टीकापुर अस्पताल नेतृत्वविहीन

कान्तिपुर संवाददाता

टीकापुर — एक वर्षदेखि टीकापुर अस्पताल नेतृत्वविहीन छ । नेतृत्व दिने अस्पताल विकास समितिको अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट नियुक्त भएका छैनन् ।

प्रदेश सरकार मातहत रहेको यो अस्पताल अस्तव्यस्त हुने थालेपछि नेकपाको टीकापुर नगर कमिटीको पहिलो बैठकले विकास समितिको अध्यक्ष तत्काल नियूक्त गर्न प्रदेश सरकारसमक्ष माग गरेको थियो । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले निर्णय लिन नसक्दा र सबैतिरको खिचातानीले अस्पतालले नेतृत्व पाउन नसकेको हो ।


केही दिनअघि उपभोक्ता हकहित संरक्षण मञ्च टीकापुरलेसमेत अस्पतालको नेतृत्व नहुँदा सेवा प्रभावित हुन थालेको औंल्याएको थियो । मञ्चले तत्काल नेतृत्व पठाउन नगर प्रमुखमार्फत माग गरेका थियो । नेतृत्व नहुँदा टीकापुर अस्पतालको सेवा प्रवाह प्रभावित भएको सेवाग्राही बताउँछन् । वर्ष दिन अघिसम्म यहाँका सर्वसाधारण उपचारका लागि टीकापुर अस्पताल जान्थे । अहिले त्यो अवस्था छैन । उनीहरू निजी क्लिनिक र अस्पताल जानुपरेको बताउँछन् । ‘पहिला अस्पतालमै भिडियो एक्सरे हुने गरेकामा स्वास्थ्य विमाका कारण नि:शुल्क हुन्थ्यो,’ स्थानीय दिलबहादुर चौधरीले भने, ‘अहिले निजीमा गएर भिडियो एक्सरे गर्नुपरेको छ,’ दिलबहादुरले भने ।


अस्पतालमा अध्यक्ष पनि नियुक्त नभएका र मेडिकल सुपरिटेन्डेन्ट पनि नहुँदा कार्यरत कर्मचारी अभिभावकविहीन जस्तो अवस्थामा रहेको कार्यरत कर्मचारीहरू बताउँछन् । ११ डाक्टरको दरवन्दी भए पनि ४ जना मात्र कार्यरत छन् । अस्पतालमा विरामीको चापअनुसार डाक्टर नहुँदा विरामीले सेवा पाउन सकेका छैनन् । दन्तरोग, फिजिसियन र नगरपालिकाबाट नियुक्त स्त्रीरोग, र बालरोग विशेषज्ञ डाक्टर भए पनि विरामीको चाप धेरै हुँदा उपचार नगरी फर्कनुपर्ने अवस्था छ ।


यसअघि मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र खनाल हुँदा हाइड्रोसिल, हर्निया, एपेन्डिक्सलगायतको शल्यक्रिया अस्पतालमै हुन्थ्यो । अहिले यो सेवा ठप्प छ । भिडियो एक्सरे सेवा पनि सेवाग्राहीले पाउन सकेका छैनन् । उपचार नपाएर यहाँका विरामी नेपालगन्ज जानुपर्ने बाध्यता छ । अहिले टीकापुरमा रहेका ५ एम्बुलेन्स बिरामी बोकेर लगातार नेपालगन्ज कुदिरहेका अस्पतालका कर्मचारीहरू बताउँछन् ।


यो अस्पताल ५१ शय्याको हो । डाक्टर र नर्सिङ स्टाफ नहुँदा प्राथमिक स्वास्थ्य केन्द्र जस्तै बनेको कर्मचारी पुष्प धमला बताउँछन् । उनले भने, ‘बिरामीको चाप धेरै छ । अस्पतालमा पोस्टमार्टम पनि हुन्न । पोस्टमार्टम हुन्न भनेपछि कुरै सकियो ।’ आफन्त गुमाएकाहरू पोस्टमार्टमका लागि निकै सास्ती भोग्नु परेपछि आक्रोशित हुने गरेका छन् । उनीहरूले कर्मचारी समायोजनका नाममा सरकारले जनतालाई दु:ख दिएको गुनासो गर्ने गरेका छन् । हाल टीकापुर अस्पतालमा बालरोग, स्त्रीरोग र फिजिसियन रहे पनि उनीहरूले पोस्टमार्टम गर्न मान्दैनन् । उनीहरूले पोस्टमार्टम गर्नेसम्बन्धी तालिम नलिएको भन्दै नगरेको टीकापुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावल बताउँछन् । कोरियन सहयोग नियोग (कोइका) को सहयोगमा स्रोत साधन सम्पन्न अस्पताल भवन निर्माण भएपनि जनशक्ति अभावमा भवन र कतिपय सरसामानको उपयोग हुन सकेको छैन । भवनमा ताला लगाइएको छ । टीकापुर अस्पतालमा डाक्टर निवाससहित १२ भवन छन् । गत वर्ष यहाँ करिब ७० हजार बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ ।


प्रकाशित : कार्तिक ३०, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?