कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चलेकै छन् पुराना प्रविधि

मेनुका ढुंगाना

(अछाम) — कमलबजार नगरपालिका १, मुलीकी सरु विष्ट ६० वर्ष पुगिन् । गाउँमा बिजुली पुगेर मिल स्थापना भए पनि उनी कुटानी पिसानी घरमै गर्छिन् । बजारबाट किनेर ल्याएको चामल, पीठोको अन्न पनि खाएकी छैनन् । ओखल, जाँतोमै कुटानी र पिसानी गर्छिन् ।

चलेकै छन् पुराना प्रविधि

‘गाउँमा मिल भए पनि ओखल जाँतो बन्द गरेको छैन । अझै आफैं धान कुट्छु । पीठो पिस्छु,’ उनले भनिन्, ‘सुत्केरी आमा र बच्चाको लागि ओखलमा कुटेको धान र कोलमा पेलेको तेल औषधि जस्तै हो । यसमा न कुनै मिसावटको डर हुन्छ । न पैसा नै खर्च हुन्छ ।’ उनका अनुसार आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका बढे पनि पुराना पुस्ताले नै ग्रामीण क्षेत्रको रैथाने प्रविधि जोगाएका छन् ।


‘उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने कोल, धान, मकै कुट्ने ओखल हामीले नै जोगाएर राखेका छौं,’ मुलीकै गुमा विष्टले भनिन्, ‘कोलबाट उत्पादित तेलमा मेसिनमा पेलेर निकालिएको तेलको तुलनामा बढी शुद्धता हुने विश्वास गरिन्छ्र ।’ उनका अनुसार जन्मनेबित्तिकै बच्चालाई यो कोलमा पेलेको तेलको प्रयोग गर्दा दिमाग तेजिलो हुने विश्वास गरिन्छ । अहिले त यहाँ कोलबाट पेलेको तेल घरमै लिन आउने धेरै छन् । उनले भनिन्, ‘बजारमा पाउने तेलभन्दा दोब्बर मुल्य बढि दिएर तेल लैजान्छन् ।’ उनका अनुसार कोलमा प्रयोग हुने काठलाई घन्टी, पाटी र

बियो भनिन्छ ।


लोप हुँदै गएका पुराना पुर्खौली मौलिक संरचना, प्रविधिहरू नयाँ बिद्युतिय सामग्रीहरूको बढ्दो बजारले गर्दा खोज्दा पनि नपाइने भएकोप्रति स्थानीय चिन्तित छन् । ‘अहिलेका नयाँ पुस्ताहरू नाम सुने पनि अचम्म मान्ने गर्छन् । खोजेर पढ्न हेर्न त परको कुरा हो,’ ढकारीका स्थानीय रामबहादुर बुढाले भने, ‘यसरी नै भूलिदै गयो भने भोलि आउने नयाँ पुस्ताहरूले के सिक्ने कसरी थाहा पाउने हाम्रो पुर्खौली प्रविधिहरू ।’ उनका अनुसार केही वर्ष अघिसम्म गाउँघरमा चिउरी तथा तोरी पेल्न प्रयोग गरिँदै आएका काठे कोल यतिबेला विभिन्न प्रविधिको विकाससँगै लोप हुँदै गएका छन् । अहिले पनि जिल्लाका बस्ती, बलाता, ढकारी, हिच्माका कृषकले काठे कोलको प्रयोग गर्ने गरेका छन् । यी क्षेत्रमा ओखल, ढिकी र जाँतो पनि हटेका छैनन् ।


स्थानीयस्तरमा परम्परागत प्रविधिको प्रयोग कम हुँदै गएका मुलीका नन्द विष्ट बताउँछन् । ‘पुराना वस्तुको संरक्षण गर्नेभन्दा पनि छिटो छरितो कसरी हुन्छ भन्नेतिर लागेका कारण कोल हराउन थालेका हुन्,’ उनले भने । उनका अनुसार एकदशक अगाडिसम्म कृषकले कोलको माध्यमबाट तोरी र चिउरी पेलेर घिउ तेलको जोहो गर्दै आएका थिए । कोलको निर्माण गर्दा लगानी कम लाग्ने भए पनि कोलमा पेलेर तेल निकाल्ने काम भने त्यति सजिलो छैन । तोरी, चिउरीलगायत वस्तु आधुनिक मेसिनबाट पेल्ने गरिए पनि चिउरीको बिजुला पेल्न भने काठे कोल निकै उपयोगी भएको उनको भनाई छ । गाउँका बुढापाकाले यस्ता वस्तुको संरक्षण हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।


चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै घट्दै गएको स्थानीय बताउछन् । स्थानीय स्रोत, साधन एवं स्थानीय सीपबाटै निर्माण गरिने घरेलु मेसिनबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा समेत अध्ययन गर्न सकिने स्थानीयको बुझाइ छ ।


प्रकाशित : कार्तिक २६, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?