कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पोसिलो खान थाले आमाहरू

तृप्ति शाही

बैतडी — दशरथचन्द नगरपालिका– २ की कमला लुहारले पहिलो र दोस्रो सन्तान जन्माएका बेला आराम गर्न पाइनन् । न त राम्रो सरसफाई नै भयो । पोसिलो खानेकुरा पनि खान पाइन् । 

पोसिलो खान थाले आमाहरू

गर्भवती र सुत्केरी भएपछि हरियो सागपात, गेडागुडी, माछामासु खानु हुँदैन भन्ने चलन गाउँमा भएकाले उनले यस्ता खानेकुराबाट बञ्चित हुनु परेको थियो । तर तेस्रो बच्चा जन्माएका बेला भने पहिलाजस्तो खानेकुरा उनले बार्नु परेको छैन । पोषिलो खानेकुरा त उनी खोजीखोजी खान्छिन् ।


अहिले उनी हजार दिने आमा हुन् । उनको डेढ वर्षकी छोरी छिन् । पहिलो र दोस्रो सन्तानका बेला बच्चा र आफ्नो स्वास्थ्यमा ध्यान दिन नसकेकी उनी अहिले तेस्रो सन्तानको र आफ्नो स्वास्थ्य, सरसफाईलगायतका विषयमा सचेत छिन् । गाउँकै निङलाशैनी आमा समूहमा आवद्ध भएपछि उनलाई आमा र बच्चाको खानपिन, सरसफाइलगायतका बोरमा जानकारी भएको हो । हाल उनले छोरी र आफ्नो राम्रो हेरविचार गरिरहेको बताइन् ।


गर्भवती अवस्थामा पनि माछामासु, अण्डा, हरियो सागपात प्रसस्त खाएको बताइन् । ‘अहिले त आमा समूहमा आवद्ध छु । समूहमा बैठक बसेर सबै कुरा सिकाउँछन् । गर्भवती भएको बेला के गर्ने, के खाने भनेर अनि बच्चालाई कसरी खुवाउने भन्ने बारे पनि जानकारी दिइरहन्छन् ।’


सुरुका २ बच्चालाई ३ महिनामै भैसीको दूध खुवाएको स्मरण गर्दै उनले भनिन्, ‘अहिले त ६ महिनापछि मात्र थप खानेकुरा खुवाएँ, पहिलेका भन्दा अहिलेको बच्चा हृष्टपुष्ट छ ।’ यसरी गाउँघरमा स्वास्थ्य सम्बन्धि काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले समूह गठन गरेर जानकारी दिने कर्मचारी पठाउँदा बच्चा, आफ्नो स्वास्थ्य, सरसफाई, शिक्षाबारे जानकार भएको उनले बताइन् ।


दरशथचन्द नगरपालिका– १ की अर्की हजार दिने आमा काली भूल पनि अहिले आफ्नो र बच्चाको स्वास्थ्यमा ध्यान दिइरहेकी छिन् । टोलकै प्रगतिशील घरायसी आमा समूहको अध्यक्ष भएपछि उनलाई बच्चालाई कसरी स्वस्थ राख्ने, गर्भवती र बच्चा भएको बेला कस्तो खानेकुरा खाने भन्नेबारे जानकार भएकी हुन् । ग्रामीण क्षेत्रका धेरै महिला अहिले आफ्नो र बच्चाको स्वास्थ्य र सरसफाईबारे ध्यान दिन थालेका छन् । स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमले उनीहरूमा परिवर्तन आउन थालेको हो ।

प्रकाशित : मंसिर १, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?