कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्वास्थ्यचौकीमा पानी छैन, बोकेरै पुर्‍याउनुपर्ने बाध्यता

तृप्ति शाही

(बैतडी) — स्वास्थ्य संस्थाहरूमा २४ सैं घण्टा पानीको सुविधा हुनुपर्ने सरकारी मापदण्ड रहेको छ । सुत्केरी सुविधा भएका र अन्य स्वास्थ्य संस्थाहरूमा पनि प्रयाप्त पानी हुनुपर्ने हो । तर बैतडीका अधिकांश स्वास्थ्य संस्थामा पानीको हाहाकार छ । 

पानी बोकेर स्वास्थ्य संस्थाहरूको काम गर्नुपर्ने यहाँका स्वास्थ्यकर्मीहरूको बाध्यता छ । गाउँका स्थानीयले प्रयोग गर्ने पानीलेनै उनीहरूले गुजारा गरिरहेका छन् । टाढाटाढाबाट पानी बोक्नुपर्ने स्वास्थ्यसंस्थाहरू पनि धेरै छन् ।


पाटन नगरपालिका ४ मा रहेको भूमेश्वर स्वास्थ्यचौकीमा पानी छैन । बोकेरै पानी पुगाउनुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकीका अहेब जगदीश विकले बताए । स्वास्थ्यचौकीभन्दा तलको बजारमा रहेको पानी स्थानीयले प्रयोग गर्छन । त्यही पानी भर्नका लागि स्वास्थ्यका कर्मचारीहरू पनि पालो कुर्नुपर्छ । दिनको एक पटक बिहान मात्र आउने पानी भर्नका लागि कार्यालय सहयोगीहरू धारामा कुरिरहनुपर्ने अवस्था रहेको उनले बताए ।


स्वास्थ्य संस्थामा सुत्केरी सुविधा पनि उपलब्ध छ । भरेको पानी सुत्केरी अवस्थामा सरसफाइमा र कर्मचारीहरूलाई ठिक्कै हुन्छ । सुत्केरीहरू रग्ताम्य कपडा बोकेर घर लैजान्छन् । पानी नहुँदा सेवा प्रवाहका कठिनाइ हुने गरेको अनमी ज्योति सुनारले बताइन् । सुत्केरी गराइसकेपछि कसरी सरसफाइ गर्ने भन्ने चिन्ता हुने गरेको उनको भनाइ थियो ।


जिल्ला सदरमुकाममा पर्ने पुरानो नगरपालिका दशरथचन्द नगरपालिका १० को बाराकोट स्वास्थ्यचौकीमा पनि पानी छैन । स्वास्थ्यचौकी भन्दा अलि टाढा रहेको गाउँवासीले प्रयोग गर्ने पानीको भर पर्नुपर्ने अहेब सुरज भट्टले बताए । उनले भने, ‘बोकेरै जम्मा गरेर राखेको पानीले काम चलाउछौ । नजिकै भएको धारामा पनि नियमित पानी आउदैन । काम गरिसकेपछि हात धुन पनि पुगाउनुपर्ने समस्या छ । ’


भूमेश्वर र बाराकोट स्वास्थ्यचौकीमा मात्र होइन जिल्लाका धेरैजसो स्वास्थ्य संस्थाहरूमा पानीको सुविधा छैन । जिल्लामा ६५ वटा स्वास्थ्य संस्था, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र र १ अस्पताल छ । यस्तै, सामुदायिक स्वास्थ्य एकाइलगायतका अन्य स्वास्थ्य संस्थाहरू पनि छन् । तर, अधिकांसमा पानीको अभाव छ ।


२४ सैं घण्टा पानी हुनुपर्ने र चाहिने संस्थामा पानी बोकेर काम गर्नुपरिरहेको गुनासो सिगास गाउँपालिका ६ को थलाकाडा स्वास्थ्य चौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट भीमसिंह ऐरले गरे । उनले भने, ‘बोकेरै पानीको जोहो गरिरहेका छौ । जहिल्यै अभाव झेल्न परिरहेको छ । भरेको पानीले कति पो पुग्छ । कर्मचारी, सेवाग्राही, सुत्केरी सबैले प्रयोग गर्नै पर्‍यो । ’ सुत्केरी गराउनुपर्ने गर्भवतीहरू आएको समयमा झनै सबैले समस्या झेल्नुपर्ने उनले बताए । सुत्केरी हुन स्वास्थ्य संस्था जानुपर्ने गर्भवतीहरूलाई पानीको अभावले धेरै पिरोल्ने गर्छ ।


जिल्लाका धेरैजसो स्वास्थ्य संस्था पानीको अभावमा रहेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सूचना अधिकारी भुवन जोशीले बताए । ‘पानीको अभाव नभएका स्वास्थ्य संस्थाहरू त कमै छन् जिल्लामा । धेरैजसोमा समस्यानै छ,’ उनले भने, ‘संस्थामा पानी अभाव हुँदा सेवाप्रवाहमा गाह्रो नहुने कुरै भएन । ’ समस्या समाधानको प्रयास भईरहेको स्थानीय तहका प्रतिनिधीहरूको दावी छ । केहि स्वास्थ्य संस्थामा समस्या रहेको बताउँदै नगरप्रमुख केशव बहादुर चन्दले पानीको अभाव टार्न विभिन्न योजना मार्फत काम भइरहेको बताए ।

प्रकाशित : मंसिर १५, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?