कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ढलेको सीमास्तम्भ १० वर्षदेखि अलपत्र

भवानी भट्ट

(कञ्चनपुर) — कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवा नजिकैको ८०६/३ ‘के’ नम्बरको सीमास्तम्भ ढलेको १० वर्ष भयो । बर्सेनि पुरिँदै गएको उक्त स्तम्भ झाडीभित्र हराउने अवस्थामा पुगेको छ । २०७० असारमा महाकाली नदीमा आएको भीषण बाढीले भीमदत्त–११ भुजेलामा बगाएको ८०५/०८ ‘ए’ नम्बरको सीमास्तम्भको अत्तोपत्तो छैन ।

पश्चिमी सीमामै ब्रह्मदेवनजिकै महाकाली नदीमा वर्षौंदेखि हराएको सीमास्तम्भका कारण उक्त क्षेत्र विवादास्पद छ । भारतीय सुरक्षाकर्मीले ब्रह्मदेवका बासिन्दालाई बेला–बेला दु:ख दिने गरेका छन् । स्थानीयका अनुसार ३ नम्बर स्तम्भ नदीको बीच भागमा पुगेको छ ।


जीर्ण स्तम्भहरूको एक वर्षअघि सामान्य मर्मत भए पनि वर्षौंदेखि ढलेका तथा जीर्ण भएका कतिपय स्तम्भको मर्मत हुन सकेन । ‘सीमास्तम्भ ढलेको धेरै भयो, अहिले पुरिइसकेको छ,’ जिमुवाका स्थानीय दीपक कार्कीले भने, ‘नढलेका स्तम्भ पनि जीर्ण छन् ।’


कञ्चनपुर र कैलालीमा गत मंसिरदेखि वैशाखसम्म नेपाल–भारत संयुक्त टोलीले स्तम्भ मर्मत तथा नयाँ निर्माण गरेको थियो । त्यतिबेला कञ्चनपुरमा मात्रै नेपालतर्फको टोलीले ५६ स्तम्भ मर्मत गरेको थियो । भारततर्फको टोलीले चार स्तम्भ मर्मत र एउटा नयाँ निर्माण गरेको थियो । कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोके बजारनजिकैको ७६० नम्बर पिलर निर्माण भएको हो । ‘त्यतिबेला कैलाली र कञ्चनपुरमा ४९ नयाँ पिलर निर्माण भएका हुन्,’ नेपाल–भारत संयुक्त सर्भे टोली नं. ४ का टोली नेता जनक भट्टले भने, ‘जोर पिलरको मर्मत तथा निर्माण खर्च भारतले र बिजोरको खर्च नेपालले व्यहोर्नुपर्ने हुन्छ, तर टोली भने संयुक्त हुन्छ ।’ नापी विभागका प्रमुख नापी अधिकृतसमेत रहेका उनका अनुसार कैलालीमा ४८ र कञ्चनपुरमा एउटा नयाँ स्तम्भ निर्माण भएको हो ।


भीमदत्त–९ को खल्ला मसेट्टीदेखि पुनर्वासको डोकेबजारसम्म १ सय २९ दशमलव ५ किलोमिटर क्षेत्रमा एक दर्जनभन्दा बढी मुख्य, सहायक र साना स्तम्भ मर्मत गर्नुपर्ने देखिएको सशस्त्र प्रहरीको झलारीस्थित नम्बर ३५ गणले जनाएको छ । ब्रह्मदेव, बेलौरी र पुनर्वास क्षेत्रमा बढी स्तम्भ जीर्ण तथा ढलेको अवस्थामा रहेको गणका प्रमुख एसपी वीरसिंह साहुले बताए । ब्रह्मदेव, दोधारा, चाँदनी, बेलौरी र पुनर्वासका केही ठाउँमा सीमा विवाद पनि छ । तीन वर्षअघि पुनर्वास–४ को गोविन्द बजारनजिकै नालामा ह्युमपाइप राख्ने विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको थियो । उक्त क्षेत्रमा सीमास्तम्भ हराएका कारण भारतीय पक्षले बस्तीनजिकै समेत ह्युमपाइप राख्न दिएन ।


विवाद भएकै ठाउँमा भारतीय सुरक्षाकर्मीले बेलाबेलामा नेपालतर्फ प्रवेश गरेर दु:ख दिने गरेका छन् । उनीहरूले जिमुवा र गड्डाचौकीमा गत वर्ष सडक निर्माणमा समेत अवरोध गरेका थिए । कञ्चनपुरकै दक्षिणी क्षेत्र बेलौरी–८ पचुइमा एसएसबीले दशगजा भन्दै हुलाकी सडक निर्माणमा अवरोध सिर्जना गरेको छ ।


प्रकाशित : मंसिर ४, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?