२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खाटमा सुत्दा देउताको डर !

मोहन शाही

डोटी — विष्णु माझी अवकाश प्राप्त शिक्षक हुन् । उनको दिपायल सिलगढी नगरपालिका ३, माझीटोलमा ४ कोठाको २ तले घर छ । घरको भुइँतलाका सबै कोठामा चिटिक्क खाट लगाएर सुत्ने व्यवस्था बनाइएको छ । माथिल्लो तलामा भने खाट नलगाएर ओछ्यान मात्र ओच्छ्याइएको छ ।

खाटमा सुत्दा देउताको डर !

गाउँको बीचैमा रहेको दानसिंह माझीको घरको माथिल्लो तला पनि खाली छ । त्यहाँ ओछ्यान र केही ओछ्याउने कपडा मात्र छन् । यस्तो दृष्य यी दुई घरमा मात्र होइन । माझी टोलमा रहेका सबै घरमा यस्तै चलन छ । २ सय परिवार रहेको माझी टोलमा माझी, नाथ, साउँद, लुहारलगायतको बसोबास छ । ‘खाटमा सुत्दा अनिष्ट हुन्छ भन्ने विश्वासले खाटमा सुत्ने साहस कसैले गर्दैनन्,’ विष्णु माझीले भने, ‘देवीदेउताको डरले बाबुबाजेकै पालादेखि यही चलन हो ।’


माथिल्लो तलामा सुत्न मिले पनि खाटमा भने कसैले सुत्न पाउँदैनन् । खाटमा सुत्दा काँप्ने, बिरामी हुने, घरमा शान्ति नहुने स्थानीयको विश्वास छ । ०३८ सालमा एक कर्मचारी दम्पती माझी टोलमा भाडामा बस्दा उनीहरूले खाटमा सुत्ने प्रयास गरेको घटना विष्णु माझीलाई अझै ताजै छ । उनका अनुसार ती कर्मचारीकी पत्नीलाई खाटमा सुत्दाले अनिष्ट भएको देवताले सुनाएपछि त्यसयता कसैले पनि आँट गरेका छैनन् । खाटमा सुत्दा पुरुषभन्दा महिलालाई बढी असर हुने स्थानीयको विश्वास छ । महिनावारी भएका बेला ७ दिनसम्मै माथिल्लो तलामा उक्लन नपाउने शान्ति माझी बताउँछिन् ।


कतिपयले त माथिल्लो तलाका कोठामा लुगाहरूसमेत नझुन्डाउने उनी बताउँछिन् । ‘सानैदेखि यस्तै सुनिरहेका थियौं, कसैले पनि त्यो चलनविरुद्ध जाने दुस्साहस गरेका छैनौं,’ स्थानीय इन्द्रादेवी नाथले भनिन्, ‘देवी–देवता खुसी हुन्छन् भने किन विरुद्धमा जानु ?, हामीलाई खाटमा नसुत्दैमा कुनै अप्ठ्यारो छैन ।’


खाट नलगाउने मात्र होइन । माझी टोलमा २ भन्दा बढी तलाको घर बनाउने चलन पनि छैन । आवश्यक परे घर चौडा र ठूला बनाउने तर २ तलाभन्दा माथि थप्ने आँट कसैले नगरेको दिल्पेश्वर क्याम्पसका प्रमुख मनोहर माझीको भनाइ छ । ‘४/५ तले घर बनाउने हैसियत नभएका परिवार नभएको होइन,’ उनले भने, ‘तर देवी–देवताले अनिष्ट गर्छन् भन्ने भएपछि कसैले बनाएका छैनौं ।’


पहाडी शैलीका घरहरू बढी भए पनि पछिल्लो समय इँटा र सिमेन्टका घर बनाउने चलन भने बढेको छ । ती पनि २ तलाभन्दा माथिका छैनन् । युवाहरूले अन्धविश्वास हटाई नयाँ जीवनशैली अपनाउन प्रस्ताव राखे पनि कसैले पनि कुरा नसुन्ने गरेको क्याम्पस प्रमुख माझीको भनाइ छ ।

प्रकाशित : मंसिर २, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?