२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

अझै छन् भलमन्सा

‘पहिले गाउँमा प्रहरी चौकी थिएनन्, स्थानीयका गुनासा सुनुवाइ गर्ने निकाय गाउँलेको पहुँचमा हुँदैनथे, त्यसैले यी समस्या समाधानका लागि भलमन्सा बनाइन थालिएको हो’
निर्मला खडायत

(धनगढी) — पश्चिम तराईका राना र डगौरा थारू समुदायको भलमन्सा प्रथा अझै कायमै छ । गाउँमा हुने झै–झगडाको छिनोफानो, सामाजिक निर्णय भलमान्साले नै गर्छन् । यो समुदायले सकेसम्म प्रहरी कार्यालयसम्म विवाद पुग्न नदिएर गाउँमै मिलाउने प्रयास गर्छन् । 

अझै छन् भलमन्सा

‘गाउँको सबैको प्रिय व्यक्तिलाई समझदारीमा भलमन्सा छान्छौं,’ धनगढी राजपुरका भानुप्रताप रानाले भने, ‘पहिलेपहिले वंश परम्पराअनुसार (बाबुपछि छोरा) भलमन्सा हुन्थे । अहिले सबैको भावनालाई ख्याल गरेर चयन गरिन्छ ।’ रानाथारू समुदायमा पुर्खादेखि चल्दै आएको बडघर परम्परा अहिले पनि कायमै रहेको उनले बताए । भलमन्सा तोकिसकेपछि समुदायका हरेक निर्णयहरू भलमन्साकै निर्देशनअनुसार हुने गरेको भानुप्रतापको भनाइ छ ।


‘यो परम्परा पूर्खौदेखिकै हो । अहिले यस चलनलाई टुट्न दिएका छैनौं,’ धनगढी उपमहानगरपालिका २ बैयाबेहडीका पूर्व भलमन्सा केशव चौधरीले भने, ‘पहिले गाउँमा प्रहरी चौकी थिएनन्, स्थानीयका गुनासा सुनुवाइ गर्ने निकायहरू गाउँलेको पहुँचमा हुँदैनथे । त्यसैले गाउँमा यी समस्या समाधान गर्न भलमन्सा बनाइन थालको हो ।’ अहिले पनि गाउँका अधिकांश मुद्दा भलमन्साले नै मिलाउने गरेको केशवले बताए । उनले पहिले गाउँमा कोहि पाहुना र विभिन्न सरकारी कर्मचारी र कुनै कार्यक्रममा आएपछि भलमन्सालाई नै सुरुमा खबर हुने गरेको बताए । गाउँमा हुने सबै कार्यक्रमको बन्दोबस्त मिलाउने काम भलमन्साले नै गर्ने गरेको उनी बताउँछन् ।


जताततै चुनाव । सामुदायिक वनमा चुनाव, उपभोक्ता समितिका प्रतिनिधि छान्न चुनाव, विद्यालय ब्यवस्थापन समिति चयन गर्न पनि चुनाव । संसदीय अभ्यासमा त चुनाव हुने नै भयो । तर पश्चिम तराईमा बसोवास रहेको रानाथारू समुदायले भने आफ्नो भलमान्सा छान्दा जहिल्यै समझदारीमै छान्छन् । अर्थात वर्ष दिनका लागि आफ्नो गाउँको अगुवा छान्दा कहिल्यै चुनाव हुन्न ।


उनीहरू आपसमा छलफल गरी टुँगो लगाउने गर्छन् । हरेक वर्ष माघे संक्रान्तिका दिन गाउँभरिका मानिस एक ठाउँ भेला हुन्छन् । सबैको सहमतिपछि एक भलमन्सामा नियुक्त हुन्छन् । उनले नै हाम्रो गाउँमा वर्षभरि अगुवाको भुमिका निभाउने गर्छन् । गाउँमा हुने विवादहरूको समाधान सकभर भलमन्साले नै गर्छन् । ‘भलमन्सा भनेको सबैका लागि सम्मानित व्यक्ति हुन् । गाउँमा बाटोघाटो बनाउनु परे, कसैको विवाह भए, कतै पुलपुलेसा निर्माण गर्नु परे त्यसमा जनश्रमदान तोक्ने काम भलमन्साकै हुन्छ,’ धनगढी उपमहानगरपालिका २ बैयाबेहडीका मोहन चौधरीले भने, ‘पार्टीको चुनावका बेला पनि अधिकांश मत भलमन्साकै पक्षतिर जाने अवस्था हुन्छ ।’


गाउँमा वर्षभरिका निर्णयहरू र समस्याहरूको सम्वोधन गरेवापत गाउँलेहरूले भलमन्सालाई बार्षिक रुपमा पारिश्रमिक दिने गर्छन् । उनीहरू घरघरबाट तोकिएको परिमाणमा धान र गहुँ जम्मा गरी भलमन्सालाई बुझाउने गर्छन् । ‘कुनै पूजापाठ गर्दा पनि पूजारीलाई भलमन्साले नै अह्राउने गर्छन् । त्यसपछि मात्रै कुनै काम र पूजाको सुरुवात हुन्छ,’ विशालनगरका फिरुराम चौधरीले भने ।


नेपालको कैलाली र कञ्चनपुरमा ठूलो संख्यामा बसोबास गर्ने रानाथारू समुदायका ठूला–ठूला बस्तीहरू छन् । राजपुर, जोशीपुर, बैयाबेहडी, बडहरा, धनगढीको कैलाली गाउँ, धनगढी गाउँ, बेहडाबाबा राना थारूको ठूलो संख्यामा बसोबास रहेको क्षेत्र हुन् । जहाँ टोल र गाउँपिच्छे उनीहरूले फरकफरक भलमन्सा तोक्ने गर्छन् । केही वर्षयता भने रानाथारूको भलमन्सा प्रथा पनि नयाँ ढंगबाट अघि बढिरहेको फिरुरामले बताए ।

प्रकाशित : मंसिर ४, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?