कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रावलमाथि प्रारम्भिक अनुसन्धान

कान्तिपुर संवाददाता

कञ्चनपुर — सुदूरपश्चिम प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको सम्पत्ति छानबिनको काम प्रारम्भिक चरणमै रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ । जनज्योति एजुकेशन फाउन्डेशनको सेयर बिक्रीमा ठगी तथा कागजात किर्तेको आरोप लागेको पुर्व राज्यमन्त्री प्रकाश रावलको सम्पत्ति विभागले छानबिन गरिरहेको हो । 

रावलमाथि प्रारम्भिक अनुसन्धान

विभागमा देशभरिबाट ठुलो संख्यामा उजुरी पर्ने गर्छन् । ती सबैको प्रारम्भिक चरणको अनुसन्धानपछि मात्रै कमजोरी वा त्रुटी देखिएको खण्डमा मात्रै थप अनुसन्धान हुने गर्दछ । त्यहि प्रक्रियाअन्तर्गत रावलको विषयमा पनि अनुसन्धान भईरहेको हो । ‘अहिले प्रारम्भिक चरणको अनुसन्धान भईरहेको छ, उहाँको सम्पत्तिबारे सबै कागजातहरू संकलन गरिसकेका छौं,’ विभागका एसपी कमल थापाले भने, ‘सम्पत्ति रहने सबै ठाउँमा छापा हानेर कागजातहरू संकलन गरेका छौं ।’ उनका अनुसार मालपोत, बैंक, रावलको ईटा भट्टालगायत ठाउँबाट कागजात र अन्य प्रमाणहरू संकलन गरिएको हो ।


थापाकै नेतृत्वमा विभागको टीम अनुसन्धानका लागि गत साता महेन्द्रनगर पुगेको हो । अहिले सबै कागजातहरूको अध्ययन भइरहेको उनले बताए । प्रारम्भिक चरणको अनुसन्धानपछि कमजोरी देखिए गम्भीर रुपमा अनुसन्धान गरिने उनले बताए ।


एसपी थापाका अनुसार रावलका नाममा जनज्योति फाउण्डेशनसँगै उनको सम्पत्तिका विषयमा विभागमा यसै महिना बेनामे उजुरी परेको छ । उजुरी परेपछि उनको नेतृत्वमा ६ जनाको टोली गत साता महेन्द्रनगर पुगेर आवश्यक काजगातहरू संकलन गरेको हो । ‘दुई महिनाको अवधीमा हामी प्रारम्भिक चरणको अनुसन्धान सक्छौं,’ उनले भने, ‘त्यसपछि कमजोरी देखिए बयान लिने, नियन्त्रणमा लिनेलगायत कामहरू अघि बढ्छन् ।’ उनले विभागमा देशव्यापी रुपमा धेरै उजुरी पर्ने गरेको र तिनको अनुसन्धान सुरुमा प्रारम्भिक चरणबाटै भइरहेको बताए ।


रावलले छानबिनमा सहयोग पुर्‍याउनकै लागि भन्दै आइतबार पदबाट राजीनामा दिएका हुन् । उनीमाथि जनज्योति फाउण्डेशनको सेयर बिक्रीमा ठगि तथा कागजात किर्ते गरेको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । २०६१ असोज २ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको जनज्योति एजुकेसन फाउण्डेशन प्रालीलाई २०७४ माघ ७ मा पब्लिक लिमिटेडमा दर्ता गरिएको छ । पब्लिक लिमिटेडमा दर्ता गर्दा सञ्चालक समितिले सरकारी कागजात किर्ते गरेको जाहेरीकर्ताको आरोप छ । पूर्व राज्यमन्त्री रावलले भने आफुले कुनै पनि सेयर बिक्री नगरेको बताउदै आएका छन् ।


प्रकाशित : कार्तिक २८, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?