरीको वनमा प्रशस्त देख्न सकिन्छ ।


कार्यविधिमा पहिलो वर्ष खोटो निकालेको रुखबाट दोस्रो वर्ष संकलन गर्दा त्यसैको माथि अर्को टुकी थप्नुपर्ने हो । तर गडलिंग गर एउटै सल्लाको रुखमा २ भन्दा बढी टुकी लगाएर खोटो संकलन गर्ने गरेका छन् । ‘यसले रुख सुकेर जान्छ नै,’ लोकबहादुरले भने, ‘आगलागी हुने समस्या बढाएको छ ।’ कैलालीको पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गत साबिकको पन्डौन गाविस ७, सुगरखालको १ र फल्लेबिसौनामा २ गरी १० सामुदायिक वनबाट यो वर्ष खोटो संकलनको काम सुरु भएको छ । गत वर्ष त्यस क्षेत्रका ६ सामुदायिक वनबाट १ लाख ६३ हजार ९ सय किलो खोटो संकलन भएको थियो ।


त्यस्तै धनगढी वन डिभिजन कार्यालयअन्तर्गत पर्ने चुरेको १३ सामुदायिक वनबाट खोटो संकलन भएको छ । खोटो प्रतिकिलो १२ रुपैयाँका दरले सामुदायिक वनले बेच्दै आएका छन् । यस क्षेत्रका सानमुदायिक वनबाट दिव्या रोजिन एन्ड टर्पेन टाइन र भवानी केमिकल्स कम्पनीले खोटो संकलन गर्दै आएका छन् । एउटा सामुदायिक वनबाट ५ सय किलोसम्म खोटो संकलन हुने गरेको छ ।


डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले नियम र मापदण्डविपरीत खोटो संकलन भएको पाइए कारबाही गरिने बताए । ‘समयसमयमा अनुगमन/नियमन भइरहेको छ,’ उनले भने, ‘पछिल्लो समयमा मापदण्डविपरीत खोटो संकलन भएको भए, खोटो संकलनमै प्रतिबन्धसमेत लगाउन सकिन्छ ।’ उनले तुरुन्तै अनुगमन र नियमन गरिने जानकारी दिए ।

प्रकाशित : मंसिर १८, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?