कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मुढा बालेर जाँत

कान्तिपुर संवाददाता

कैलाली — चुरेको कठउरस्थित मोहन्याल देवताको मन्दिरमा बिहानैदेखि स्थानीयले सुकेको काठका मुढा जम्मा पारेका थिए । राति ती मुढा बाल्दै देवताका नामको जाँत (मेला) गरियो । चुरे बस्तीका देवता मोहन्यालको जाँत कठउरमा दसैं सकिएको एक महिनापछि लाग्ने गरेको छ । ‘यो जाँत झट्ट हेर्दा आदिमकालको जस्तो लाग्छ,’ स्थानीय वीरेन्द्र बमले भने, ‘यसको मान्यता भेदभावरहित समाजको एकतामा आधारित छ ।’ 

मुढा बालेर जाँत

त्यस दिन स्थानीयले हरेक घरबाट सुकेको मुढा ल्याउँछन् । गाउँका प्रमुख व्यक्ति रजबार, देवताका धामी, पुजारी, बाहुन, ठकुरी, मगर, दलितलगायतले मन्दिरको आँगनमा मुढा बोकेर ल्याउनैपर्छ । कठउरवासीले मात्रै होइन, मोहन्याल गाउँपालिकाका दर्जनभन्दा बढी बस्तीका बासिन्दाले मुढा ल्याउँछन् । मोहन्याल देवताका रजबार टेकबहादुर बमले विधिपूर्वक देवताको पूजा गरेपछि राति मुढा जलाउने गरेको बताए । स्थानीय भाषामा मुढा जलाउनेलाई ‘अगेरी’ भन्छन् । अगेरी बलेपछि धामीको नृत्य सुरु हुन्छ । धामीको नाच नै मेलाको मुख्य आकर्षण हो । अगेरीको उज्यालो बस्तीमा परेपछि परम्परागत खेल, नाचगान र देउडा खेल्ने चलन छ ।


रातभरि अगेरी जलेपछि बिहान मेला सकिन्छ । ‘बिहानपख पुन: पूजापाठ गरी धामी कमाउने गरिन्छ,’ देवताका भण्डारे यज्ञबहादुर ताडीले भने, ‘त्यसपछि देवताबाट आशीर्वाद थापेर घर फर्कने चलन छ ।’ उनका अनुसार हजारभन्दा बढी स्थानीय अगेरीको उज्यालोमा रमाएर रात काट्छन् । यसपटकको सहभागिता उल्लेख्य रह्यो ।


मोहन्यालका धामी दिलबहादुर ताडीले जाडोबाट बच्न अगेरी बाल्ने चलन चलेको बताए । ‘मोहन्यालको जाँत तीन/चार सय वर्ष पहिले सुरु भएको हो भनेर हामी मान्छौं,’ उनले भने, ‘त्यसबेला सानो बस्ती थियो । पूजा गरेपछि मंगल गीत गाएर खेल गर्दा अगेरी बाल्ने चलन बस्यो ।’ दाउरा सबैले ल्याउनुपर्ने नियम बाँध्न जाँतमा सबैलाई अनिवार्य रूपमा मुढा बोकेर आउन भनिएको उनले बताए ।

प्रकाशित : कार्तिक २७, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?