पाँच जिल्लामा चुनावी तयारी

मेनुका ढुंगाना

(अछाम) — स्थानीय तहको उपनिर्वाचन गर्नुपर्ने सुदूरपश्चिमका ५ जिल्लामा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी सुरु गरेका छन् । कञ्चनपुर, बैतडी, डोटी, अछाम र बाजुराका गरी ७ स्थानमा उपनिर्वाचन हुँदैछ । सम्बन्धित निर्वाचन कार्यालयका अनुसार सम्बन्धित जिल्लामा निर्वाचन अधिकृत तोकिएको छ । अहिले उनीहरूलाई आवश्यक प्रशिक्षण लगायतका काम भइरहेको छ । 

पाँच जिल्लामा चुनावी तयारी

अछामको मेल्लेख गाउँंपालिका–५ का वडाध्यक्ष रामबहादुर बोहरा, बैतडीको पुर्चौडी नगरपालिका–४ का वडाध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष कलसबहादुर चन्द र दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर बिष्टको निधनपछि पद रिक्त छ । यी पदमा जनप्रतिनिधि चयनका लागि उपनिर्वाचन हुन थालेको हो ।


यस्तै डोटीको आदर्श गाउँपालिका–२ का वडाध्यक्ष पदमसिंह बोहरा, बाजुराको त्रिवेणी नगरपालिका–१ का वडाध्यक्ष खम्म दमाईको पनि मृत्युले पद रिक्त छ । कञ्चनपुर जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएपछि फैरु तामाङले पुनर्वास नगरपालिका–३ को वडाध्यक्ष पद छाडे । उक्त पदका लागि पनि निर्वाचन हुँदैछ । उपनिर्वाचनमा सुदूरपश्चिम प्रदेशका १० हजारभन्दा बढीले मतदान गर्न पाउनेछन् । डोटीको आदर्श–२, अछामको मेल्लेख–५ र बाजुराको त्रिवेणी–१ मा गरि ४ हजार ३ सय ३६ मतदाता छन् । डोटीको आदर्श–२ मा २ हजार ४ सय ५९ र अछाममा १ हजार ९ सय ४ मतदाता छन् । बाजुरामा १ हजार ३९ र कञ्चनपुरमा १ हजार १ सय ९९ मतदाता छन् ।


सुदूरपश्चिमका यी पाँच जिल्लाबाट १० हजार ९ सय ३६ मतदाताले उपनिर्वाचनमा भाग लिनेछन् । अछामको मेल्लेख–५ मा निर्वाचन कार्यालय स्थापना गरिएको छ । भवानी आधारभूत विद्यालय काटेगाउँ र जनता मावि मेल्लेखमा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकारी गजेन्द्रप्रकाश थारूले बताए ।

प्रकाशित : कार्तिक २४, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?