वडासदस्य मृत भेटिए

कान्तिपुर संवाददाता

बैतडी — पुरचौडी नगरपालिका ३ का वडासदस्य गणेश पार्की शुक्रबार बिहान वडा १ को राताशीला मन्दिर नजिकै देवलमा मृत भेटिएका छन् । ४५ वर्षीय पार्की गएराति स्थानीय राताशिला मन्दिरमा लागेको मेला हेर्न गएका थिए ।

बिहानै उनी मृत भेटिएको खबर आएपछि प्रहरी घटनास्थल पुगेर शवलाई पोष्टमार्टमको लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

प्रकाशित : कार्तिक २३, २०७६ ०९:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गन्तव्य बनेको कुम्भकर्ण

पहिले विदेशी पर्यटक मात्र जाने कुम्भकर्ण धार्मिक पर्यटनसँग जोडिएपछि चहलपहल बढ्दो
आनन्द गौतम

(ताप्लेजुङ) — सेवास्थल ४ हजार ५ सय ६१ मिटर उचाइमा । अगाडिपट्टि टलक्क टल्कने ७ हजार ७ सय १० मिटर उचाइको कुम्भकर्ण हिमाल देखिन्छ, जसलाई किराँतीहरू ‘फक्ताङलुङ’ सम्बोधन गर्छन् ।

गोलो आकारको देखिने शिर, दुईमध्येको एउटा कुम झरेको जस्तो देखिने हिमाल मजाले नियाल्न सकिन्छ । कञ्चनजंघासँगै जोडिएर रहेकाले बनावटका कारण यसलाई धेरै कञ्चनजंघा भनेर पनि अलमलिन्छन् । कञ्चनजंघाको तुलनामा यो चुचुरो ८ सय ७६ मिटर होचो छ । हिमालसँग कुहिरो लुकामारी खेलिरहन्छ । कहिले पूरै ढाक्छ, कहिले छाडेर हट्छ ।

उडेर आउने कुहिरोले बेला–बेला पानी ल्याउँछ र कहिले हिउँको वर्षा गराइदिन्छ । कुम्भकर्ण विगतदेखिकै पर्यटकीय गन्तव्य हो । विदेशी पर्यटक कञ्चनजंघा परिक्रमा गर्दा यही हिमालको फेदीबाट आउजाउ गर्छन् । हावा चलिरहने, लामो समय बस्नका लागि निकै कठिन हुने यो क्षेत्र अहिले धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ ।

किराँत धर्मगुरु आत्मनन्द लिङ्देन ६ दिनसम्म बसेका कारण महत्त्व थप बढेर गएको छ । उनले कात्तिक ६ देखि १० सम्म यहीं बसेर ध्यान गरे । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द महिङगुम आङसिमाङले तपस्या गरेको स्थलमा यो वर्ष एक सातामा ९ सय ८१ जना पुगेर फर्किएको किराँत सेवा समिति सदस्य ज्ञानु फुरुम्बोले बताए ।

यो वर्ष यहाँ कात्तिक ५ देखि ११ सम्म विशेष सेवाको आह्वान गरिएको थियो । यसै स्थलबाट नामकरण गरिएको फक्ताङलुङ गाउँपालिका–६ लेलेप घुन्साका पर्यटन व्यवसायी हिमाली चुङदाका अनुसार आन्तरिक पर्यटक यति ठूलो संख्यामा आएको यो पहिलोपटक हो । बर्सेनि धर्म अनुरागीहरू भने पुग्ने गरेका छन् ।

मनसुन सकिँदा नसकिँदै सुरु हुने फक्ताङलुङ दर्शनमा टोली–टोली बनाएर जान्छन् । वर्षा भइरहने भएकाले हरेकले आफूले बोकेको झोला र ढाकरलाई प्लास्टिकले बेरेका हुन्छन् । आफू ओतिन छाता र थप प्लास्टिक अनिवार्य । सामान्यतया असोज अन्तिमदेखि कात्तिक दोस्रो सातासम्म सेवाका लागि जानेको लस्कर लाग्ने गरेको ज्ञानुले बताए ।

लेलेप खम्बाछेनको बस्ती नजिकमा रहेको यहाँ सबैभन्दा बढी जोखिम चिसोको हुन्छ । विदेशी पर्यटक आउने र सेवा गर्ने समय एकै भएकाले आन्तरिक पर्यटकलाई समेट्न खम्बाछेनलाई कठिन हुन्छ ।

यहाँ पनि आधा दर्जन मात्रै घर छन् । त्यही भएर तीर्थयात्रीहरूको सबैभन्दा भारी कपडाको हुन्छ । अहिलेसम्मको यात्रामा हरेकले ठूलै झोलामा सामान बोक्छन् । गाउँबाट जानेहरूले ढाकर नै बोक्छन् । पूजाका सामग्रीदेखि बासका लागि चाहिने म्याट्रेस, पाल र खानेकुरासम्म हुन्छ तीर्थयात्रीसँग । बदलिँदो समय र यात्रुहरू रित्तो हिँड्न रुचाउने भएकाले ठाउँठाउँमा होटल लज हुनुपर्ने माग गर्न थालेका छन् ।

यहाँ जानेको यात्रा इलामको लारुम्बाबाट सुरु हुन्छ । धर्मगुरु लिङ्देनको आशीर्वाद लिएर तीर्थालुहरू यात्रा प्रारम्भ गर्छन् । यहाँबाट पैदलै यात्रा गरे फक्ताङलुङ पुगेर फर्कन २२ दिनसम्म लाग्छ । गाडी चढे ताप्लेजुङको फुङलिङबाट एक सातामा यात्रा पूरा हुन्छ ।

सदरमुकामबाट तापेथोकको रानीपुलसम्म गाडी चल्छ । फुङलिङबाट त्यहाँसम्मको भाडा ७ सय रुपैयाँ छ । यो ठाउँलाई किराँतीहरूले पारुम्फुकु, मारुम्फुकु भन्छन् । यसको अर्थ पितृदेव र मातृदेव भन्ने हुन्छ । फक्तालुङलाई पितृ–मातृदेवको आश्रमका रूपमा लिइने किराँत धर्मका अगुवा लेखबहादुर पालुङ्वा बताउँछन् ।

उनका अनुसार किराँत धर्मावलम्बीहरूको अस्तित्व फक्ताङलुङसँग जोडिएको छ । जीवनमा एकपटक दर्शनका लागि पुग्नैपर्ने मान्यता छ । यहाँ नेपालीसँगै बेलायत, अमेरिका, हङकङ, भारतको दार्जिलिङ र बर्मालगायतका धर्मावलम्बी आउने गरेका छन् । यो वर्ष विदेशमा बस्ने ६२ जना सुकेटार विमानस्थलबाट फक्ताङलुङ पुगेर फर्किए । पैदलयात्रा गर्नेहरू इलामको लारुम्बा हुँदै पाँचथरको सिलौटी, लुब्रिकुटी, काबेली किराँतेश्वर मन्दिर दर्शन गर्दै पनि जाने गरेका छन् । बाटोमा श्रीङ्चोक, हाँडीपोखरी, तिम्बुङ पोखरी, दूध पोखरी, नाग पोखरी, मयूर पोखरी र लक्ष्मी पोखरी जस्ता दर्जनौं पोखरीको दर्शन गर्न सकिन्छ । यात्राका क्रममा केही भूभाग सिक्किमको पर्छ । कतै गोठ, ओडार तथा खुला चौरमा पाल टाँगेर बास बस्नुपर्ने आठराई त्रिवेणीका भूपालकुमार सेन्दाङले बताए ।

तालतलैया, हरियाली डाँडाकाँडा र सेताम्मे देखिने हिमालको दृश्यले दर्शनको यात्रा रमाइलो हुने उनको अनुभव छ । यहाँ पुगेकाहरूले तीन दिनसम्म दर्शन स्थलमा महाअष्टम यज्ञ समेत गर्ने गरेका छन् । कतिपयले हिँडेदेखि नै व्रत पनि बस्ने गरेका छन् । यहाँको पूजामा बलि हत्या गरिन्न । वेदवाचन गरेर फूल, फलेदो, नैवेद्य, सुपारी र अबिर जस्ता पूजाका सामग्री प्रयोग गरिन्छ ।

प्रकाशित : कार्तिक २३, २०७६ ०९:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT