कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रयोगात्मक कक्षाले आम्दानी

विद्यालयमै मैनबत्ती उत्पादनबाट भएको मुनाफाले निजी स्रोतका शिक्षकलाई पारिश्रमिक दिन सहज
तृप्ति शाही

(बैतडी) — पाटन नगरपालिकामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरू मैनबत्ती उत्पादन गर्न थालेका छन् । ६ देखि ८ सम्म पढाइ हुने पेसा व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रमअन्तर्गत प्रयोगात्मक कक्षामा उनीहरूले मैनबत्ती उत्पादन गरेका हुन् ।

प्रयोगात्मक कक्षा भएको बेलामा शिक्षकहरूले विद्यार्थीहरूलाई मैनबत्ती बनाउन सिकाउँछन् । हालसम्म १८ हजार प्याकेट मैनबत्ती उत्पादन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम भाटले बताए । ‘विद्यालयमै उत्पादित मैनबत्ती बिक्री गरेर हालसम्म ७० हजार आम्दानी भएको छ,’ भाटले भने, ‘त्योमध्ये २० हजार नाफा भएको छ ।’


६५ हजारमा मैनबत्ती बनाउने उपकरण खरिद गरिएको भाट बताउँछन् । गत वर्ष पनि विद्यालयले ५२ हजार बराबरका मैनबत्ती उत्पादन गरि विक्री गरेको थियो । विद्यार्थीहरूलाई उत्पादन तथा सिर्जनशील बनाउन प्रेरित गर्ने उद्देश्यले प्रयोगात्मक कक्षामा शिक्षकहरूले मैनबत्ती बनाउन सिकाउने गरेको उनले बताए । ‘विद्यालयले आवश्यक कच्चा पदार्थ जुटाएर प्रयोगात्मक कक्षामा विद्यार्थीहरू मैनबत्ती बनाउँछन्’ उनले भने । हालसम्म १ हजार बढी प्याकेट बिक्री गरिसकेको विद्यालयले जनाएको छ । एउटा प्याकेट १५ देखि ७० रुपैंयासम्ममा बिक्री गर्ने गरिएको विद्यालयले जनाएको छ । खोड्पे, पाटन, गाजरीलगायतका स्थानीय बजारमा मैनबत्तीहरू खपत हुने गरेको छ । यसबाट विद्यालयको आम्दानीको स्रोत पनि बढेको ब्यवस्थापन समितिले जनाएको छ ।


आम्दानी रकमबाट अतिरिक्त क्रियाकलापमा खर्च गर्ने गरिएको समितिले जनाएको छ । ‘बचेको रकमबाट निजी स्रोतमा रहेका शिक्षकहरूलाई पारिश्रमिक दिन पनि प्रयोग गर्ने गरेका छौं’ प्रधानाध्यापक गणेशदत्त अवस्थीले भने, ‘विद्यार्थीहरूमा सीप पनि विकास हुने र विद्यालयलाई आम्दानी पनि हुने भएकाले दोहोरो फाइदा भएको छ ।’ विद्यार्थीहरू पनि खुसी छन् । उनीहरू प्रयोगात्मक कक्षामा कुरा सुन्नेभन्दा पनि सीप विकास गर्न पाएकोमा खुसी लागेको बताउँछन् । ‘अहिले प्रयोगात्मक कक्षामा सिकेको सीपले पछि उद्योग नै खोलेर काम गर्न पनि सकिन्छ’ कक्षा ६ मा अध्ययनरत वर्षा भाटले भनिन्, ‘हामीले विद्यालयमा मैनबत्ती बनाउन सिक्यौ । भोलिको दिनमा विद्यालय छोडेर गए पनि सीपसँगै रहने भएकाले फाइदा हुनेछ ।’ आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले अहिले नै उप्पादन गर्न थालेर किताब, कापीहरूको जोहो गर्ने योजना रहेको सुनाए । विद्यालयले राम्रो क्रियाकलाप सञ्चालन गरेको शिक्षा विकास तथा समन्यव एकाइ प्रमुख नरेन्द्र प्रसाद अवस्थी बताउँछन् । अन्य विद्यालयले पनि यस्ता कार्यको सिको गर्न जरुरी रहेको उनको भनाई छ ।


सिद्धेश्वर जिल्लाकै नमूना विद्यालय हो । अभिभावककै लगानीमा शैक्षीक सामाग्री, बाल उद्यानसमेत विद्यालयमा स्थापना गरिएको छ । २०१८ सालमा स्थापना भएको विद्यालयमा ३ सय ५ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।




प्रकाशित : कार्तिक १९, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?