३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

खप्तड जोड्न सडक धमाधम

‘सम्झौतापछि निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ, अब खप्तड जाने पर्यटकले राहत पाउनेछन्’ 
मोहन शाही

(डोटी) — सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडलाई सडक सञ्जालसँग जोड्ने काम अघि बढेको छ । खप्तडको मुख्य प्रवेशद्वार झिग्रानासम्म सडक नभएकाले पर्यटक आवागमन घटेको भन्दै लामो समयदेखि स्थानीयले सडकको माग राख्दै आएका थिए ।

खप्तड जोड्न सडक धमाधम

करिब १५ किमि रहेको सिलगढी–झिग्राना सडक कालोपत्रेको काम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सडक कालोपत्रे गर्न बजेट विनियोजन गरेपछि अहिले सिलगढीदेखि ओखरबोट हुँदै ओसाइल–बगलेक–झिग्राना जोड्ने सडकको निर्माण तथा कालोपत्रको काम अघि बढेको ठेकेदार कम्पनीले जानकारी दिएको छ । उक्त पर्यटकीय सडक डोटीको सिलगढीबाट सबैभन्दा छोटो दूरीमा पर्छ ।


सिलगढी–झिग्राना सडक चन्द्र एन्ड वसन्त कन्ट्रक्सन र सिलगढी–मेल्लेक सडकको राजेन्द्र तथा पिएस जेभीले काम गरिरहेका छन् । ४० करोड रुपैयाँमा सो सडकको कालोपत्रे भइरहेको छ । चन्द्र एण्ड वसन्त कन्सट्रक्सनले कार्तिक २९ गतेबाट सडक क्षेत्रमा पर्ने भौतिक संरचना हटाउन सुचना जारी गरेको छ । घरटहरा, बिजुलीका पोल लगाएका संरचना सडकमा परेका छन् । सूचना जारी गरेको १५ दिनभित्र संरचना नहटाएको अवस्थामा निर्माण कम्पनीले आफै हटाउने बताउदै आएको छ ।


‘सम्झौता गरेर निर्माणकार्य तीव्रगतिमा अगाडि बढिरहेको छ’, उक्त सडक हेर्ने जिम्मा पाएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले भने, ‘अब खप्तड जाने पर्यटकले राहत पाउने छन् ।’


खप्तडमा सडक लैजाने योजना राजनीतिक खिचातानी र भ्रष्टाचारका कारण सो सडक अलपत्र परेको थियो । ‘कच्ची सडकको ट्र्याक खोलेर झिग्रानासम्म पुर्‍याए पनि यातायात सेवा सहजरुपमा सञ्चालन हुन्थेन,’ पूर्वीचौकी गाउँपालिका बगलेकका योगेन्द्र ठकुल्लाले भने, ‘झिग्रानासम्म सडक पुर्‍याउन माग धेरै अघि भए पनि बल्ल बन्ने भएको छ ।’


अहिलेका मुख्यमन्त्री त्रिलोचन भट्ट खप्तड पर्यटन विकास समिति अध्यक्ष रहेका बेला बगलेकसम्म ०६८ सालमा ट्र्याक खोलिएको थियो । अहिलेको सडक सिलगढीको उत्तर क्षेत्रमा पर्ने टीभी टावर हुँदै ट्र्याक खोलिए पनि त्यसपूर्व बगलेकसम्म तत्कालीन जिल्ला सभापति भरतबहादुर खड्काले पूर्वीचौकी गाउँपालिकाको वडा ३ खिरसैनबाट कच्ची सडकको ट्र्याक खोलेका थिए ।


अहिले प्रदेश सरकारको लगानीमा कालोपत्रे हुने भएपछि भने स्थानीय बासिन्दामा खुसी छाएको छ । झिग्रानाबाट बिचपानीसम्म सडक लैजानुपर्ने दबाब उठीरहेका बेला त्यस क्षेत्रमा पर्ने राष्ट्रिय निकुञ्जका कारण विवादमा छ ।


प्रकाशित : मंसिर ६, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?