कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सामुदायिक रोज्दै अभिभावक

काठमाडौँ — सदरमुकाममा रहेका निजी विद्यालयमा पढाउने विष्णु पन्तले गत वर्ष देखि ५ किलोमिटर टाढा मौरडाको बैजनाथ माविमा छोरा/छोरी भर्ना गरे । सुविधासम्पन्न विद्यालय छोडेर दैनिक एक घण्टा पैदल हिँडेर उनका छोराछोरी सरकारी विद्यालय पढ्न जान्छन । सुरुमा निजी छोडेर टाढा पठाएकोमा आफ्ना अभिभावकसँग रिसाएका उनीहरू अहिले भने खुसी छन । 

उनका वालवालिका मात्र होइन । डडेलधुरा सदरमुकामनजिकैको मौरडा गाउँमा रहेको सामुदायिक विद्यालय बैजनाथ माध्यमिक विद्यालयमा छिमेकी जिल्ला वैतडी र डोटीका विद्यार्थी समेत भर्ना भएका छन । सदरमुकाममा रहेको अधिकांश कर्मचारीका छोरा छोरीको पनि पहिलो रोजाइ वनेको छ बैजनाथ मावि । सदरमुकाममा रहेका महंगा निजी विद्यालय छोडेर उक्त विद्यालय रोजाइमा पर्नुको मुख्य कारण हरेक वर्ष जिल्ला भरिमा उत्कृष्ट नतिजा मात्र भने होइन । विद्यालयमा हुने गतिबिधि, अभिभावक शिक्षक र विद्यार्थी बिच हुने नियमित अन्तरक्रिया, र छलफलले वालवालिकालाइ आत्मबिश्वासी वनाउने वातावरणले विद्यालय सुदूर पहाडी जिल्लाको नमुना विद्यालयका रुपमा स्थापित भएको छ ।


हरेक हप्ता विद्यालयका शिक्षक र विद्यार्थीसँगै वसेर शैक्षिक सुधारका लागि के के आवश्यक छ ? छलफल गर्छन । विद्यार्थी र शिक्षकका बिच भएको छलफलमा देखिएका समस्याका विषय पुन: शिक्षक र विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीका बिच छलफल हुन्छ । त्यसपछि शिक्षक, ब्यबस्थापन समिति र अभिभावकका बिच विद्यालयको शैक्षिक गुणस्तर तथा अन्य समस्याका विषयमा छलफल गरिन्छ ।


‘विद्यार्थी सहभागी नगराइ विद्यालय सम्वन्धि कुनै पनि निर्णय हुँदैन,’ विद्यालयलाइ यो अवस्थामा पुर्‍याउने पूर्व प्रधानाध्यापक कालीप्रसाद जोशी भन्छन्, ‘पछिल्लो समय छिमेकी जिल्लाका विद्यार्थीसमेत भर्ना हुन थालेका छन ।’ भौतिक साधन स्रोत, शिक्षकको भिडभाड र लगानीले मात्र शैक्षिक सुधार हुन्छ भन्नु गलत भएको शिक्षक जोशीले बताए । उनले भने, ‘विद्यार्थीले विद्यालयलाइ आफ्नो परिवार र शिक्षकले विद्यार्थीलाइ आफ्नै वालवालिका सम्झने वातावरण वनाउन सकियो भने थोरै शिक्षक तथा लगानीले पनि शैक्षिक गुणस्तर राम्रो वनाउन सकिन्छ ।’


हुनपनि जम्मा १६ शिक्षक । ५ सय बढि विद्यार्थी । ब्यबस्थापन समिति र जागरुक अभिभावकका कारण सुदूर गाउँको यो विद्यालय नमुना विद्यालय बनेको छ । डडेलधुरा सदरमुकाम देखि १२ किलोमिटर दुरीमा रहेका गाउँवाट समेत विद्यार्थी आउने गरेको विद्यालयमा पछिल्लो समय सामुदायिक अंक पत्र सुरु गरिएको छ । विद्यालयको समग्र अवस्थाका विषयमा छुट्टाछुट्टै पक्षवाट गरिने मुल्यांकन पद्दतिले शैक्षिक सुधारमा ठूलो सहयोग पुगेको विद्यालयका शिक्षक लक्ष्मण जोशीले जानकारी दिए । उनले भने, ‘विद्यालयसँग सम्वन्धित सवै पक्षले एक अर्काको कामको मूल्यांकन गरी सुधार गर्नुपर्ने प्रक्रियाले विद्यार्थी, अभिभावक र शिक्षक सवैलाइ विद्यालयप्रति उत्तरदायी वनाएको छ ।’


क्यानेडियन सरकारको सहयोगमा संचालित सुशासन परियोजना अन्तरगत डडेलधुराका दुई विद्यालयमा अंक पत्र प्रणाली सुरु गरिएपछि विद्यालयको शैक्षिक प्रगतीमा झनै सुधार भएको परियोजनाका क्षेत्रीय संयोजक महेन्द्र शाहीले भने । ‘परियोजनाको सहजीकरणको काम मात्र हो, विद्यालयसँग सम्वन्धित पक्ष उत्तरदायी हुँदा नमुना बन्न सकेको हो,’ शाहीले भने ।


१० वर्षयता डडेलधुराको शैक्षिक क्षेत्रका हरेक क्रियाकलापमा वैजनाथ मावि पहिलो नम्वरमा छ । जिल्ला स्तरीय खेलकुद होस या अतिरिक्त क्रियाकलाप उक्त विद्यालय दोस्रो भएको उदाहरण छैन । ३ दशकदेखि डडेलधुराको शैक्षिक क्षेत्रमा क्रियाशील समाजसेवी इश्वरी भाट भन्छन्, ‘बैजनाथ मावि जस्तो उदाहरणीय शैक्षिक प्रतिष्ठान वाट अरु विद्यालयहरूले पनि सिक्नु आवश्यक छ ।’



प्रकाशित : मंसिर ३, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?