१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बसपार्क नहुँदा अस्तव्यस्त बजार

डीआर पन्त

डडेलधुरा — सुदूर प्रदेशका पहाडी जिल्लाको केन्द्रका रूपमा विकसित हुन थालेको डडेलधुरा सदरमुकाम अब्यबस्थित हुँदै जान थालेपछि सर्वसाधारण र आउने जाने यात्रुले निकै सास्ती भोग्नुपरेको छ । पहाडी जिल्लाको केन्द्र वन्न थाले पनि जिल्लामा अहिलेसम्म बसपार्क समेत वन्न सकेको छैन । सदरमुकाम प्रवेशद्वारमा दुइ रोपनी भन्दा कम जग्गामा रहेको सानो बसपार्कमा २० वटा सवारी साधन समेत अटाउने ठाउँ छैन ।

देशका बिभिन्न भागवाट सुदूरका पहाडी जिल्लामा सञ्चालित यातायातका साधन डडेलधुरा भएर जानुपर्ने भएका कारण हरेक वर्ष सवारी साधनको चाप वढ्दै जान थालेको छ । सुबिधासम्पन्न बसपार्क वन्न नसक्दा बजारमा यत्रतत्र सवारी साधन पार्किङ गर्नुपर्ने वाध्यता रहेको छ । ‘नाम मात्रको बसपार्क हो’ महाकाली यातायात डडेलधुराका प्रमुख वीर बहादुर देउवाले भने ‘बजार हुनुपर्ने ठाउँमा बसपार्क छ भन्दा गलत हुँदैन ।’


‘तराइका कैलाली र कञ्चनपुरवाट प्रदेशका ७ पहाडी जिल्लामा जाने आउने यातायातका साधनले डडेलधुरा सदरमुकाममा दैनिक लाग्ने जामका कारण घण्टौं कुर्नुपर्ने हुन्छ’ देउवाले भने ‘देशका बिभिन्न भूभागवाट पहाडी जिल्लामा चल्ने यातायातका साधनको संख्यासँगै डडेलधुरा सदरमुकाम साँघुरिदै जान थालेको छ ।’


हुनपनि सदरमुकामको मुख्य बजार वाघखोर (बागबजार) मा जताततै सवारी साधन पार्किङ हुँदा सर्वसाधारणका लागि हिँड्ने वाटो समेत छैन । डडेलधुरा –बैतडी दशरथचन्द राजमार्गको १५ मिटर क्षेत्रमा ब्यबसायिक पसल र होटेल संचालनमा छन । गाडी गुड्नुपर्ने सडकको दुवैतिर आउने जाने यातायातका साधन पार्किङस्थल वनेपछि स्थानीय वासिन्दाले निकै सास्ती भोग्नु परेको हो । सदरमुकामको मुख्य बजार वाघखोर देखि बजार क्षेत्र किनमडे (किर्तिपुर) सम्म राजमार्गको अधिकांस क्षेत्रमा खोका छाप्रा देखि पक्की घर समेत निर्माण गरेर ब्यबसाय सञ्चालन भइरहेको छ । सदरमुकामको तुफानडाँडा देखि बाघखोरसम्म दैनिक सवारी साधनको जाम हुनु सामान्य जस्तो भएको छ ।


४ वर्ष अघि नगरपालिकामा रहेको तत्कालीन राजनैतिक संयन्त्रले दशरथचन्द राजमार्गको डकलेमा बसपार्क निर्माण गर्न ४० रोपनी जग्गा लिइ काम समेत सुरु गरेको थियो । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म बसपार्क निर्माणको काम अगाडी वढ्न सकेको छैन । स्थानीय वासिन्दाले पटक पटक बसपार्क निर्माणका लागि नगरपालिकालाइ दवाव दिँदा पनि जनप्रतिनिधिले कुनै चासो नदेखाएको गुनासो गरेका छन । तत्कालीन राजनैतिक संयन्त्रले बसपार्क निर्माण गर्न छुट्टयाएको क्षेत्रको पर्यावरणीय प्रभाव मुल्यांकन गर्न १३ लाख रुपैँया समेत खर्च गरेको थियो । त्यस पछि निर्वाचिन जनप्रतिनिधिले चासो नराख्दा अहिलेसम्म बसपार्क निर्माण हुन सकेको छैन । बजार क्षेत्र हरेक दिन अस्तब्यस्त वन्दै जान थालेको छ ।


‘बसपार्क निर्माणका लागि शहरी विकास कार्यक्रम अन्तरगत ग्याभिन पर्खाल निर्माण गर्ने, जग्गा सम्याउने काम समेत भएको हो’ तत्कालीन संयन्त्रका प्रतिनिधि दुर्लभ झुकालले भने ‘स्थानीय तह गठन भएपछि सवै काम अलपत्र अवस्थामा पुगेका छन ।’ पर्यावरणीय प्रभाव मुल्यांकन र अन्य प्राबिधिक कामका लागि संयन्त्रले एक पटक ८ लाख र अर्को पटक ५ लाख गरि १३ लाख समेत खर्च गरेको झुकालले वताए । दुइवटा सामुदायिक वनले बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराउने सहमति समेत दिएको उनले जानकारी दिए ।


यस विषयमा नगरपालिकाका एकजना अधिकृत लालबहादुर साँउदले बसपार्क निर्माणको प्रक्रियामा रहेको जानकारी दिए । उनले भने, ‘सम्भवत केही समयमा नै टेण्डर आह्वान गरिने भएको छ ।’ यस विषयमा नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधिलाइ बढी जानकारी हुन सक्ने पनि उनले बताए । जनप्रतिनिधिहरूले भने यस विषयमा टालटुले उत्तर दिने गरेका छन । हुन्छ, बनाउँदै छौं, यो वर्ष टेण्डर हुन्छ भन्दा भन्दै तीन वर्ष बित्न थालेका छन् ।


‘बसपार्क निर्माण गरेर मात्र समस्या समाधान हुन सक्दैन स्थानीय ब्यबसायी धर्मराज जोशीले भने, ‘अव्यवस्थित रुपमा सडकको जग्गा मिचेर वनेका घर टहरा हटाएर राजमार्गको जग्गा खाली नहुँदासम्म यातायातका साधन सञ्चालन गर्न समस्या रहिरहने देखिन्छ ।’ उनका अनुसार राजनीतिक फाइदा घाटा हेरी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले अब्यस्थित हुँदै जान थालेको सदरमुकाम ब्यबस्थित गर्ने आँट गर्न सकेका छैनन् ।

प्रकाशित : मंसिर २, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?