चेलीबेटी बेचबिखन बढ्दै

निर्मला खडायत

(धनगढी) — गतसाता जिल्ला प्रहरी कार्यालय कैलालीले बेचबिखनमा परेकी ४ युवतीको त्रिनगर नाकाबाट उद्धार गर्‍यो । बेचबिखनमा संलग्न चितवनकी ३९ वर्षीया सपना प्रजापतिसमेत पक्राउ परिन् ।

चेलीबेटी बेचबिखन बढ्दै

सपनाले ४ युवतीलाई फेसबुकबाट राम्रो रोजगारीको प्रलोभनमा पारेर बेचबिखनका लागि भारत लैजादै गर्दा प्रहरीले पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेशमा मानव बेचबिखनका घटना बर्सेनि बढिरहेको प्रहरीले जनाएको छ । दलालहरूले नयाँनयाँ उपाय अपनाएर महिलाहरूलाई फसाउने गरेका छन् ।


चेलीबेटी बेचबिखन नियन्त्रण गर्न वर्षौं अघिदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरू अभियान सञ्चालन गर्दै आएका भएपनि बेचविखनको क्रम भने घट्नुको सट्टा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पछिल्लो समय पढेलेखेका शिक्षित युवतीहरू पनि बेचबिखनमा पर्ने गरेका छन् । कार्यालयका अनुसार चालु आवको ४ महिनामा कैलालीको त्रिनगर नाकाबाट ७ महिलाको उद्धार गरिएको छ ।


पछिल्ला ३ वर्षयता ८८ महिला तथा बालबालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले बताए । ‘बर्सेनि यो संख्या कम हुनुको साटो बढ्दै गएको छ,’ उनले भने, ‘महत्त्वकांक्षी महिलाहरू बेचबिखनको चपेटामा पर्ने गरेको देखिएको छ । दलालहरूले विभिन्न प्रलोभन देखाएर फसाउने गरेका हुन् ।’


मानव बेचविखन तथा ओसारपसारविरुद्ध कार्य गर्दैर् आएको माइती नेपाल कैलाली प्रमुख शिवचरण चौधरीले चालु आवको पछिल्लो ४ महिनामा त्रिनगर नाकाबाट मात्रै ६६ महिलाको उद्धार गरिएको बताए । उनले हरेक वर्ष दलालहरूले नयाँ तरिका अपनाएर चेलीबेटीलाई सीमा कटाउने भएकोले पक्राउ गर्न समस्या हुने गरेको बताए । ‘पहिले नपढेकाहरू मात्रै बेचबिखनमा पर्ने गर्थे । अहिले बढिजसो पढेलेखेका महिला तथा बालिकाहरू रोजगारीका नाममा बेचिने गरेका छन्,’ चौधरीले भने, ‘बढि महत्त्वकांक्षी भएका महिलाहरू छिटै नै धनी हुने लोभमा बेचबिखनमा पर्ने गरेका छन् ।’


माइती नेपाल कैलालीका अनुसार गत आव ०७५/७६ मा त्रिनगर नाकाबाट १ सय ५० महिला तथा बालिकाको उद्धार गरिएको छ । ०७४/७५ मा गौरीफन्टा सीमा नाका भएर भारततर्फ लैजादै गरेका १ सय १९ जनाको उद्धार गरेको छ । ०७३/७४ मा भने भारततर्फ लैजादै गरेका ८६ जनाको उद्धार गरिएको थियो ।


प्रकाशित : कार्तिक २७, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?