१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

३५ वर्षपछि जग्गा फुकुवा

मल्ल परिवारले राइस मिल चलाउन ऋण लिएर तिर्न नसक्दा बैंकको लिलामी सूचीमा परेको आफ्नो जग्गा किसानले बल्ल छुटाए
गणेश चौधरी

(टीकापुर) — सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्ल परिवारले चामल मिल सञ्चालनका लागि बैंकमा धितो राखेको जग्गा किसानले साँवाको दोब्बर रकम तिरेपछि बुधबार फुकुवा भएको छ । धितो जग्गाबाट लिइएको ऋणको दोब्बर रकम र ऋण असुली न्यायाधिकरणले लिने न्यायिक दस्तुर वापतको रकम तिरेपछि किसानको जग्गा फुकुवा भएको हो ।

३५ वर्षपछि जग्गा फुकुवा

मालपोतमा कागजात नभेटिएका ६ जनाबाहेक सबै किसानले जग्गाको धनीपुर्जापय फुकुवा पत्र बैंकबाट पाएको बताएका छन् । लामो समयको प्रयास र दौडधूपपछि जग्गा फुकुवा भएको हिरण्य कठरियाले बताए । ‘जग्गा छुटाउन निकै दौडधूप गर्नुपर्‍यो, कहिले टीकापुर कहिले धनगढी दौडियौं,’ उनले भने, ‘करिब ६ महिनाको लगातारको दौडाइपछि अहिले बल्ल जग्गा फुकुवाको पत्र पायौं ।’ राइस मिल सञ्चालनका लागि मल्ल परिवारले आफ्नोसँगै मुनुवाका ७६ किसानको करिब ३ सय ६० विघा जग्गा राष्ट्रिय वाणिज्य बैक र नेपाल बैक लिमिटेडमा धितो राखेर ऋण निकालेका थिए । पीडित किसानहरूले बैंकबाट जग्गा फुकुवा भएको पत्र बुधबार पाएका हुन् । ‘ऋण लिँदाका बखत जसजसको नाममा जग्गा थियो, थुप्रै मरिसके । अहिले नाता पुस्ताले आफ्नो जग्गाको फुकुवा लिएका छन्,’ कठरियाले भने, ‘हक लाग्नेसन्तानका नाममा नामसारी भएपछि मात्र मालपोत कार्यालयले जग्गाधनी प्रमाणपुर्जा दिने भनेको छ ।’


मल्ल परिवारले वर्षौअघि बैंकमा जग्गा धितो राखी ऋण लिएका ७६ जनामध्ये वाणिज्य बैंकतर्फका ऋणी २४ किसान यसअघि नै दोब्बर रकम बुझाएर जग्गा फुकुवा गराइसकेका थिए । ‘अहिले नेपाल बैंकमा जग्गा धितो रहेको ५२ किसानको जग्गा फुकुवा भएको हो,’ कठरियाले भने, ‘सोमवार नै फुकुवा भइ सक्नुपर्ने थियो । ६ जनाको मालपोत कार्यालयमा धितो कागज नै भेटिएन ।’ कागजात नभेटिएकाको हकमा बैंकले पत्र लेखेर मालपोतलाई दिएपछि कागज बन्ने प्रक्रिया हुने आश्वासन पाएको उनले बताए ।


उनका अनुसार लामो समयदेखि पुर्ख्यौली जग्गा रोक्का रहँदा किसान परिवारका करिब १५ सय सदस्य पीडित बनेका थिए । जोतभोग गर्दै आएपनि जग्गा अंशवण्डा र बेचबिखन गर्न पाएका थिएनन् । ‘बाजेका पालामा धितो राखिएको जग्गा छुटाउन मेरो हिस्साको १५ लाख ८२ हजार रुपैयाँ तिर्नु पर्‍यो,’ कठरियाले भने, ‘ऋण कसले लियो, कसले खायो हामीले नलिएकै ऋण तिर्नु पर्‍यो ।’ दोब्बर तिरेर भएपनि जग्गा फकुवा हुन थालेपछि खुसी नै लागेको हिरण्य कठरियाले बताए । ‘अब कमसे कम अंशवण्डा त गर्न सकिएला । बैंकमा धितो राखेर कुनै कारोबार त गर्न सकिएला,’ उनले भने, ‘बाउबाजेको जग्गा त्यसै बैंकले खाइदिने स्थिति थियो ।’


पीडित कतिपय किसानले आफ्नो नाउँमा आउनेमध्येको केही जग्गा बेचेरै ऋणको दोब्बर रकम तिरेका हुन् । राइस मिलका नाममा धरौटी रहेको ११ विघा जग्गामध्ये २ विघा बेचेर साँवाको दोब्बर तिरी फुकुवा गराएको कमलप्रसाद बडायकले बताए । पीडित किसानहरूले बैंकलाई साँवा रकमको दोब्बर तथा न्यायाधिकरणलाइ करिब साढे ३ लाख दस्तुर बुझाएपछि जग्गा फुकुवा भएको हो । ३५ वर्षअघि मल्ल परिवारले आफ्नोसँगै किसानको जग्गा धितो राखेर बैंकबाट करिब ९८ लाख ९६ हजार रुपैयाँ निकालेका थिए । उनीहरूले मिल चलाउन सकेनन् । ऋणको साँवा र ब्याज पनि तिरेका थिएनन् । लामो समयदेखि जग्गा रोक्का रहँदा किसान परिवारमा ठूलो चिन्ता थियो । जग्गा फुकुवा भएपछि अब भने धेरै परिवारलाई अंशबन्डाको चटारो पर्ने रामकिसुन चौधरीले बताए । ‘बाजेको पालाको जग्गा बल्ल फुकुवा भयो, अब नामसारीमा झन्झट छ,’ उनले भने, ‘अंशबण्डा गर्दा पनि पारिवारिक झैझगडाको सम्भावना देखिन्छ ।’


राजाका सन्तान भनिने दिलीपसिंह मल्लका चार छोरामध्ये जेठा टेकबहादुर मल्ल २०४०/४१ सालतिर मुनुवा गाउँका प्रधानपञ्च थिए । उनले छोरा दुष्यन्तका नामबाट मिल सञ्चालनका लागि बैंकबाट ऋण लिन खोजे । अर्काको जग्गा धितो राखेर पनि ऋण लिन पाइने सुविधा उपयोग गर्दै टेकबहादुर, भाइ मोहनराज (सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख) र मदनबहादुर लगायतले आफ्नो सगोलको सम्पत्तिसहित गाउँका किसानसमेतको करिब ३ सय ६० बिघाको लालपुर्जा बैंकमा राखेका थिए ।


बैंकले २०४७ मा ऋणीलाई कालोसूचीमा राख्यो । सबैका जग्गा रोक्का भयो । किनबेच गर्न त पाएनन् नै, जग्गा लिलामी हुने भयो । ऋण निखनेर जग्गा छुटाइदिन उनीहरूले मल्ल परिवारलाई गुहारे । आफ्नै पनि सगोलको सबै जग्गा गाउँलेसँगै बैंकमा रोक्का रहेको जवाफ दिएका मल्लले छुटाउन नसक्ने बताएपछि किसानहरू तनावमा रहँदै आएका थिए । उनीहरू पटकपटक काठमाडौं धाए । राजा बने लगत्तै धनगढी आएका ज्ञानेन्द्र शाहलाई बिन्ती चढाए । आफ्ना जिल्लाका नेतालाई हारगुहार लाउने गर्दै आए पनि जग्गा फुकुवा भएन । दृष्टिबन्धकमा परेको जग्गा बैंकबाट ऋण तिरेर छुटाउन सकिने बाटो एकजना कर्मचारीले सुझाएपछि पीडित किसानले त्यही बाटो रोजे । त्यसपछि मल्ल परिवारले लिएको ऋण किसान आफैंले दोब्बर रकम तिरेर छुटाएका हुन् ।


प्रकाशित : मंसिर ५, २०७६ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?