कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

आम्दानीको स्रोत : प्राकृतिक ताल

कान्तिपुर संवाददाता

टीकापुर — वन जंगलमा रहेका प्राकृतिक ताल स्थानीय तहको आादानीको स्रोत बनेको छ । बेवारिसे जस्तै रहेका पोखरीलाई माछा पालन व्यवसाय गर्न दिएपछि स्थानीय तहको आम्दानीको स्रोत बनेको हो ।

कैलालीमा रहेका भजनी, घोडाघोडी र कैलारी गाउँपालिकामा बढी प्राकृतिक ताल छन् । यी प्राकृतिक ताललाई स्थानीय तहले ठेक्का दिएर माछापालन व्यवसाय गर्न दिएका छन् ।


भजनीमा २५ जति प्राकृतिक ताल रहेका र त्यसबाट वार्षिक १ करोड जति आम्दानी हुने गरेको भजनी नगरपालिकाको योजना शाखाले जनाएको छ । नगरपालिकाका इन्जिनियर भक्तराज जोशीका अनुसार भजनी नगरपालिकामा आन्तरिक आम्दानीको प्रमुख स्रोत छ । त्यसैगरी कैलारी गाउँपालिकाले पनि माछा तालबाट वार्षिक करिब ८० लाख आम्दानी गर्ने जनाएको छ । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले भने, ‘गाउँपालिकाको मुख्य आन्तरिक आय माछा पोखरी नै हो । यहाँको माछा सुदूरपश्चिम प्रदेश भरी र ५ नम्बर प्रदेशमा पनि जान्छ ।’


सुधारेर माछा पोखरी बनाइएका ताल पर्यटकीय स्थलका रुपमा पनि विकास भइरहेका छन् । कैलारीको कोइलही ताल, घोडाघोडीको ओजहुवा तालमा पर्यटकका लागि डुंगा सयर गराएर पनि आम्दानी गर्ने गरेका छन् । जैविक तटबन्ध, तालको सरसफाइ गरी ओजहुवा ताल सुधारेर घोडाघोडी नगरपालिकाले पर्यटकका लागि डुंगा संचालन गरेको हो । घोडाघोडी तालको अवलोकन मात्र गर्न पाउने पर्यटक डुंगा संचालन गरिएपछि डुंगा चढ्न रमाउन थालेका छन् ।


करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको ओजहुवा तालमा घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले ५ लाख लगानी गरेर जैविक तटबन्ध र ताल सरसफाइ गरी ४ वटा डुंगा संचालनमा ल्याइएको नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले बताए । ‘रामसारका कारणले घोडाघोडी तालमा पर्यटकका लागि डुंगा संचालन गर्न नुहुने भो’ नगरप्रमुख चौधरीले भने ‘त्यसैले डुंगा सयरका लागि घोडाघोडी ताल नजिकै रहेको ओजहुवा तालमा व्यवस्था गरेका हौं ।’


वनमा रहेका तालमा माछा पोखरी बनाउदा बुद्धिमत्तापूर्वक उपयोग गर्न जरुरी रहेको संरक्षणकर्मी हिरूलाल डगौराले बताए । उनले भने, ‘ताल व्यवस्थापन गर्दा जैविक विविधता नष्ट नहुने किसिमले गर्नु पर्‍यो ।’ उनकाअनुसार माछा मार्दा कतिपयले पम्पसेट लाएर पुरै पानी सुकाउने गरेको देखिन्छ । यसले जलिय जीव नष्ट हुने खतरा रहन्छ । हिरूलालले भने, ‘माछा बेचेर मात्र आम्दानी हेर्नु भन्दा प्राकृतिक तालमा माछा पालन सँंगसंँगै पर्यटन प्रवर्द्धनमा पनि ध्यान दिन सके दोहोरो फाइदा हुन सक्छ ।’


प्रकाशित : कार्तिक २३, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?