कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

चेलीबेटी बेचबिखन बर्सेनि बढ्दै

निर्मला खडायत

धनगढी — गतसाता जिल्ला प्रहरी कार्यालय कैलालीले बेचबिखनमा परेकी ४ युवतीको त्रिनगर नाकाबाट उद्धार गर्‍यो । बेचबिखनमा संलग्न चितवनकी ३९ वर्षीया सपना प्रजापतिसमेत पक्राउ परिन् ।

चेलीबेटी बेचबिखन बर्सेनि बढ्दै

सपनाले ४ युवतीलाई फेसबुकबाट राम्रो रोजगारीको प्रलोभनमा पारेर बेचबिखनका लागि भारत लैजादै गर्दा प्रहरीले पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेशमा मानव बेचबिखनका घटना बर्सेनि बढिरहेको प्रहरीले जनाएको छ ।


दलालहरूले नयाँनयाँ उपाय अपनाएर महिलाहरूलाई फसाउने गरेका छन् । चेलीबेटी बेचबिखन नियन्त्रण गर्न वर्षौं अघिदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरू अभियान सञ्चालन गर्दै आएका भएपनि बेचविखनको क्रम भने घट्नुको सट्टा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पछिल्लो समय पढेलेखेका शिक्षित युवतीहरू पनि बेचबिखनमा पर्ने गरेका छन् । उनीहरू राम्रो जागिर र धेरै पैसाको प्रलोभनमा पर्ने गरेका छन् ।


कार्यालयका अनुसार चालु आवको ४ महिनामा कैलालीको त्रिनगर नाकाबाट ७ महिलाको उद्धार गरिएको छ ।


पछिल्ला ३ वर्षयता ८८ महिला तथा बालबालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले बताए । ‘बर्सेनि यो संख्या कम हुनुको साटो बढ्दै गएको छ,’ उनले भने, ‘महत्त्वकांक्षी महिलाहरू बेचबिखनको चपेटामा पर्ने गरेको देखिएको छ । दलालहरूले विभिन्न प्रलोभन देखाएर फसाउने गरेका हुन् ।’


मानव बेचविखन तथा ओसारपसारविरुद्ध कार्य गर्दैर् आएको माइती नेपाल कैलाली प्रमुख शिवचरण चौधरीले चालु आवको पछिल्लो ४ महिनामा त्रिनगर नाकाबाट मात्रै ६६ महिलाको उद्धार गरिएको बताए । उनले हरेक वर्ष दलालहरूले नयाँ तरिका अपनाएर चेलीबेटीलाई सीमा कटाउने भएकोले पक्राउ गर्न समस्या हुने गरेको बताए । ‘पहिले नपढेकाहरू मात्रै बेचबिखनमा पर्ने गर्थे । अहिले बढिजसो पढेलेखेका महिला तथा बालिकाहरू रोजगारीका नाममा बेचिने गरेका छन्,’ चौधरीले भने, ‘बढि महत्त्वकांक्षी भएका महिलाहरू छिटै नै धनी हुने लोभमा बेचबिखनमा पर्ने गरेका छन् ।’


माइती नेपाल कैलालीका अनुसार गत आव ०७५/७६ मा त्रिनगर नाकाबाट १ सय ५० महिला तथा बालिकाको उद्धार गरिएको छ । ०७४/७५ मा गौरीफन्टा सीमा नाका भएर भारततर्फ लैजादै गरेका १ सय १९ जनाको उद्धार गरेको छ । ०७३/७४ मा भने भारततर्फ लैजादै गरेका ८६ जनाको उद्धार गरिएको थियो ।


बेचबिखन नियन्त्रणका लागि भारतीय सीमा नाकामा झन्डै २ दशकअघि देखि प्रयास सुरु भए पनि प्रत्यक्ष संलग्न व्यक्ति तथा गिरोह भने पक्राउ पर्न नसकेको चौधरीको भनाइ छ । ‘तल्लो स्तरका ब्यक्तिहरू पक्राउ परे पनि मुख्य गिरोह अन्तबाट सञ्चालन हुने भएकोले उनीहरूलाई पक्राउ गर्न सकिएको छैन,’ चौधरीले भने ।


चेलीबेटी बेचबिखन रोकथामका लागि कार्यरत संस्था थ्री एन्जल नेपाल धनगढी शाखाका प्रमुख वीरबहादुर विकले बेचबिखनमा पर्नेमा १५ देखि २०/२२ वर्षका युवतीको संख्या बढेको बताए । तर, पछिल्लो समय ३०/४० वर्षका महिलाहरू पनि बेचबिखनमा पर्ने गरेको उनको भनाइ छ ।


बेचबिखन रोकथाममा सक्रिए रहेका संस्थाहरूबीच आपसमा समन्वय भने छैन । सबै सरोकारवालाहरूबीच समन्वय जरुरी रहेको स्वतन्त्रता नेपाल कैलाली संयोजक ऋतु भट्टराईले बताइन् । ‘चेलीबेटी बेचबिखन रोकथामका लागि थुप्रै निकाय सक्रिय छन् । तर, उनीहरूबीच समन्वय हुन नसक्दा दलालहरूको मुख्य गिरोह पक्राउ पार्न सकिएको छैन,’ उनले भनिन्, ‘पूर्वका चेलीहरू पश्चिमको सीमा नाका र पश्चिमका चेलीहरू पूर्वका नाका भएर बेचिने भएकोले संस्थाहरूबीच समन्वय हुन एकदमै जरुरी छ ।’

प्रकाशित : कार्तिक २६, २०७६ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?