कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल निर्माणमा ढिलासुस्ती : ४ वर्षमा ४ पिलर मात्रै

कान्तिपुर संवाददाता

कञ्चनपुर — कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभुली र जाँइ जोड्ने दोदा नदीमा पुल निर्माण हुन लागेको ४ वर्ष भयो । तोकिएकै समयमा काम सम्पन्न हुने हो भने गत वर्ष नै पुल बनिसक्नुपर्ने हो । तर, अहिलेसम्म ४ वटा पिलर मात्रै बनेका छन् ।

निर्माण कम्पनीले पुलको डिजाइनै गलत भएको भन्दै डेढ वर्षदेखि काम रोकेको छ । पछिल्लोपटक सडक डिभिजन कार्यालय महेन्द्रनगरले पुरानै डिजाइनका आधारमा काम गर्न पत्राचार गरे पनि निर्माण कम्पनीले अझै काम सुरु गरेको छैन । ‘पुल निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि हामीले नै काम रोक्न भनेका हौं,’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर लक्ष्मणदत्त जोशीले भने, ‘विभागमा पनि यस विषयमा छलफल गर्दा फरक प्रविधि अपनानाएर निर्माण कार्य सुरु गर्नुपर्ने देखियो ।’ उनका अनुसार पुलको बायाँतिर केही समस्या छैन । उक्त क्षेत्रमा ४ पिलर बनिसकेका छन् । तर दायाँतिर जमिनमुनी गरिएको पाइलिंग बग्ने समस्या आएको छ । बर्खायाममा जमिनको भित्रि भूभागबाट पनि पानी बग्ने समस्याका कारण यस्तो भएको हुन सक्ने जोशीले बताए । ‘अब पाइलिंग गर्ने प्रविधि फेरेर काम सुचारु गर्न पत्राचार गरिएको छ,’ उनले भने ।


लालझाडी गाउँपालिकालाई सडक सञ्चालसँग जोडन २०७२ पुसमा देखतभुली क्षेत्रको दोदा नदीमा २ लेनको पक्की पुल ३ वर्षभित्र सक्ने गरि लुम्बिनी/राजेन्द्र कुमार श्रेष्ठ जेभी नामक निर्माण कम्पनीसँग २४ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको हो । २ सय मिटर लामो पुलका दायाँतर्फका २ पिलर निर्माणका क्रममा प्राविधिक समस्या देखिएको हो । सडक विभागमा डिजाइनै परिवर्तन गर्ने विषयमा छलफल भए पनि अन्तिममा पाइलिंग प्रविधि परिवर्तन गरेर निर्माण गर्नुपर्ने निस्कर्ष आएको इन्जिनियर जोशीले बताए । दोदामै निर्माणाधीन बेलौरी नरगपालिका ५, भकुन्डा र लालझाडी गाउँपालिका ४ कञ्ज जोडने पुल पनि अलपत्र छ । यसको पनि डिजाइनमै समस्या हुँदा काम रोकिएको हो । २०७२ पुसमा सम्झौता भई ३ वर्षभित्र सक्ने लक्ष्य भए पनि प्राविधिक समस्याले निर्माणमा ढिलाइ भएको छ । २ सय ४० मिटर लम्बाइको पुलका ७ मध्ये दुवै किनारका २ पिलर मात्रै निर्माण भएका छन् ।


‘किनारको भाग अग्लो र बिचको भाग होचो भएकाले डिजाइन परिवर्तन गर्नुपर्ने देखिएको छ,’ इन्जिनियर जोशीले भने, ‘अहिलेको डिजाइनमा किनारको भन्दा बिचको भागको उचाई डेढ मिटरसम्म कम देखिन्छ ।’ बिचको भागको उचाइ बढाउदा पहिलेकै डिजाइनअनुसार काम गर्ने वा परिवर्तन गर्नुपर्ने हो भन्ने विषयमा कन्सल्टेन्सीसँग आवश्यक सहयोग माग गरिएको जोशीले बताए ।


२ लेनको उक्त पुल निर्माणका लागि २६ करोड ७१ लाखमा शर्मा थेगिन नागार्जुन जेभी निर्माण कम्पनीसँंग ठेक्का सम्झौता भएको हो । तर उक्त पुलको पनि प्राविधिक समस्याकै कारण निर्माण कार्य ठप्प हुन पुगेको छ । लालझाडी गाउँपालिका अहिले पनि सडक सञ्जालको पहुँचमा छैन । खोलानालाकै कारण यहाँ बाह्रै महिना सवारी साधन चलाउन सकिने अवस्था छैन । निर्माणाधीन पुलहरू पनि गलत डिजाइन र स्टिमेटका कारण अलपत्र छन् । बर्खामा स्थानीयले नदी तर्नसमेत डुंगाको भर पर्नुपर्ने अवस्था छ ।


‘पक्की पुलका पिलर हेरेर चित्त बुझाउनुपर्ने अवस्था छ,’ लालझाडी ३ नन्द गाउँका अमर रानाले भने, ‘पुल निर्माण नहुँंदा बर्खायाममा धेरै सास्ती खेप्नुपर्छ ।’ उनका अनुसार गाउँमा कोही बिरामी हुँदा यातायातको असुविधाले स्वास्थ्य संस्था लैजानसमेत समस्या हुने गरेको छ । लालझाडी गाउँपालिकासम्म कालोपत्रे सडक निर्माणको काम पनि अघि बढेको छ । पुर्व पश्चिम राजमार्गको बाणीदेखि दोदा नदीसम्मै सडक कालोपत्रे बनेको छ । तर नदीमा पुल नहुँदा सडक निर्माणको काम पनि स्थगित छ ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?