१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बझाङ जिल्ला अस्पतालमा सुध्रिँदै सेवा

कान्तिपुर संवाददाता

बझाङ — केही वर्ष अघिदेखि सेवाग्राहीका विभिन्न गुनासोको सामना गर्दै आएको जिल्ला अस्पताल बझाङको सेवामा सुधार हुन थालेको छ । अस्पतालमा चिकित्सकको नियमित उपस्थिती र अन्य प्राविधिक तथा प्रशासनिक व्यवस्थापन चुस्त बनेपछि सेवाग्राही सन्तुष्ट हुन थालेका छन् । उपचार सेवामा सुधार भएसँगै यहाँ विरामीको चाप पनि बढ्दै गएको छ । सामान्य उपचारको लागि महँगो खर्च गरेर जिल्ला बाहिर जाने विरामीको संख्या घट्न थालेको छ । 

जिल्ला अस्पतालमा वर्षौदेखि रिक्त रहेको विषेषज्ञ चिकित्सकको दरबन्दी पनि पुर्ति भएको छ । अहिले यहाँ सरकारी दरबन्दीमा १ जना र निक्सामइन नामक संस्थावाट विशेषज्ञ चिकित्सक २ जना कार्यरत छन् । यस्तै प्रदेश सरकारका तर्फबाट १ जना, स्वास्थ्य सेवा विभागबाट दन्तरोग विशेषज्ञ सहित २ जना गरी हाल ६ जना चिकित्सकहरू नियमित सेवामा छन् । ‘पहिला त भद्रगोल नै थियो’ स्थानीय सेवाग्राही धर्मराज बोहराले भने, ‘अहिले डाक्टरहरूको व्यवहार पनि राम्रो छ । उपचारका लागि पहिला जस्तो कुर्न पनि नपर्ने रहेछ ।’ अस्पतालले दिने सेवामा विश्वास नगरेर केही वर्ष पहिला निजी स्वास्थ्य संस्थामा पुग्नेहरू अहिले फेरिएका छन् । चिकित्सक तथा कर्मचारीहरूको विरामीमैत्री व्यवहार र उपचार सेवा पनि पहिलाभन्दा छिटो छरितो हुने गरेको सेवाग्राहीको प्रतिक्रिया छ ।


अस्पतालले अहिले चौबिसै घन्टा शल्यक्रियासहितको प्रसुति सेवा, एपेन्सिाइटिस, हर्निया, हाइड्रोसिलको पनि उपचार सेवा उपलब्ध गराउँदै आएको छ । हाडजोर्नी र छाला सम्बन्धी रोगहरूको पनि जिल्ला अस्पतालमै शल्यक्रिया सेवा सुरु गरिएको छ । नवजात शिशुको विषेश हेरचाह केन्द्र (एसएनसियु) पनि स्थापना गरिएको इन्डोर इन्चार्ज लक्ष्मी शाहीले बताइन् ।


वर्षौदेखि विभिन्न खालका अभाव झेल्दै आएको र सेवाग्राहीलाई उपचार सेवा दिन नसकेको आरोप खेप्दै आएको जिल्ला अस्पताल बझाङले अहिले अत्याधुनिक उपकरणहरू भित्र्याएर सुदुरपश्चिमका अन्य सरकारी अस्पतालमा नभएका सेवाहरू दिइरहेको अस्पतालका डाक्टरहरूले बताए । सामान्य प्रयोगशाला परीक्षण गर्न समस्या भएका कारण विरामीको रोग पत्ता नलागेर उपचारमा कठिनाइ हुने र कतिपय विरामीलाई रेफर नै गर्नु पर्दा गरिब विरामीको खर्च भार बढ्ने अवस्था थियो ।


हाल जिल्लामै इलेक्ट्रोलाइट परीक्षण (मानव शरिरमा हुने पानीमा हुने सुक्ष्म तत्व अवस्था जाँच गर्ने प्रविधि) प्रविधि जडान गरिएको छ । यस्तै रगत दिशा, पिसाब, पिप, खकार आदीमा कुन किटाणुको संक्रमण छ भनेर पत्ता लगाउने कल्चर परीक्षण सेवा पनि सञ्चालन गरिएको जिल्ला अस्पताल प्रमुख डाक्टर संदीप ओखेडाले बताए । यी सेवा सुदुरपश्चिमका सिमित सरकारी अस्पतालमा मात्र भएको उनको दावी छ ।


रोग निदान सेवालाई प्रभावकारी बनाउन डिजिटल एक्सरे, स्वचालित एनालाइजर थाइराइड परीक्षण गर्ने उपकरणहरू पनि अस्पतालले भित्र्याएको छ । यी सेवा सञ्चालन भएसँगै धेरै विरामीको उपचार सहज भएको र जिल्लामै रोग निदान भएका कारण बाहिर पठाउनु नपरेको उनको भनाई छ । बझाङ अस्पताललाई नमुना बनाउने उद्देश्यसहित विद्युतिय विलिङ सेवा र आन्तरिक संचार प्रणाली पनि जडान गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

यस्तै उपचारमा सहज होस भन्ने उद्देश्यले अन्तरंग सेवा अर्न्तगत महिला, पुरुष, प्रसुति, बालरोग र सर्ने खालका संक्रमण भएका विरामीको लागि छुट्टाछुट्टै वार्डको व्यवस्था गरि विरामी भर्ना गर्ने प्रणालीको पनि सुरुवात गरिएको छ । चौबिसै घण्टा विद्युत आपुर्ति गर्न सौर्य प्रणालीको जडान गरिएको यस अस्पतालमा औषधी वितरणलाई व्यवस्थित गर्न मेडिकल र्‍याकको व्यवस्था गरेर वर्णानुक्रमानुसार औषधी राख्ने व्यवस्था गरिएको छ । दुषित पानीले जीवनजल बनाएर खानुपर्ने अवस्था रहेको जिल्ला अस्पतालमा हाल चौविसै घण्टा सफा पिउने पानीको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।


अस्पतालको आन्तरिक र बाहृय वातावरण र कार्यप्रणालीमा सुधार आएपछि आफुहरूलाई काम गर्न थप हौसला र उत्प्रेरणा प्राप्त भएको कर्मचारीहरू बताउँछन् । जिल्ला अस्पतालका अर्का डाक्टर मिलन खड्का भन्छन्, ‘अहिले सबै सिस्टमले काम हुन्छ । यसो हुँदा काम छिटो पनि हुन्छ र काम गर्ने जाँगर पनि आउदो रहेछ ।’


नियमित र पर्याप्त जनशक्ति भएसँगै बिरामीहरूको चाप बढ्न थालेपछि १५ शैय्याको अस्पताललाई ५० शैय्यामा विस्तार गर्न नयाँ भवन निर्माण गरिदैँ छ । भवन निर्माणको काम आगामी वर्षभित्र सम्पन्न हुने र त्यसलगतै आधुनिक भवनबाट सेवा सुचारु गरिने अस्पतालले जनाएको छ । रक्त सञ्चार केन्द्रको अभाव खेप्दै आएको यस अस्पतालले यसै आवभित्र रक्तसञ्चार केन्द्र पनि सञ्चालनमा ल्याउनेगरि काम भइरहेको र यसका लागि विभिन्न निकायबाट सहयोग जुटाइरहेको अस्पताल प्रमुख ओखेडाले बताए ।

प्रकाशित : कार्तिक २९, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?