थलिइन् १२१ वर्षीया

कान्तिपुर संवाददाता

डडेलधुरा — पटक पटक पनातीको छोरा समात्न खोज्छिन्, सक्दिनन् । आफैंलाई उठाएर भित्र–बाहिर गर्नुपर्ने उमेरमा पनि उनलाई पनातिका सन्तान खेलाउने रहर जाग्छ । कान सुन्दिनन्, आँखा राम्ररी देख्दिनन् । कसैले सार्वजनिक कार्यक्रममा लैजान खोज्यो भने उनको आँखामा देखिने उत्साह बेग्लै हुन्छ । समयसमयमा प्रमुख जिल्ला अधिकारीलगायतका जिल्लाका प्रमुख ब्यक्तिहरू भेट्न आउँछन् ।

केही वर्षअघिसम्म जिल्ला स्तरमा हुने राष्ट्रिय कार्यक्रममा उनलाई पनि अतिथिका रूपमा सकभर सहभागी गराइन्थ्यो । पहिलो संविधानसभा निर्वाचनमा १०९ वर्षको उमेरमा मतदान गरेर चर्चा पाएकी पार्वती खड्का १२१ वर्षको उमेरमा अहिले भने घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा छिन् ।

उग्रतारा मन्दिरदेखि तीन किलोमिटर दुरीमा उग्रतारा–मेलौली राजमार्गसँगै जोडिएको डडेलधुराको अमरगढी नगरपालिका–६ मा पर्ने भजनेउटा गाउँकी खड्का दुई वर्षअघिसम्म राम्ररी कुरा गर्थिन् । शताब्दीअघिका धेरै घटना उनलाई स्मरण थिए । पछिल्लो समय भने उनको स्मरण शक्ति पनि कमजोर भएको छ । घरीघरी बच्चाजस्तो व्यवहार गर्छिन् । कुनै बेला पुराना कुरा सम्झने गर्छिन् । उग्रतारा–मेलौली राजमार्गमा ओहरदोहर गर्ने अधिकांश उनको घरमा पुग्छन् । ती वृद्ध आमाको दर्शन गर्छन् । पुराना कुरा सोध्छन् र आशीर्वाद लिएर फर्कने गर्छन् । लोकतन्त्र स्थापना भएको दिन २०६३ चैत ११ मा डडेलधुरामा भएको पहिलो विजय सभामा उनी प्रमुख अतिथि थिइन् । त्यसपछिका धेरै राष्ट्रिय कार्यक्रममा जिल्ला प्रशासन कार्यालय र तत्कालीन जिल्ला विकास समितिले पनि उनलाई नै प्रमुख अतिथि बनाउने गर्थे । १०९ वर्षको उमेरसम्म उनी सक्रिय थिइन् । त्यसपछि थला पर्दै गइन् । अहिले अधिकांश समय उनलाई चेतना हुँदैन ।

सामान्य चेत फर्कनेबित्तिकै पनातिको छोरालाई खोज्छिन । ‘अब धेरै कुरा स्मरण नै रहेनन् बज्यैलाई,’ ४० वर्ष पार गरिसकेका उनका नाति सुरेश खड्काले भने, ‘७/८ वर्ष भयो अब त भने दिसापिसाब गराउन पनि बोकेर लैजानुपर्छ ।’

प्रकाशित : मंसिर १५, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

डुंगामा वारिपारि

कान्तिपुर संवाददाता

बाँके — रानी मौर्यलाई छोरीको बिहे गरिदिने चटारो छ । बुधबार बिहान घरधन्दा सकेर उनी झोला बोकी किनमेलका लागि बजार लागिन् । नरैनापुर गाउँपालिका–६, मटहिया बस्ने उनलाई नेपालगन्जभन्दा छिटो र छरितो सीमामै रहेको भारतमा जान लाग्छ । सजिलो बाटो जान नाकै डुबाउने गहिरो राप्ती नदी पार गर्न चुनौती छ । तर, त्यहाँ डुंगाको सहायताले उनी सहजै भारत आउजाउ गर्न सक्छिन् । 

बुधबार दिनभरि किनमेल गरेर उनले घर फर्किंदा झोलाभरि बिहेमा छोरीलाई लगाइदिने चुरा, सिंगारका सामग्री र पहिरन खरिद गरेकी थिइन् । ‘हामी चुडिया खरिदन पनि इन्डिया नै जान्छौं,’ उनले आफ्नै लबजमा भनिन्, ‘डुंगा चढ्के ।’

नेपालगन्जदेखि नरैनापुर गाउँपालिका ३० किलोमिटरको दूरीमा छ । हुलाकी सडकको निर्माणसँगै यहाँका स्थानीयलाई नेपालगन्ज आउन झन्डै एक घन्टा लाग्छ । नरैनापुर मटहिया र भारतको सीमामा पर्ने जमुनिहा नजिक छ । दुवै छिमेकी देशका नागरिक यही डुंगाको सहारामा वारपार गर्दै आएका छन् । अझ भनौं यी दुई मुलुकको मित्रता जोड्ने पुल यही डुंगा बनेको छ । माइती भारतमै भएकी रानी हप्तामा दुई–चार दिन आउने जाने गर्छिन् ।

हिउँदभर बर्खाभर उर्लंदो नदी काटेर माइत जाने सम्भावना थिएन । हिउँद लागेपछि उनी डुंगाकै भरमा सीमापारि आउन जान सजिलो भएको सुनाइन् । ६० वर्षे तिरथराम यादव सीमापारि बिहे गरेकी बहिनी भेट्न बधुबार त्यसतर्फ जाँदै थिए । झन्डै डेढ कोष दूरीको नदी पार गर्न उनी डुंगाको सहारा लिन्छन् । यति मात्रै होइन, अरु बेला भैंसी चराउनसमेत डुंगाको प्रयोग गर्ने उनले बताए । नदीपारि रहेको डेढ कट्ठा बगरे जमिन छ । त्यहीं गाईबस्तु चराउने र केही खेती गर्न उनी दैनिक भैसीसहित नदी वारपार गर्ने गरेको सुनाए । भैंसी, मोटरसाइकल, मान्छे सबै बोक्छ डुंगाले ।

बाँकेको डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका भारतको सीमामा पर्छन् । जहाँ राप्ती नदीको कटान भएको क्षेत्र छ, त्यहाँको जनजीवन अझै पनि डुंगाकै भरमा चल्दै आएको छ । नातादेखि व्यापारसम्मको सम्बन्ध दुवै छिमेकी देशमा छ । त्यसैले उनीहरू सजिलो र छरितो हुने बाटो रोज्ने गर्छन् । डुंगा सञ्चालक ठेकेदार बाउरेली मुकेरीको राप्ती नदीसँग बेग्लै कथा छ । उनी बगिरहेको नदी देखाउँदै भन्छन्, ‘यहि हमार खेत छ ।’ सात वर्षअघि मुकेरीले खेती गर्ने जमिनमा अहिले राप्ती नदी बग्छ । राम्रो धान हुने खेत नदी बनेपछि उनले आय आर्जनको बाटो पत्ता लगाउन विवश भए । झन्डै चार बिघा जमिनमा नदी बग्न थालेपछि उनले त्यही नदीमा आम्दानीको स्रोत जुटाउन थाले । डुंगा ठेक्कामा लिएर एक वर्षमा १२ लाख रुपैयाँमा ठेक्का लिएको उनले सुनाए । दैनिक दुई हजारभन्दा बढी मान्छेको आउजाउ हुने हुँदा आम्दानी सन्तोषजनक छ । वर्षैपिच्छे नदी कटानले बचेको जमिन बगर बनाउँदै गरेको उनले प्रत्यक्ष देख्दै आएका छन् ।

डुंगा चालक पृथ्वीराज गोडिया बिहान ६ बजेदेखि ५ बजेसम्म नदीमै बस्छन् । ६ वर्षदेखि जागिर खाँदै आएका उनी दैनिक ३ सय रुपैयाँ ज्याला लिन्छन् । सुरुका दिनमा हाते डुंगा चलाउने उनले केही महिनायता मोटरद्वारा नदी पार गर्न थालेको बताए । ‘हातले चलाउँदा कहिलेकाहीं खस्ने खतरा हुन्थ्यो,’ उनले भने, ‘अहिले त्यो खतरा कम छ ।’ एक जना यात्रुको ३० रुपैयाँ नेपाली शुल्क लिने गरेको उनले सुनाए । समिन मुकेरीले डुंगा डुवानीकै भरमा नरैनापुरमा किराना पसल धानेका छन् । उनी यही डुंगाको भरमा व्यापार गर्छन् । नेपालगन्ज जाँदा र आउँदा समयको खर्चसँगै महँगो पर्छ । त्यसैले उनी डुंगा तरेरै भारत किनमेल गर्ने गरेको सुनाए । उनका अनुसार भाडा र सामान गरी नेपालगन्जको तुलनामा १० प्रतिशतले सस्तो पर्न आउँछ । त्यस्तै, भारतदेखि पनि डुंगा तरेरै नेपाल आउनेको संख्या उत्तिकै बढी छ ।

बिहेबारीदेखि ऋण लेनदेनसम्मको सम्बन्ध सीमा वारिपारि चल्छ । आधी बाटो मोटरसाइकलमा आउने र नदीको बीच भागमा डुंगाकै सहारामा मोटसाइकल सीमा पार गर्ने यहाँको दैनिकी छ । नेपालीसँग ऋण लेनदेन मिलाउन भारतबाट आएका जलन्धर यादव डुंगाकै साथ लिए । मोटरसाइकलमा आएका उनी नदीपार गर्न डुंगामा चढे । ‘डुंगामा मोटरसाइकल राखेर सीमापारि आएको पहिलो अनुभव हो,’ उनले भने । त्यस्तै, ३३ वर्षे रामकुमार यादव दैनिक ३० रुपैयाँ तिरेर घाँस काट्न सधैं नदीपारि जान्छन् । नदीपारि उनको एक बिघा जमिन छ । त्यसको रेखदेख गर्नुका साथै भैंसीलाई घाँस काटेर ल्याउन उनलाई डुंगा चढेर जानुपर्ने बाध्यता छ । ‘नजाऊँ खेतीपाती नदीपारि छ, जाऊँ दिनहुँ पैसा तिर्नु पर्छ,’ उनले भने, ‘नदीले न यता न उताको बनायो हजुर ।’

प्रकाशित : मंसिर १५, २०७६ १२:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×