२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

६ वर्षमा पनि बनेन पुल

साँफे–मार्तडी खण्डअन्तर्गत बाजुराको बूढीगंगा नगरपालिका ८ र अछामको मेल्लेख गाउँपालिका जोड्ने पुल नबन्दा आउजाउमा समस्या 
मेनुका ढुंगाना

(अछाम) — अछाम र बाजुरा जोड्ने बिडाबगर पुल ६ वर्षदेखि अलपत्र परेको छ । मेल्लेख गाउँपालिकाको कुस्कोट, ठाँटिलगायत क्षेत्रका यात्रुलार्ई आउजाउमा समस्या भएपछि डोलिडारले ७५ मिटर लामो पुल बनाउन लागेको हो ।

६ वर्षमा पनि बनेन पुल

मुआब्जाका विषयमा स्थानीयको अबरोधले निर्माण अघि बढाउन नसकेको स्वाँर कन्सट्रक्सनका ठेकेदार रवि स्वाँरले बताए । ‘२०७१ मा सम्झौता भएको पुल २ वर्षमा बनाइसक्ने गरि जिम्मा लिएको हो र तर स्थानीयले अवरोध गरेका कारण बाँकि काम अघि बढाउन सकेको छैन,’ उनले भने, ‘काम गर्ने वातावरण भए तत्काल काम सुरु गर्छु ।’ अछाम र बाजुरा जोड्ने पक्की पुल करिब ४ करोडमा बन्न लागेको हो । साँफे–मार्तडी खण्डअन्तर्गत बाजुराको बुढिगंगा नगरपालिका ८ र अछामको मेल्लेख गाउँपालिका जोड्ने पुल नबन्दा आउजाउमा समस्या भएको कुस्कोटका धनजित साउँदले बताए । निर्माण भइरहेको पुल आसपासका जग्गा धनिले मुआब्जा नपाएको भन्दै उनीहरूले काम गर्न रोक लगाएका हुन् ।


अछामका स्थानीयका अनुसार सरोकारवालाले समन्वय सहकार्य नगर्ने र बाजुराका स्थानीयको अबरोधका कारण पुलको काम अघि बढ्न सकेको छैन । ‘अछामक् ाबजार आउनलाई हामीले बाजुराको बाटो प्रयोग गर्नुपर्छ । दुःख यहाँका जनतालाई छ । सरोकारवालाबाट काम सुरु गर्न आवश्यक पहल हुन सकेको छैन ’ उनले भने ।


दुइटा पिलर र आसपासको पर्खालको काम सकिए पनि काम रोकिँदा निर्माणका लागि ल्याएका सामग्री बाजुराको रिठा बजारमा अलपत्र परेका छन् । मुआब्जा नदिएसम्म काम अघि बढ्न नदिने किसानहरूले बताए । यही कारण एक वर्षदेखि खेती गर्न नपाएको स्थानीय भक्त थापाले बताए । ‘एकै टोलका २३ जनाको जग्गा पुल निर्माण स्थलसम्म जाने रोडमा परेको छ । यसअघि सरकारी दरअनुसार १४ लाख दिने सहमती भएपछि हामीले काम गर्न अवरोध गरेका थिएनौं’ थापाले भने, ‘दिन्छौं ंभनेर झुटो मात्र बोल्ने तर मुआब्जा नदिने भएकाले हामीले काम गर्न नदिएका हौं ।’ पहिलो किस्ता बापत ४ लाख रुपैंया पाएको र अझै १० लाख रुपैंया पाउन बाँकि रहेको उनको भनाइ छ ।

स्थानीय तह गठन भइसकेपछि अछामको मेल्लेख गाउँपालिकाबाट १० लाख रकम उपलब्ध गराउने सहमतीपछि काम अगाडी बढाउन दिइएको थियो । तर हालसम्म उक्त रकम दिने बारे गाउँपालिकाले कुनै वास्ता नगरेको बाजुराको बुढिगंगा नगरपालिका ८ का वडा सदस्य सुरेन्द्रबहादुर थापाले बताए । ‘१० लाख रकम ल्याएर प्रभावित स्थानीय बासिन्दालाई दिएपछि काम तत्काल सुचारु हुन्छ । त्यसको लागि अछामबाट पहल हुन जरुरी छ’ उनले भने ।


मेल्लेख गाउँपालिका अछामले बाजुराका प्रभावितलाई तत्काल दुइ किस्तामा रकम उपलब्ध गराउने र काम अघि बढाउने सहमति भएको ठेकेदार कम्पनीका स्वारले बताए ।

प्रकाशित : मंसिर ३, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?