१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान : अधिकांश घटना मिलापत्रमै

निर्मला खडायत

(धनगढी) — प्रदेश र स्थानीय सरकार तथा महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ–संस्थाले सोमबार बिहानै धनगढीमा प्रभातफेरी निकाले । महिला हिंसा अन्त्य गर्नुपर्छ भनेर नाराजुलुस लगाए । त्यही समयमा सपना (नाम परिवर्तन) लामो समयदेखि परिवारकै सदस्यबाट हिंसामा परेको भन्दै उजुरी दिन जिल्ला प्रहरी कार्यालय कैलालीको गेटमा कुरिरहेकी थिइन् । 

प्रहरी अधिकृतका अनुसार उनी आफ्नै देबर र सासूबाट कुटपिटमा परेकी थिइन् । आइतबार दिउँसो एक समूह महिला सेलमा पस्यो । जहाँ महिला, उनका पति र परिवारका अन्य सदस्यसँगै थिए । परिवार महिलाकै साथमा भए पनि महिला पटकपटक पतिबाटै हिंसामा परेकी रहिछिन् । उनी जिल्ला प्रहरी कार्यालयमा श्रीमानले मदिरा सेवन गरेर कुटपिट गरेको भन्दै आएकी थिइन् । उनी यसरी आएको भने पहिलोपटक होइन् । कुटपिटमा परेपछि प्रहरी कार्यालयमा पुगेको यो चौथोपटक हो । यसअघि उनी हरेकपटक उनी मिलापत्रमै गइन् । अघिल्लो दिन (आइतबार) पनि उनी मिलापत्र गरेरै फर्किएकी हुन् । ‘कुटपिट खेपेर प्रहरी कार्यालयमा उजुरी दिन आए पनि मिलपत्रमै टुंगिन्छ,’ उनले भनिन् ।


प्रहरीका अनुसार महिला सेलमा आउने अधिकांश उजुरीमा महिलाहरू मिलापत्र भएर नै फर्किन्छन् । परिवारका सदस्यबीचको सामान्य विवाद र कुटपिट हुने भएकाले महिलाहरूले मिल्ने कुरामा नै सहमति जनाउने गरेको महिला सेलका सहायक प्रहरी निरीक्षक खेमराज पन्तले बताए ।


‘सेलमा आउने उजुरीमा पतिबाट कुटिएका महिलाहरूकै संख्या धेरै छ । केहि समयको वादविवादपछि उनीहरू मिलेरै फर्किन्छन्,’ उनले भने, ‘पीडितले नै मिल्ने कुरा गरिसकेपछि हामीहरूले घटनालाई अगाडी बढाउनै मिल्दैन ।’ महिला सेलमा दैनिक ३/४ जना केहि न केहि हिंसामा परेको भन्दै उजुरी दिन आउँछन् । तर, आएका अधिकांश उजुरीपछि मेलमिलापमै टुंगिन्छन् ।


हरेक वर्ष २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिन लैंगिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना जगाउन विभिन्न कार्यक्रमहरू आयोजना हुँदै आएका छन् । तर, ती कार्यक्रमहरू औपचारिकतामा मात्रै सीमित बनेको पीडितहरू बताउँछन् । महिलामाथि हुने हिंसा अन्त्यका बर्सेनि दिवस मनाइए पनि हिंसा जन्य घटना न्यूनीकरण हुन सकेको छैन् । महिला अधिकारकर्मी र विभिन्न सरोकारवालाहरूले दिवस केन्द्रित चर्का नारा लगाएपनि अन्य समयमा जागरुक वन्न नसक्दा हिंसाका घटनामा कमी आउन सकेको छैन । सरोकारवाला सबै सकजुट नभएसम्म हिंसाका घटना नरोकिने महिला विकास अधिकृत जयन्ती गिरीले बताइन् । उनले भनिन्, ‘भएका कानुनको पूर्ण रुपमा कार्यान्वयन भए महिला हिंसाका घटनामा केहि कमि आउने थिए ।’ आर्थिक वर्ष २०७४/७५ मा कैलालीमा २ सय १० उजुरी दर्ता भएका छन् । गत आव ०७५/७६ मा अघिल्लो वर्षको भन्दा केहि कम २७ महिला हिंसाका उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्ष ०७६/७७ मा भने महिला हिंसाका घटनामा बृद्धि भएको छ । जिल्ला प्रहरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ४३ वटा महिला हिंसाका घटना दर्ता भएका छन् । ६ वटा मात्रै सम्बन्धित निकाय गएका छन् । ३७ वटा उजुरीहरू मिलापत्र गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।


अन्य घटनाको छानबिन हुन नै बाँकी रहेको उनले बताए । ‘विगतका २ वर्ष महिला हिंसाका घटनामा केहि कमि आए पनि यस वर्ष फेरि बढेको देखिएको छ,’ उनले भने ‘महिलाहरू आफ्नै पतिबाट र त्यसपछि आफ्नै परिवारका सदस्यबाट बढि हिंसामा पर्ने गरेका छन् ।’ महिला सेलमा आउने अधिकांश महिला हिंसाका घटनाहरू मिलापत्र गरिन्छन् । प्रहरी निरीक्षक कार्कीले भने, ‘परिवारका ब्यक्तिहरूबीचको सामान्य विवाद आउने भएकाले उनीहरूपछि मिलापत्र नै गर्छन् ।’ पीडितले नै मिलेर जाने भनेपछि उनीहरूको मिलापत्र गराएर पठाइने गरेको उनको भनाइ छ । महिला सेलमा आउने धेरैजसो महिलाहरू श्रीमानले बहुविवाह, जबरजस्तीकरणी, मदिरा सेवनपछि कुटपिट, सासुबुहारीको विवादका घटना संख्या बढेको उनले बताए ।

प्रकाशित : मंसिर १०, २०७६ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?