कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नगरपालिका परिसरमै फोहोरको थुप्रो

फोहोर मैला व्यवस्थापन केन्द्र बनाउने टुंगो अझै लागेन
भवानी भट्ट

(कञ्चनपुर) — बिहानै ट्र्याक्टर र टिपरहरू फोहोर संकलनका लागि बजारतिर निस्कन्छन् । एक/डेढ घण्टापछि सबै फोहोर ल्याएर भीमदत्त नगरपालिकाको कार्यालयभित्रै फर्किन्छन् । बजार क्षेत्रबाट संकलन भएको फोहोर मैला कार्यालय परिसरको एउटा कुनामा फालिन्छ । फोहोर मैला व्यवस्थापन केन्द्र डम्पिङ साइट नहुँदा महेन्द्रनगर बजार क्षेत्रको फोहोर यसरी नै फाल्ने गरिएको छ । 

नगरपालिका परिसरमै फोहोरको थुप्रो

नगरपालिकाले फोहोर फाल्ने गरेको ठाउँको एकातिर रेडक्रससंँगै जोडिएको महाकाली अस्पताल छ भने अर्कोतिर आँखा अस्पताल छ । फोहोरको दुर्गन्ध अस्पतालसम्मै पुगेको हुन्छ । फोहोर भएको आसपास त दुर्गन्धले हिड्नै सकिँदैन । त्यहि फोहोर खाएर बजार क्षेत्रका छाडा चौपायाहरू बिरामीसमेत हुने गरेका छन् । फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको कुरा सुरु भएको पनि एक दशक भन्दा बढी भइसक्यो ।


फोहोर मैला व्यवस्थापनका लागि अध्ययन अवलोकन आदीका नाममा अहिलेसम्म कति खर्च भयो कुनै हिसाब–किताब छैन । पछिल्लो एक दशकमा मात्रै ५/६ पटक विभिन्न ठाउँमा विभिन्न टोलीले अवलोकन गरिसकेका छन् । यसबाहेक सेमिनार र गोष्ठीहरू पनि निरन्तर भइरहेकै छन् । तर हालसम्म पनि ठाउँको टुंगो लाग्न सकेको छैन । नगरपालिकाले विभिन्न ठाउँमा सम्भाव्यता अध्ययन पनि गरेको छ । तर सुरुमा स्थानीय सहमत भएपनि अन्तिममा आएर विरोध गर्ने भएका कारण फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणमा निकै समस्या भइरहेको छ ।


‘अहिले विभिन्न ठाउँबाट खाल्डाखुल्डी पुर्न माग आएको छ, बजारको फोहोर त्यहि खाल्डामा व्यवस्थापन गरिरहेका छौं,’ फोहोर मैला व्यवस्थापन शाखामा कार्यरत भीमदत्त नगरपालिकाका योजना अधिकृत पुष्पराज भट्टले भने, ‘त्यहि भएर फोहोर व्यवस्थापनमा सहज भएको छ ।’ उनका अनुसार खाल्डा खुल्डी भर्न नगरपालिकामा थुप्रै निवेदन आएका छन् । यसले नगरपालिका परिसरमा थुप्रिने फोहोर घटाएको छ ।


महेन्द्रनगर बजार क्षेत्रमा मात्रै दैनिक १० टनका हाराहारीमा फोहोर संकलन हुने गरेको छ । नगरपालिकाले २ ट्र्याक्टर, १ टिपर र ३ इलेक्ट्रोनिक रिक्साहरू फोहोर संकलनका लागि प्रयोग गरिरहेको छ । फोहोर संकलनमा ३५ कर्मचारी परिचालन भएको योजना अधिकृत भट्टले बताए । तर फोहोर व्यवस्थापनको ठाउँ अभावले नगर क्षेत्र दुर्गन्धित हुने अवस्था आएको छ ।


केही वर्षअघि सम्म बजार क्षेत्रबाट संकलन गरेको फोहोर थुपार्न मात्रै ठाँउको खोजी भइरहे पनि अहिले भने फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको तयारी भईरहेको हो । एसियाली विकास बैंकको क्षेत्रिय सहरी विकास आयोजनाअन्तर्गत भीमदत्त नगरपालिकामा पुर्वाधार निर्माणका लागि ३ करोड बढी बजेट आएको छ । उक्त योजनाको पहिलो शर्त्त फोहोर मैला व्यवस्थापन केन्द्र नै छ । आयोजना अन्तरगत अहिले साढे १३ किमि कालोपत्रे सडक निर्माणका लागि भीमदत्त नगरपालिकाले टेन्डर आह्वानको सूचना प्रकाशित गरिसकेको छ । फोहोर मैला व्यवस्थापन केन्द्रका लागि पनि उपयुक्त ठाउँ छनोट गरी आवश्यक प्रक्रिया अघि बढाउन भीमदत्त नगरपालिका ११ का अध्यक्ष प्रेम जैशीको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ ।


‘अब कार्यदलले उपयुक्त स्थान छनोट गरेर प्राविधिक रुपमा समेत अध्ययन गरेपश्चात काम अगाडी बढाइनेछ’ नगरपालिकाको प्राविधिक शाखाका प्रमुख इन्जिनियर हिमालयसिंह ऐरले भने, ‘विगतमा हामीले हेरेकै ठाउँलाई नै प्राथमिकतामा राखिनेछ ।’


यसअघि नगरपालिकाले वडा ९ को मटेना क्षेत्रका सामुदायिक वनमा फोहोर मैला व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको थियो । तर उक्त क्षेत्रका स्थानीयको विरोधपछि काम अगाडी बढ्न सकेन । बिहिबार सर्वदलिय वैठक बसेर कार्यदलले छनौट गरेको स्थानमा काम अघि बढाउन सबैले सहयोग गर्न सहमति समेत भएको ऐरले जानकारी दिए ।

प्रकाशित : कार्तिक २९, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?