१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

महिनामा ९ दुर्घटना

कान्तिपुर संवाददाता

धनगढी — कैलालीमा दसैंयता सवारी दुर्घटना ह्वात्तै बढेको छ । एक महिनाको अवधिमा ९ दुर्घटना भएका छन् । ती दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । चाडबाडमा भीड बढ्ने र तीव्र गतिमा सवारी हाँक्दा दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाइ छ ।

यसै महिनाको पहिलो साता पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका ८ को बडैपुरमा हाइसले अटोरिक्सालाई ठक्कर दिँदा अटोमा सवार एक जनाको मृत्यु भयो । अटो चालक मसुरियाकै ४० वर्षीया मानसिंह धामी घाइते भए । यही साता कैलालीकै गौरीगंगा नगरपालिका २ आमबगैचामा मोटरसाइकलले ठक्कर दिदा सोही ठाउँकी लक्ष्मी विक घाइते भइन् । यस्तै कैलालीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गयो । घोडाघोडी नगरपालिका २, साडेपानीमा मोटरसाईकल ठोक्किदा सोही ठाउँका ५० वर्षीय देवीराम आचार्यको मृत्यु भयो । सोहि दिन कैलालीमा बसको ठक्करबाट २ बालकको मृत्यु भयो । बौनियाामा कात्तिक १४ गते बसको ठक्करबाट घाइते भएका बर्दगोरीया गाउँपालिका १ का ८ वर्षका अंशु चौधरी र घोडाघोडी नगरपालिका ८ का १२ वर्षीय लक्ष्मण चौधरीको उपचारका क्रममा मृत्यु भयो । ४ दिनअघि बस र ट्रक ठोक्किँदा तीनजना घाइते भए । लम्कीचुहा नगरपालिका ३, चिसापानीनजिक दुर्घटना भयो । ३ दिनअघि बसले ठक्कर दिए । मोटरसाइकलमा सवार २ जनाको मृत्यु भयो ।


हरेक बर्ष चाडपर्वका बेला यस्ता दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर सरोजकुमार ठकुराठी बताउँछन् । उनले तिहारका बेला चालकले मादक पदार्थ सेवन गर्ने गरेको र तीव्र गतिमा गाडी हाक्ने गरेकाले दुर्घटना हुने गरेको बताए । ‘संख्यात्मक रुपमा हरेक बर्ष दुर्घटना बढेको देखिन्छ । तर, यस बर्ष ज्यान गुमाउनेको संख्या पनि बढि छ,’ उनले भने, ‘यसरी हुने सवारी दुर्घटनामा ९० प्रतिशत गल्ती चालकको देखिएको छ ।’ केही कमजोरी यात्रुबाट पनि हुने गरेको धनगढी बोराडाँडीका रञ्जित बिष्ट बताउँछन् । सिट क्षमताभन्दा बढी यात्रु बसेर आफैंले ज्यान जोखिममा पारेर यात्रा गर्ने गरेको बताए । ‘बस भरिभराउ हुन्छ । हामीलाई जहाँ पनि छिटै पुग्नुपर्ने हतारमा अर्को बस कुर्नभन्दा त्यहि बसमा यात्रा गर्छौं । दुर्घटना हुँदा ज्यान गुम्छ,’ बिष्टले भने । बसले सिट संख्याभन्दा बढि यात्रु बोक्दा पनि मौन बस्ने बस ब्यवसायी समितिका पदाधिकारीहरू सडक दुर्घटनाको दोस्रो कारण रहेको उनको भनाइ छ ।


केहि दिनअघि मालिका यातायात ब्यवसायी संघको बभाङको बसको टिकट सामाजिक सञ्जालमा भाइरल थियो । उक्त टिकटमा ‘मिलेर बस्नू’ भन्ने लेखिएको थियो । बसमा रहेका सिट संख्या बुक भइसके पनि काउन्टरका कर्मचारीले कोचिएर बस्न टिकटमै ‘मिलेर बस्नू’ लेखिदिएका थिए । क्षमताभन्दा बढि यात्रु कोचेर लैजाँदा दुर्घटना हुने गरेको धनगढी हसनपुरकी पवित्रा जोशी बताउँछिन् । उनले भनिन्, ‘बस व्यवसायीहरू यात्रुको सहजताका कुरा गर्छन् । तर ब्यवहारमा उनीहरूको आफ्नै स्वार्थ रहेको हुन्छ ।’ यात्रु संख्या बढी भएकाले यसै साता महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भयो । एक जनाले ज्यान गुमाए, ३० बढी घाइते भए ।


ठाउँठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएका हुन्छन् । साँझपख चेकजाँचका क्रममा ट्राफिक प्रहरीको झारो टार्ने गर्दा पनि चाडपर्वका बेला दुर्घटना न्यूनिकरण हुन नसकेको धनगढी २ का सरगम विष्टको बुझाइ छ । उनले क्षमताभन्दा बढि यात्रु बोक्ने सवारीसाधनलाई कडा कारबाही गर्नुपर्ने सुझाए । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आव ०७३/७४ मा २ सय ५५ दुर्घटनामा सय जनाले ज्यान गुमाएका छन् । ०७४/७५ मा २ सय १९ दुर्घटनामा १ सय १३ को मृत्यु भयो । ०७५/७६ मा ३ सय १६ दुर्घटना भएका छन् । ती घटनामा १ सय ४२ जनाले ज्यान गुमाएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरिया प्रहरी सहायक निरीक्षक नवराज शाहीले बताए । उनले चालु आवको ४ महिनामा २१ वटा दुर्घटना भएका छन् । ती घटनामा २० जनाले ज्यान गुमाएको उनले बताए । शाहीले दसैं यता मात्रै सुदुरपश्चिम प्रदेशभर १२ दुर्घटनामा ९ जनाले ज्यान गुमाएको र ५ जना सख्त घाइते भएका छन् ।


प्रकाशित : कार्तिक २०, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?