३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

घर घरमा जर्सी गाई, दैनिक ४ हजार लिटर दूध बिक्री

डीआर पन्त

(आलिताल, डडेलधुरा) — डडेलधुराको आलिताल गाउँपालिका २ भित्रिसैनका दलबहादुर धामी दैनिक २० लिटर दूध बिक्री गर्छन् । बिहान उज्यालो नहुँदै घर नजिक सडकमा दूध लैजाने ट्यांकर आइपुग्छ । दुईवटा जर्सी गाई पालेका दलबहादुर साँझको दूधको खोया बनाएर बिक्री गर्छन । दुई जर्सी गाईबाट उनले दैनिक २ हजार कमाउँछन् ।

घर घरमा जर्सी गाई, दैनिक ४ हजार लिटर दूध बिक्री

‘५ सय खर्च कटाएर १५ सय दैनिक बचत हुन्छ,’ दलबहादुरले भने, ‘दैनिक ४ घण्टा पनि काम गर्नुपर्दैन, श्रीमतीले खेतबारीमा काम गर्छिन्, म गाईको सेवा गर्छु ।’ जर्सी गाईपालनले खेतीपाती तथा अन्य कुनै पनि काममा असर नपरेको धामी बताउँछन् । धामीले भने ‘कमाइ पनि राम्रो परिश्रम पनि कम ।’


आलिताल गाउँपालिकामा पर्ने गोदाम बजार छेकी धनादेवी कोली एकल महिला भएको ४ वर्ष भयो । रंगुन नदी छेउमा उनको सानो छाप्रो छ । दुई छोरा छन् । पतिको मृत्युपछि अलपत्र परेकी धनादेवीले गाउँपालिकाको सहयोगमा गाईपालन सुरु गरेपछि उनका दिन फिरेका छन् । एउटा जर्सी गाई पालेर उनी दैनिक १४ लिटरसम्म दूध बिक्री गर्छिन् । बुबाको मृत्युपछि विद्यालय जान छोडेका उनका दुवै छोरा पुन: विद्यालय जान सुरु गरेका छन् । नदी किनाराको छाप्रो छोडेर कोलीले भित्रिसैन नजिकै दुई रोपनी जग्गासमेत खरिद गरेकी छन् ।


डडेलधुराको भित्रीमधेस क्षेत्रमा पर्ने आलिताल गाउँपालिकाले उत्पादनमुखी कृषि कार्यलाई प्राथमिकता दिएर जर्सी गाई पालन कार्यक्रम सुरु गरेपछि एक बर्ष यता त्यस क्षेत्रमा जर्सी गाई नभएको घर भेट्टाउन मुस्किल भएको छ । साविकको आलिताल र गाँगखेत गाविस मिलेर वनेको आलिताल गाउँपालिका पशुपालनको सम्भावना भएको क्षेत्र भएकाले गाउँपालिकाले पहिलो बजेटमा नै पशुपालन र कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम लागू गरिएको थियो । कार्यक्रम सुरु भएको दुई वर्ष पनि नबित्दै आलिताल सुदूर पहाडी जिल्लाको पहिलो गाईपालन पकेट क्षेत्र बन्न पुगेको छ ।


‘गाउँपालिकाले सुरु गरेको कार्यक्रमलाई अन्तर्राष्ट्रिय दातृ निकाय यूएनडीपी, दुग्ध विकास संस्थान, कृषि ज्ञान केन्द्र र भेटनरीजस्ता सरकारी कार्यालयले पनि सहयोग गरेका छन्,’ आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले भने ‘ट्यांकरमार्फत दैनिक २५ सय लिटरभन्दा बढी दूध आलितालबाट धनगढी गइरहेको छ ।’ उनका अनुसार स्थानीय तह गठन भएलगत्तै पहिलो वर्षको नीति तथा कार्यक्रममा उत्पादनमुखी व्यवसायलाई विशेष प्राथमिकतामा राखेर गाईपालन सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष गुरुङले भने, ‘पशुपालनको प्रशस्त सम्भावना भएको क्षेत्र भएकाले चाँडै कार्यक्रमको प्रतिफल कृषकहरूले पाउन सुरु गरेका छन् ।’ उनले दुग्ध विकास संस्थानले जति दूध उत्पादन भएपनि खरिद गर्ने जिम्मा लिएपछि यस क्षेत्रमा जर्सी गाई नभएका कृषक कमै भेटिने बताए । गुरुङ भन्छन्, ‘पछिल्लो समय गाउँपालिकाको भित्री मधेस क्षेत्रमा मात्र ३ सयभन्दा बढी जर्सी गाईपालन भइरहेका छन् ।’


घरघरमा जर्सी गाईपालन सुरु भएपछि स्थानीय उपभोक्ता मिलेर आलितालको घरेलुमा दुग्ध चिस्यान केन्द्र स्थापना गरेका छन । बिहानीपख धनगढीबाट आउने ट्यांकरले दूध लैजाने गरे पनि साँझको दूध भण्डार गरेर अर्को दिन तराई पठाउने गरिएको छ । यति मात्र होइन चिस्यान केन्द्रसँगै दूधबाट बन्ने विभिन्नखाले परिकार बनाउने उद्योगसमेत स्थानीयले स्थापना गरेका छन् ।


‘यस वर्ष गाउँपालिकाको पहलमा थप एउटा ट्यांकर खरिद हुन थालेको छ’ गाउँपालिका अध्यक्ष गुरुङले भने ‘गाउँपालिकाको ५ लाख, दुग्ध बिकास संस्थानको २० लाख र थप युएनडीपीको सहयोगमा ४० लाख मूल्य बराबरको ट्यांकर खरिद गर्न बोलपत्र आह्वानसमेत भइसकेको छ ।’ गाईपालन कार्यक्रमअन्तर्गत गाउँपालिकाले घाँस उत्पादन, प्राविधिक सहयोग र औषधि उपचारको समेत व्यवस्था गरिदिएका कारण यस क्षेत्रका कृषक यसतर्फ बढी आकर्षित भएका छन् । कृषकलाई गाई खरिदमा अनुदानको समेत व्यवस्था स्थानीय तहले गरिदिएको छ । विभिन्न संघसंस्थाहरूले पनि समय समयमा विभिन्न खाले सहयोग गरिरहेको कृषकहरूले बताएका छन ।


‘सुरुसुरुमा जर्सी गाई पाल्न समस्या देखिएको थियो,’ कृषक दलबहादुरले भने, ‘बुझ्दै जाँदा परम्परागत रूपमा पालिएका पशुभन्दा जर्सीगाई पालन बढी सजिलो रहेछ ।’ दिनको ४ घण्टा सामान्य परिश्रमले दैनिक २ हजार कमाइ हुन थालेको देखेपछि अहिले जर्सी गाई नभएको घर भेटाउन मुस्किल भएको छ । उनी भन्छन्, ‘घरमै आएर नगद दूध खरिद गरेर लैजान्छन्, बाँकी रहेको दूधबाट बन्ने परिकार पनि सहज रूपमा बिक्री हुन्छ दूध जति उत्पादन गरे पनि बजार सहज रूपमा पाइने भएपछि यो पेसा लोकप्रिय बन्दै गएको छ ।’


स्थानीय तहको तथ्यांकमा २५ सय लिटर दूध उत्पादन भएको देखिए पनि यो तथ्यांक ट्यांकरमा धनगढीतर्फ जाने दूधको मात्र हो । यसबाहेक पनि एक हजार लिटरभन्दा बढी दूध स्थानीय स्तरमै बिक्री हुने गरेको छ । भित्री मधेसका गोदाम, घरेलु, केनपानी र लालढुंगा बजार मात्र नभई डोटीको छतिवनमा समेत आलितालबाट दैनिक सयौं लिटर दूध बिक्री हुने गरेको छ । आलितालमा दूध उत्पादन बढेपछि डोटीको बुडर बजारमा पनि चिस्यान केन्द्र खोलेर दूध संकलन हुन थालेको छ ।

प्रकाशित : मंसिर १५, २०७६ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?