‘चिया खर्च’ बिना कामै बन्दैन

धनगढी — जग्गापास गराउन लागेकी धनगढी ५ तारानगरकी विमला विष्ट काम चाँडो गराउन जिल्ला मालपोत कार्यालय कैलालीका कर्मचारीलाई चिया खर्च दिन मन्जुर भइनन् । उनको एक दिनमा हुने काम २ दिनपछि धकेलियो । 

‘लेखापढीको कामका लागि लेखनदासलाई १५ सय रुपैयाँ दिएको थिएँ,’ उनले भनिन्, ‘कागजातलाई एक कोठाबाट अर्को ठाउँ पुर्‍याउने काम लेखनदासको सहयोगीले गरिरहेको थियो ।’ तर फाँटका कर्मचारीले टेबलमा पुगेका कागजातलाई ‘चेक’ गरी सही (हस्ताअक्षर) गर्ने काम पनि चाँडो नगर्दा सेवाग्राहीको काम ढिलो हुने गरेको बताइन् । चियापानी दिउँला भनेपछि मात्रै फाँटका कर्मचारीले चाँडो काम गर्ने उनको अनुभव छ ।


‘सेवाग्राहीको भीडले पहिलो दिन काम नभ्याएर घर फर्केको थिएँ,’ उनले भनिन्, ‘तर सोमबार बिहानै रजिस्ट्रेसन कक्षमा पुगेर फाइल भित्र पठाउँदा पनि रसिद शुल्क दिउसो २ बजे काटियो ।’ उनले चियापानी खर्च दिने सेवाग्राहीको फाईल चोर ढोकाबाट पुग्ने र कर्मचारीले पहिला उनीहरूको काम गर्ने गरेको आफुले प्रत्यक्ष देखेको दाबी गरिन् ।


उनले दर्ता चलानीमा बस्नेले पनि चिया खर्चसम्म नपाए कागजातमा छाप हान्न नमान्ने गरेको बताईन् । ‘सबै काम भ्याउन बेलुका ४ बजे लागेको थियो,’ उनले भनिन्, ‘कर्मचारीले ४ बज्न लागिसक्यो भन्दै छाप दराजभित्र राखेर बाहिर निस्क्यो ।’


मालपोत कार्यालय प्रमुख प्रेमसिंह कुँवरले सेवाग्राही पनि बढेका र कार्यालयमा कर्मचारीको संख्या पनि अपुगभएकाले चाँडो काम सम्पन्न गर्न नसकेको स्विकारे । ‘रजिस्ट्रेसन कक्षमा एक अधिकृतले काम गर्नु परेकाले चाँडो सेवा दिन नसकिएको हो,’ उनले भने, ‘अर्को अधिकृत थप गरिसकेका छौं । अब त्यहाँ धेरै ढिलो हुने छैन ।’


उनले केहि काम गर्ने ‘सिस्टम’ मा पनि सुधार हुन लागेको बताए । उनले रजिस्ट्रेसन कक्षको भिड घटाउन बैंकमा दृष्टिबन्धकी गर्नेको छुट्टै काउन्टर आइतवारदेखि नै सञ्चालनमा ल्याउन लागेको बताए । केहि समयपछि मालपोतको लेखापढीलाई अनलाइनमार्फत गर्न ‘भु–सेवा केन्द्र’ सञ्चालन गरिन लागेको जानकारी दिए । ‘भू–सेवा केन्द्र’मा बसेर लेखापढी ब्यवासायीले सेवाग्राहीको काम इन्टरनेट माध्यमबाट गर्ने छन्,’ उनले भने, ‘त्यसपछि लेखापढीको दलालीको अन्त्य हुनेछ । उनीहरू कार्यालयभित्र छिर्न नै पाउने छैनन् ।’



प्रकाशित : मंसिर ५, २०७६ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?