बाटो अवरुद्ध भएकाले बेंसी झर्न पाएनन् व्यासवासी

मनोज बडू

(दार्चुला) — हिमाली क्षेत्रमा चिसो बढेपछि स्थानीय बेंसी झर्ने बेला भइसक्यो । हिउँदका बेला भेडाच्यांग्रा र पशुबस्तुलाई चरिचरनको पनि समस्या हुने भएकाले दार्चुलाको व्यास क्षेत्रका बासिन्दालाई औल झर्नुपर्ने बाध्यता पुस्तौंदेखिकै हो । तर बाटो अवरुद्ध भएकाले अहिलेसम्म उनीहरू बेंसी झर्न पाएका छैनन् । 

‘हिमाली क्षेत्रमा असोजबाट चिसो बढ्न थाल्छ । कात्तिकमा त हिमपात नै सुरु हुन्छ,’ नौगाड गाउँपालिका ३ का भेडापालक किसान विशनसिंह रावलले भने, ‘उहिले कात्तिकको सुरुमै बेंसी आइसक्थ्यौं । यो वर्ष बाटो नहुँदा झर्न सकिएको छैन ।’ दार्चुला–तिंकर घोरेटो बाटो बन्द छ । विगतमा बर्खाका बेला भत्किएको बाटो मर्मत गरेर भए पनि उनीहरू भेडीगोठ औलमा झारिसक्थे । तर यस वर्ष व्यासकै बुदीमा चिसो खपेर बस्नुपरेको उनको भनाइ छ ।
गत भदौमा व्यास १ मौर्‍याभीरमा खसेको ठूलो चट्टान अझै हटेको छैन । चट्टान खोल्ने पहल पनि भएको छैन ।

भदौमा पहिरो खसेको र त्यहाँदेखि नै सम्बद्ध निकायलाई निवेदन दिए पनि आफूहरूको मागबारे सुनुवाइ नभएको स्थानीय बताउँछन् । भत्केको बाटो तत्काल मर्मत गर्न नसकिने भएपछि वडा कार्यालयले गाउँपालिकालाई भारतीय बाटो भएर भेडीगोठ सार्न सिफारिस गरेको व्यास गाउँपालिका १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए ।

‘मौर्‍याभीरमा खसेको पहिरो पन्छाउन नसकिने भएपछि व्यासका भेडीगोठ बेंसी सार्न भारतीय बाटो प्रयोग गर्ने तयारी गरेका थियौं,’ किसान मानसिंह डोबालले भने, ‘त्यसका लागि भारतीय प्रशासनबाट अनुमतिपत्रसमेत बनाइसकेका थियौं । तर पछिल्लो समय कालापानी क्षेत्रमा देखिएको समस्याले दुःख पाउन सकिने डरले भेडीगोठ सार्न सकेका छैनौं ।’ बाटो खोज्दै भेडाच्यांग्राका गोठाला जंगली क्षेत्रमा दिनहुँजसो जाने गरे पनि फेला नपरेको डोबालको भनाइ छ ।
भारतीय पशु क्वारेन्टाइनबाट गत असोज दोस्रो साता भारतीय बाटो भएर भेडीगोठ सार्न प्रतिभेडाच्यांग्रा भारु २० तिरेर ७ सय ३७ वटाको अनुमति लिइएको महाकाली नगरपालिका २ का डम्मरसिंह साहुले बताए ।

विगतमा असोजको अन्तिमतिर बुदीको चरन क्षेत्रमा भेडाबाख्रा चराइने र त्यसपछि कात्तिकमा दोपख्या हुँदै घाटीबगडसम्म भेडीगोठ सार्दै बेंसी झर्ने गरिएको उनको भनाइ छ । व्यासलगायत दुहु तथा नौगाड गाउँपालिका र महाकाली नगरपालिकाका झन्डै २७ भेडीगोठ चरिचरनका लागि व्यास क्षेत्रमा छन् । यहाँबाट नजिकको चरन क्षेत्र बुदी हो ।

व्यासका कुञ्चा पनि एक दशकदेखि भारतीय बाटो हुँदै सदरमुकाम झर्दै आएका छन् । सदरमुकामबाट व्यास उक्लिँदा र व्यासबाट झर्दा वर्षमा दुईपटक भारतीय बाटो प्रयोग गर्नुपरेको यहाँका स्थानीय बताउँछन् । कात्तिकदेखि वैशाखसम्म लालावाला, चौपायासहित तल खलंगा बस्ने र गर्मी सुरु भएपछि व्यासतिर फर्कने चलनलाई यहाँका सौका समुदाय ‘कुञ्चा’ सार्ने भन्ने गरिएको छ ।

प्रकाशित : मंसिर ६, २०७६ ११:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

१०२ वर्षे कम्युनिस्ट नेता भन्छन्- 'हामीले चाहेको व्यवस्था यस्तो थिएन'

गिरुप्रसाद भण्डारी

(प्यूठान) — गौमुखी–७ नारीकोट रामखोला गाउँको ठूलाबेंसी सडकबाट करिब १० मिनेट उकालोपछि एउटा घरमा पुगिन्छ । जंगल बीचको त्यो घरमा बस्छन् कम्युनिस्ट नेता खगुलाल गुरुङ । गत भदौ २५ देखि १०२ वर्ष लागेका उनी राजनीतिमा सक्रिय छैनन् । तर चासो राखिरहन्छन् । अलि ठूलो सोरले बोले मात्रै सुन्छन् । उकालीओराली गरिरहने भएकाले फूर्तिला छन् । 

अहिलेको राजनीतिक व्यवस्थाप्रति उनी असन्तुष्ट छन् । भन्छन्, ‘हामीले चाहेको व्यवस्था यस्तो थिएन ।’ गुरुङ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहका बुबा खिमविक्रमको संगत र प्रेरणाले राजनीतिमा लागेका हुन् ।

बागलुङमा जन्मिएका उनी बसाइँ सरेर प्यूठानको नारीकोट आए । कम्युनिस्ट राजनीतिमा लागेका कारण गाउँका केही अगुवाले जग्गा भोगचलन गर्न नदिएपछि उनी खिमविक्रमकहाँ सहारा माग्न पुगेका थिए । पछि उनले नै मोहनविक्रमलाई काठमाडौंस्थित दरबार हाईस्कुलमा पढाउन पुर्‍याए । ‘म खिमविक्रमकै प्रेरणाले राजनीतिमा लागेको हुँ,’ गुरुङ भन्छन्, ‘म त्यो बेलाकै राजनीतिक बाटोमै छु ।’

पछि समय यस्तो आयो, मोहनविक्रम र खगुलालले खिमविक्रमलाई ‘महासामन्त’ घोषणा गरे र उनीविरुद्ध दुवैले विद्रोह गरे । त्यसबेला खिमविक्रमविरुद्ध वर्गीय र नैतिक आचरणको विषयलाई लिएर राजनीतिक चर्चा चुल्याइएको थियो । कम्युनिस्ट राजनीतिमा लागेकाले ‘हुनेखाने’ वर्गविरुद्ध आन्दोलन उनीहरूले नै सुरु गरेका थिए । नेकपालाई प्यूठानमा विस्तारित गर्ने मुख्य श्रेय मोहनविक्रम र गुरुङमाथि जान्छ ।

‘हाम्रै नेतृत्वमा २००९ सालमा प्यूठानको रातामाटामा पहिलो कार्यकर्ता प्रशिक्षण गरिएको थियो,’ उनले सुनाए । उनीहरूले त्यतिबेला तीनमहिने शिविर चलाएका थिए । शिविरको मुख्य प्रशिक्षक गुरुङ नै थिए । प्रगतिशील अध्ययन मण्डलद्वारा सञ्चालित शिविरमा सामेल भएकाहरूबाट जिल्लाभर कम्युनिस्ट पार्टी फैलिएको उनले बताए ।

शिविर चलाउन तत्कालीन बडाहाकिम प्रतिमानचन्द्र बोहराले साथ दिएका थिए । केही समयपछि कम्युनिस्टलाई साथ दिएको भनेर तत्कालीन सरकारले बडाहाकिमको सरुवा गरेको थियो । त्यसैबेला पाण्डेडाँडामा सात जनाको कमिटी बनाइएको थियो । संस्थापकमध्ये मोहनविक्रम र गुरुङ मात्र जीवित छन् ।

प्यूठानको झिमरुक फाँटमा ‘साहु’ हरूले खेत अधियाँ लगाउँदा किसानलाई ठगेको विषय गुरुङकै नेतृत्वमा उठाइयो । ‘किसान ठग्ने साहु पहिचान गर्थ्यौं र धानको खराईमा झन्डागाड्थ्यौं,’ उनले सुनाए, ‘किसानलाई अधियाँ धान बुझेको भर्पाई गराउँथ्यौं ।’

अखिल नेपाल किसान संघ प्यूठान गठन गरेर जिल्लाभर अधियाँ आन्दोलन चलाइएको थियो । किसान ठग्नेलाई कारबाही गर्ने अभियानका कारण प्यूठानमा कम्युनिस्ट पार्टी लोकप्रिय बनेको उनले बताए । ०११ सालमा मोहनविक्रम, रुमबहादुर पाण्डे, सिद्धिमान सिंह, नन्दलाल गुरुङ र हेमराज पण्डितसहित गुरुङ पक्राउ परे । १९ महिनापछि २०१३ सालमा उनीहरू छुटे । ०१५ सालको संसदीय चुनावमा गुरुङ क्षेत्र नम्बर ८३ बाट नेकपाका उम्मेदवार बने । ‘त्यो निर्वाचनमा म पराजित भएँ,’ उनले भने, ‘तर रोल्पाको थबाङ क्षेत्रमा संगठनको राम्रो आधार निर्माण गर्ने जिम्मेवारी पूरा गरेँ ।’

जेल बस्दा भेट भएका रोल्पा थबाङका बरमन बुढालाई उनले नै कम्युनिस्ट बनाएका थिए । ०४८ सालमा रोल्पाबाट जनमोर्चाका तर्फबाट सांसदमा निर्वाचित बुढालाई जिताउन गुरुङको भूमिका नेतृत्वदायी थियो ।

त्यसबेला थबाङबाट बुढालाई सबै भोट परेको थियो । प्यूठान र रोल्पाका पुराना कम्युनिस्ट कार्यकर्ता गुरुङलाई अग्रज मान्छन् । उनी नेकपा मसालमा प्रतिबद्ध भए पनि सबै धारका कम्युनिस्ट पार्टीले उनलाई सम्मान गर्छन् । ०७२ मंसिरमा निकै बिरामी परेर उपचारमा काठमाडौं पुग्दा उनलाई सबै कम्युनिस्ट पार्टीले अभिनन्दन गरेका थिए ।

मोहनविक्रमको संयोजकत्वमा अभिनन्दन समारोह समिति बनाइएको थियो । सबै कम्युनिस्ट एकै ठाउँमा
आएर सम्मान गर्दा निकै खुसी लागेको उनले सुनाए । ‘कम्युनिस्टहरू मिल्नुको विकल्प छैन,’ उनले भने, ‘तर के गर्नु, मिल्दै मिल्दैनन् ।’ मसाल पार्टी फुट्दै झन् सानो हुँदै गएकामा उनले चिन्ता व्यक्त गरे ।

प्रकाशित : मंसिर ६, २०७६ ११:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×