कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

हराउँदै मौलिक घर

(बझाङ) र (बैतडी) — झुरुप्प परेका बस्ती । रातो माटो र कमेरोले लिपेर चिटिक्क पारेका घर । घरको अगाडी झुन्ड्याइएका काष्ठ कलाको प्रदर्शन गरेर बनाइका दलान । किरीमिरी देखिने गरी स्लेटले छाएका कलात्मक घरका छाना । गाउँको बीचमा चौतारो वा भुवाखाडो (गाउँभरीका मान्छे जम्मा हुन मिल्ने फराकिलो ठाउँ) । सुदुर पहाडका अधिकांश गाउँहरूको परिचयसँग जोडिने कुराहरू हुन् । 

हराउँदै मौलिक घर

समयक्रमसँगै गाउँको परिचयसँग जोडिएका यस्ता चिनारी मेटिने क्रम बढ्दो छ । परम्परागत सिप साधन र प्रविधि प्रयोग गरी बनाइएका घरहरूलाई एकपछि अर्को गर्दै सिमेन्ट कंक्रिटले बनेका घरले विस्थापन गरिरहेका छन् । ढलान हाल्न नसक्नेहरूले पनि घरको छानोमा स्लेटसाटो जस्तााले छाउन थालेपछि गाउँको स्वरुप परिवर्तन हुन थालेको छ । मौलिकता हराउन थालेको छ ।


‘अचेल गाउँहरू गाउँ जस्ता देखिन छाडिसके,’ गाउँघरले मौलिकता गुमाउँदै गएको प्रति चिन्ता व्यक्त गर्दै बझाङको खप्तड छान्नाका गाउँपालिकाका कलक खत्रीले भने ‘सबैलाई लिन्टर (सिमेन्ट ढलानवाला) घर बनाउने रहर जागेको छ । यस्तै हो भने छोरानातिले पुराना शैलीका घर फोटोमा मात्र देख्न पाउने छन् ।’


बझाङ र बैतडीमा परम्परागत घरहरूलाई कंक्रिट संरचनाले विस्थापन गर्ने प्रतिस्पर्धा सदरमुकामबाटै सुरु भएको थियो । हाल बझाङ सदरमुकाम चैनपुर र बैतडीको खलंगामा परम्परागत शैलीका घरहरू विस्थापित हुने अवस्थामा पुगेका छन् । यो प्रतिस्पर्धा अहिले गाउँतिर चल्दै छ ।


‘हामी त पुरानै शैलीको घरमा हुर्किएका हौं, अहिले त्यस्ता घर देखिनै छोडे । अव त भूल्न पनि थालीसक्यौ । सबैले पुराना घर भत्काए । नयाँ बनाउनेले अहिले कै शैलीका बनाउछन्,’ बैतडी सदरमुकाम खलंगाकी शान्ति चन्दले भनिन्, ‘अहिलेका घरहरू बलिया त होलान् तर पहिलेका जस्ता सुन्दर लाग्दैनन् ।’


‘सडक पुगेर गाडी गुड्न थालेपछि यहाँ पुराना शैलीका घर भत्काएर नयाँ बनाउने प्रतिस्पर्धा नै चलेको छ,’ बझाङ सुर्मा गाउँपालिकाका जनक बोहराले भने, ‘सक्नेले ढलान हालेर घर बनाएका छन । नसक्नेले छानोमा टिन (जस्तापाता) हालेका छन् । पुराना शैलीका घर त अब गाउँमा नै छैनन् भन्दा पनि हुन्छ ।’ एकाएक गाउँभरीका मान्छे आधुनिक घरमा आकर्षित हुनुको कारण एक अर्काको देखासिकी भएको स्थानीय बताउँछन् । ‘अब त आधुनिक घर नबनाए लाज हुने अवस्था भइसक्यो,’ बझाङकै दौलिचौरका गणेश बोहराले भने, ‘वरिपरिका सबैले पक्की घर बनाए पनि बीचमा स्लेटले छाएको एक्लै घर नसुहाउँदो जस्तो देखिने रैछ । त्यसैले मैले पनि भत्काएर ढलान घर बनाएँ ।’


आधुनिक घरको फेसनका कारण पुराना शैलीका घरहरू लोप हुँदै गए पनि स्वास्थ्यका हिसाबले पुराना शैलीका घरै गुनिला हुने गरेको स्थानियको अनुभव छ । ‘स्लेटको छाना हुँदा गर्मीर्मा शीतल हुन्थ्यो । जाडोमा न्यानो हुन्थ्यो,’ बैतडी दशरथ चन्द नगरपालिकाका देवदत्त बडुले भने, ‘के फेसन आयो कुन्नी, ढलान घरमा त जाडोमा भित्र बसि नसक्नु हुन्छ ।’ उनले जस्तापाताले छाएको घरमा पनि गर्मीमा तातेर दिउँसो भित्र पस्न नसकिने र हिउँदमा जाडोले सताउने गरेको बताए ।


बलियो हुने हेर्दा आकर्षक देखिने भएकोले यहाँका स्थानीयले आधुनिक शैलिका घरहरू प्रति आकर्षण बढेको बताउछन् । विकास र समृद्धिका नाममा मौलिकतामाथि भइरहेको अतिक्रमण राम्रो नभएको बझाङका विष्णुभक्त शास्त्री बताउँछन् । ‘परम्परागत शैलीका घर पर्यटकीय दृष्टिकोणमा महत्त्वपूर्ण आकर्षण हुन्, अब त्यो विस्तारै लोप हुन थालेका छन् । गाउँले मौलिकता गुमाउनु राम्रो होइन,’ उनले भने ।




प्रकाशित : कार्तिक २६, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?