स्थानीयस्तरमै बीउ उत्पादन

टीकापुर — कैलालीको टीकापुर क्षेत्रमा गहुँ र धानको बिउ आयातमा कमी आएको छ । यहाँका कृषि सहकारी संस्थाले बिउ उत्पादन वृद्धि गरेपछि भारत तथा नेपालकै अन्य ठाउँबाट भित्रिने बिउमा कमी हुँदै गएको हो ।

केही वर्ष अघिसम्म पूर्ण रुपमा भारतीय बिउको भर पर्दै आएका किसान अहिले स्थानीय स्तरमा उत्पादित गुणस्तरिय बिउ प्रयोगमा ल्याइरहेका छन् । कैलालीमा बिउ उत्पादन कम्पनी तथा सहकारी संस्था खुल्दै गएपछि भारतबाट बिउ ल्याउने प्रचलन पनि घट्दै गएको किसान बताउँछन् ।


टीकापुर– ५ का किसान दामोदर खड्काले भारतबाट केही किसानले मात्र अन्नबालीको बिउ ल्याउने गरेको बताए । ‘उता पारि भारतबाट ल्याएको बिउको भरोसा हुन्न,’ खड्काले भने, ‘केही खराबी भए उजुरबाजुर केही गर्न सकिन्न ।’ प्रत्येक बिउ कम्पनीले बिउको गुणस्तर परिक्षण गर्नुपर्ने नियम छ ।


बिउबिजन प्रयोगशालाले बजार अनुगमनका क्रममा नियम विपरितका बिउ भेटिए जफत गर्ने प्रावधान छ । गुणस्तर नभएको बिक्रि गरेको पाइएमा भेटिए बिउविजन ऐन २०४५ अनुसार कारवाही हुन्छ । मर्कामा किसान परेको ठहरिए क्षतिपुर्तिको पनि व्यवस्था छ ।


रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयले अनुदान दिएर कृषि सहकारी संस्थालाई बिउ उत्पादनमा सहयोग गरेपछि यहाँका लागि आवश्यक बिउ स्थानीय स्तरमै उत्पादन र वितरण हुन थालेको हो । सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रमा गत आर्थिक वर्षमा करिब २ सय ५० हेक्टरमा गहुँको बिजबृद्धि कार्यक्रम सुरु गरेकोमा यो वर्ष ३ सय हेक्टरमा बिजबृद्धि कार्यक्रम बिस्तार हुने आयोजनाको कृषितर्फको कार्यालयले जनाएको छ ।


टीकापुरलाई विभिन्न बालीको बिउमा आत्मनिर्भर बनाउन तथा उत्पादन बढाउनका लागि बिजवृद्धि कार्यक्रम सञ्चालन भइरहेको कार्यालयका कोओर्डिनेटर भरत कँडेलले बताए । उनले भने, ‘टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका ११ कृषि सहकारी तथा बिउ उत्पादन कम्पनीमार्फत गहुँको बिउ बृद्धि कार्यक्रम भइरहेको छ ।’


आयोजनाको कृषि कार्यालयकाअनुसार उज्यालो बहुउद्देश्यीय सहकारी सत्ती, बिजवृद्धि कृषक सहकारी संस्था मुनुवा, आधुनिक कृषक बहुमुखी सहकारी अमरावतीलगाएत सहकारीमार्फत गहुँको बिउ बृद्धि भइरहेको छ । यो वर्ष यस क्षेत्रमा सिफारिस गरिएका गहुँका बिभिन्न जातहरूमा विजय, आदित्य, गौतम, बाणगंगा, एनएल २९७, एनएल ९७१ रहेका छन ।


गहुँको बिउमा आयोजनाको कृषि कार्यालयले ५० प्रतिशत र बाली उत्पादन बढाउनका लागि सुक्ष्म पोषक तत्वलगायतमा ७५ प्रतिशत अनुदान दिइएको आयोजनाको कृषि कार्यालयले जनाएको छ । नमुना कृषि सहकारी संस्थाका अध्यक्ष जीतबहादुर चौधरीले स्थानीय बजारभाउ भन्दा बिभिन्न अन्नको बिउको मुल्य १५ प्रतिशत बढी हुने गरेको जानकारी दिए । उनले भने, ‘हामीले किसानलाई मूल बिउ दिन्छौं । पछि उत्पादन भएपछि बिउको पैसा कटाएर किसानलाई बाँकी दिन्छौं ।’

प्रकाशित : मंसिर १, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?